२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मालपोतमा सेवाग्राहीलाई सास्ती

कान्तिपुर संवाददाता

सल्यान — कपुरकोट गाउँपालिकास्थित गाडापानीकी ५५ वर्षीया ढकी बुढाथोकी जग्गा आफ्नो नाममा नामसारी गर्न मालपोत कार्यालय आउन थालेको ४ दिन भयो । तर उनको काम शुक्रबार पनि हुन सकेन । सिद्धकुमाख गाउँपालिकास्थित ढोडचौरका ६० वर्षीय चित्रबहादुर कवरले ५ दिनपछि मात्र जग्गा नामसारीको काम सके ।

उनीहरू मात्र होइन, अहिले मालपोत कार्यालय आउने अधिकांश सेवाग्राहीको काममा ढिलाइ भइरहेको छ । कार्यालयले अनलाइन प्रविधिमार्फत कामकाज गर्दै आइरहेको छ । तर विद्युत्, इन्टरनेट, कर्मचारी अभावलगायत समस्याका कारण सेवाग्राही सास्ती भोग्न बाध्य छन् । ग्रामीण क्षेत्रका बासिन्दा सदरमुकामका होटेलमा महँगो रकम तिरेर बसी कामकाज गराउन बाध्य छन् । ३/४ दिनसम्म सदरमुकाममा बस्दासमेत कामकाज नभएपछि केही सेवाग्राहीलाई रित्तो हात फर्कनुपर्ने बाध्यता छ । सिद्धकुमाख गाउँपालिकास्थित ढोडचौरका खिमबहादुर कवरले कार्यालयको बेवास्ताका कारण सेवाग्राहीले लामो समयदेखि सास्ती भोग्नुपरेको बताए । ‘दैनिक लाइनमा बस्नुपर्छ, दुई/तीन दिनसम्म लाइनमा नबसे काम हुने सम्भावनै हुँदैन,’ उनले भने, ‘टाढाबाट आएका सेवाग्राहीले सामान्य कामका लागिसमेत सास्ती भोग्नुपर्ने बाध्यता छ ।’ सेवाग्राहीलाई सुविधा दिने नाममा झन सास्ती दिइरहेको उनले गुनासो गरे ।


एउटै कामका लागि ३/४ दिन धाउँदा अनावश्यक खर्चको मारमा परिरहेको सेवाग्राहीको गुनासो छ । सबै फाराम अनलाइनबाट भनुपर्ने भएकाले थप समस्या भएको सेवाग्राही बताउँछन् । शारदा नगरपालिका ६, बरलाका बुद्धिसिंह बुढाथोकीले अंशबन्डाका लागि ४ दिन धाए पनि अझै काम नभएको गुनासो गरे ।


अनलाइनमार्फत दैनिक ६ जनासम्मको मात्र काम हुने गरेको कार्यालयले जनाएको छ । मालपोत प्रमुख महादेव सिंहले इन्टरनेटमा हुने समस्या हुँदा काममा ढिलाइ हुने गरेको बताए । ‘इन्टरनेट सेवा भरपर्दो नहुँदा काम गर्न धेरै समस्या भएको छ,’ उनले भने, ‘दिनहुँ सप्टवेयरले काम नगर्ने समस्या छ, हामी जतिसक्दो छिटो सेवाग्राहीको काम सकाउने प्रयत्नमा हुन्छौं, तर प्रविधिले धोका दिन्छ ।’ उनका अनुसार अधिकांश सेवाग्राहीको काम दुई दिनमा हुने गरेको छ । अघिल्लो दिन कागजात छोडेका सेवाग्राहीको काम भोलिपल्ट हुने गरेको उनको दाबी छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?