कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगशाला अलपत्र

रुकुम पश्चिम — वर्षदिनअघि बाँफिकोट गाउँपालिकाले वडा ४ को छिन्खेतमा प्रयोगशाला उद्घाटन गर्‍यो । टेलिमेडिसिन सेन्टर स्थापनाको उद्देश्यसहित स्थापना गरिएको प्रयोगशालामा अहिलेसम्म ३२ जनाको मात्रै परीक्षण भएको छ । २०७५ फागुन ६ मा त्रिवेणी–३ खारानेटामा पनि प्रयोगशाला सुरु भयो । 

त्यसयता प्रयोगशालाबाट ३६ जनाले मात्रै सेवा लिएका छन् । १५ लाख खर्च गरेर दुवै गाउँपालिकाले प्रयोगशाला स्थापना गरे पनि पर्याप्त पूर्वाधार अभावमा अलपत्र छन् । बिरामी नआउने भएपछि कर्मचारी फुर्सदिला छन् । ६ वटै स्थानीय तहमा प्रयोगशाला स्थापना गर्ने र त्यसलाई टेलिमेडिसिन सेन्टरका रूपमा विकास गर्ने उद्देश्यसहित जिल्लामा काम अघि बढाइएको थियो । जसमध्ये चौरजहारीबाहेक पाँच स्थानीय तहले स्थापना गरेका छन् ।

त्रिवेणीको प्रयोगशालाका अधिकांश किट र रसायनको म्याद सकिएको छ । ल्याब टेक्निसियन भरतविक्रम बीसीले परीक्षणका लागि बिरामी नआएको बताए । ‘महँगो शुल्क मानेर पनि कतिले परीक्षण गर्न मान्दैनन्,’ उनले भने, ‘कतिपयलाई थाहै छैन, बिरामी नआएपछि प्रयोगशालामा काम हुन सकेन ।’


बाँफिकोटको प्रयोगशाला नियमित खुल्दैन । बिरामी ओपीडी सेवा भएको सोही वडाको कोटस्थित स्वास्थ्य चौकीमा जाने गरेका छन् । बाँफिकोट स्वास्थ्य चौकीका निमित्त इन्चार्ज विवेक बुढाथोकीले ओपीडीसहितको सेवा सुरुवात गर्ने तयारीमा रहेकाले ल्याबमा पनि सेवाग्राही बढ्ने अनुमान गरिएको बताए ।


मुसीकोट नगरपालिकाको ल्याब र जिल्ला अस्पताल नजिकै छ । आठबीसकोट नगरपालिकाले नगर अस्पताल नै सञ्चालनमा ल्याएको छ भने सानीभेरी गाउँपालिकाले स्वास्थ्य चौकीसँगै प्रयोगशाला स्थापना गरेकाले योचाहिँ अलपत्र परेको हो ।


प्रयोगशाला नै प्रभावकारी नभएपछि टेलिमेडिसिन सेन्टर स्थापनाको प्रक्रिया अघि बढेको छैन । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले प्रयोगशाला स्थापना गर्ने र त्यसैबाट टेलिमेडिसिन सेन्टर सञ्चालन गर्ने योजना अघि बढाएको भए पनि पूर्वाधार अभावले अलपत्र परेको बताए । ‘जनचेतनाको कमी र जनप्रतिनिधिको बुझाइको सीमितताका कारण प्रयोगशाला प्रभावकारी नभएको पाइयो,’ उनले भने ।


प्रकाशित : मंसिर ४, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?