कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा कर्णाली राजमार्ग : १३ वर्षमा पनि सुध्रिएन

‘गतिलो सडक भए ७ घण्टामा सुर्खेतबाट जुम्ला पुगिन्थ्यो, बाटैभरि खाल्डाखुल्डी हुँदा १२ घण्टामा पनि पुग्न मुस्किल’
एलपी देवकोटा

(जुम्ला) — कर्णाली राजमार्ग सञ्चालनमा आएको १३ वर्ष बित्दासमेत सडकको अवस्था सुध्रिएको छैन । राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्डको अधिकांश कालोपत्रे भत्किएपछि सडक जीर्ण बनेको छ ।

संकटमा कर्णाली राजमार्ग : १३ वर्षमा पनि सुध्रिएन

राजमार्गमा धुलाम्मे र हिलाम्मे सडकका कारण दुर्घटनाको जोखिम बढिरहेको छ । २०६३ चैत २९ गते नेपाली सेनाले सडकको ट्र्याक खुलेपछि सुर्खेतबाट जुम्लासम्म यातायातका साधन सञ्चालनमा आएका थिए । सडकको अवस्था नसुध्रिँदा राजमार्गलाई अहिले पनि ‘ज्यानमारा मार्ग’ को रूपमा हेर्ने गरिएको छ ।


हिमा गाउँपालिकाका उमकान्त न्यौपानेले गाडी चल्न थालेको १३ वर्ष बितिसक्दा पनि सडकको अवस्थामा सुधार आउन नसक्दा यात्रुले सास्ती भोगिरहेको बताए । ‘जुम्लामा सडक पुग्दा सारा कर्णालीका बासिन्दा नै खुसी थिए, देश/विदेशमा राम्रो चर्चा भयो,’ उनले भने, ‘तर राजमार्गको संरक्षण र स्तरोन्नतिमा ध्यान नदिँदा हामी निराश बनेका छौं ।’ उनले सडककै कारण कर्णालीको पर्यटन र आर्थिक विकास हुन नसकेको गुनासो गरे ।


जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जबअली मनिहारले सडक मार्गबाट पाँचदेखि १० रुपैयाँमा सामान ढुवानी हुने गरेको जानकारी दिए । ‘जहाजबाट ढुवानी गर्दा प्रतिकेजी ७० रुपैयाँ तिर्दै आएका थियौं । सडक सञ्चालनमा आएपछि सामानको मूल्य सस्तियो नै, स्थानीयले पनि सुविधा पाए,’ उनले भने, ‘अधिकांश सडकको कालोपत्रे उप्किएपछि स्थानीयको यात्रा अझै सुरक्षित हुन सकेको छैन, धुलाम्मे र हिलाम्मे सडकको स्तरोन्नतिका लागि सरकारले ध्यान दिएन ।’ उनले सडकमा एउटा गाडी बिग्रिए घण्टौं जाम हुने समस्या उस्तै रहेको जनाए । उनका अनुसार सडक एकलेनको मात्र हुँदा पनि यात्रा कष्टकर हुने गरेको हो । कुनै ठाउँमा पहिरो खस्दा ४/५ दिनसम्म राजमार्ग अवरुद्ध हुने गरेको उनी सुनाउँछन् ।


स्थानीयका अनुसार बर्खाको समयमा राजमार्ग दिनहुँ अवरुद्ध हुने गरेको छ । अधिकांश मोड फराकिलो नहुँदा ३ पटकसम्म गाडी ‘ब्याक’ गर्नुपर्ने बाध्यता रहेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष मीनबहादुर थापाले बताए । ‘दुई दिनमा सुर्खेतबाट गाडी खलंगा पुग्छन्, राजमार्ग सुरुकै अवस्थाको जस्तै भएपछि गाडी बिग्रिरहने समस्या छ,’ उनले भने, ‘अधिकांश पिच उप्किएकाले धुलैधुलोमा यात्रा गर्नुपर्ने बाध्यता छ ।’ यातायातका साधन सञ्चालनमा आएको वर्षौं बिते पनि चौडा सडक नबन्दा दुर्घटनाको जोखिम उस्तै रहेको उनी बताउँछन् । जहाजभन्दा सडकमार्गबाट आउजाउ गर्ने यात्रुको संख्या बढे पनि सडकको दूरावस्थाका कारण जिल्लाबाहिरका यात्रु गाडी चढ्न डराउने गरेको उनले सुनाए ।


सुर्खेत–जुम्ला सडक खुलेयता १ सय ९६ सडक दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी कालीकोट खण्डमा ९६ दुर्घटना भएका छन् भने दैलेखमा ३७ र जुम्लामा ६३ घटना भए । सुर्खेतको बांगेसिमलबाट सुरु भएर सदरमुकाम खलंगा पुग्ने २ सय ३२ किमि सडकमा १ सय ३४ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । २ सय ८७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । कालोपत्रे उप्किएर अधिकांश ठाउँमा खाल्डाखुल्डी भएपछि गाडी चलाउन समस्या भएको व्यवसायी दीपेश अधिकारीले बताए । ‘सडक स्तरीय भए ७ घण्टामा सुर्खेतबाट जुम्ला पुगिन्थ्यो,’ उनले भने, ‘बाटैभरि खाल्डाखुल्डी हुँदा र चौडा सडक नहुँदा १२ घण्टामा पनि जुम्ला पुग्न मुस्किल हुन्छ ।’ ०४२ सालमा कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो । २०४८ सालबाट राजमार्ग निर्माणको काम सुरु गरियो । सुरुको वर्षमा २ करोड रुपैयाँ विनियोजन गरी सडक निर्माणको काम थालिएको थियो । २०५६ सालमा विश्व बैंकले सडकमा हात हालेपछि राजमार्ग निर्माणले तीव्रता पाएको थियो । सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको काम गर्न नसकेपछि सडकको जिम्मा नेपाली सेनालाई दिइएको थियो ।


२०६३ चैतमा जुम्लामा मोटरबाटो पुगेपछि स्थानीयको जनजीवन सहज बन्यो । राजमार्ग खुलेको केही वर्षसम्म ट्र्याक्टर र ट्रक मात्रै सञ्चालनमा आए पनि स्थानीय व्यापारीको पहलमा यात्रुवाहक सवारी चल्न सुरु गरेका थिए । सन् २०१२ मे देखि राजमार्गमा ओटासिल प्रविधिको कालोपत्रे गर्न सुरु गरिएको थियो । राजमार्गलाई दुई खण्डमा विभाजन गरी विश्व बैंकको अनुदान र ऋणमा कालोपत्रे गरिएको हो । पहिलो चरणमा सुर्खेतदेखि खिड्कीज्युलासम्म र दोस्रो चरणमा खिड्कीज्युलादेखि खलंगासम्म कालोपत्रे गरिए पनि अधिकांश पिच १ वर्षमै उप्किएको थियो । सडक कालोपत्रेका लागि विश्व बैंकले डेढ अर्ब ऋण सरकारलाई दिएको थियो । कालोपत्रे गुणस्तरहीन भएपछि अधिकांश सरकारी लगानी खेर गएको स्थानीयको भनाइ छ ।

प्रकाशित : मंसिर ५, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?