कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा छैनन् पूर्वाधार

कान्तिपुर संवाददाता

मुगु — जिल्लाका चारवटै स्थानीय तहले भवन निर्माण नगर्दा विभिन्न पूर्वाधार अभावको सामना गरिरहेका छन् । सबै स्थानीय सरकार भाडामा हुँदा स्थानीयलाई सरकारी सेवा लिनसमेत समस्या भइरहेको छ । 

स्थानीय सरकार गठन भएको दुई वर्ष बित्दासमेत छायानाथरारा नगरपालिका, सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाले भाडाकै घरमा कामकाज सञ्चालन गरिरहेका हुन् । पूर्वाधारविहीन अवस्थामै सेवा प्रवाह गरिरहेका स्थानीय सरकारको कामकाज प्रभावकारी नबनेको स्थानीयको गुनासो छ । सबै स्थानीय तहमा सेवाग्राही बस्ने ठाउँको अभाव छ । भाडाकै घरमा सञ्चालन हुँदा जनप्रतिनिधि र कर्मचारी कार्यकक्षविहीन बनेका छन् भने विद्युत, फर्निचर, शौचालय, खानेपानीलगायतको अभाव उस्तै छ ।


भाडाको घरमा बसेका स्थानीय सरकार प्रविधिमैत्री बन्न सकेका छैनन । ‘भाडाको घरमा भएकाले अधिकांश स्थानीय तहमा सेवाग्राही बस्ने ठाउँसमेत छैन,’ स्थानीय लोकराज दाहालले भने, ‘स्थानीय सरकार आफै पूर्वाधारविहीन हुँदा सेवाप्रवाह सहज हुन नसकेको हो ।’


सबै स्थानीय तहका विषयगत कार्यालयले महँगो भाडा तिर्दै आइरहेका छन् । छायानाथरारा नगरपालिकाले कार्यालयका लागि ८० हजार रुपैयाँ मासिक भाडा तिर्दै आइरहेको छ । साबिक श्रीनगर गाविसको कार्यालय प्रयोग गर्दै आइरहेको नगरपालिका असुरक्षा र असुविधाको कारण देखाएर गमगढीस्थित माथिल्लो बजारमा सरेको हो । नगरपालिकाले भवन निर्माणका लागि कम्तिमा ५ रोपनी चाहिने जनाएको छ । जग्गा खोजी भइरहेको नगर प्रमुख हरिजंग शाहीले बताए । ‘भाडाको घरमा सेवाप्रवाह गर्दा सबैखाले पूर्वाधारको अभाव छ,’ उनले भने, ‘नगरकै नाममा जग्गा नहुँदा भवन निर्माण गर्न समस्या भएको हो ।’ उनले नगर कार्यालयसँगै आवास र गोदाममा मासिक १ लाख रुपैयाँ बढी खर्च भइरहेको जनाए । उनले १४ वडामध्ये १० कार्यालय भाडाकै घरमा सञ्चालन भइरहेको जानकारी दिए ।


वडा कार्यालयका लागि कम्तिमा मासिक २० हजार रुपैयाँ खर्च भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको ४ नम्बर वडा कार्यालयले यस वर्ष भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा सबै वडामा ४५ लाख रुपैयाँका दरले पूर्वाधार विकासको रकम विनियोजन गरिएको थियो ।


खत्याड गाउँपालिकाले गम्थास्थित माँझचौरमा दुई घर भाडामा लिएर मासिक ५० हजार रुपैयाँ भाडा तिरिरहेको छ । गाउँपालिकाका ११ वटै वडा कार्यालय पनि भाडाकै घरमा सञ्चालन भइरहेका छन् । वडाध्यक्षले आफूलाई पायक पर्ने ठाउँमा कार्यालय सञ्चालन गरेपछि साविक गाविस कार्यालयका भवनसमेत बेवारिसे बनेका छन् । मुगमकार्मारोङले पूलुमा मासिक १४ हजार रुपैयाँ घरभाडा तिरिरहेको छ । ९ वडामध्ये ३ वडा कार्यालय मात्र सरकारी भवनमा छन् ।


सोरु गाउँपालिकाले वन कार्यालयको पुरानो र जीर्ण भवनमा कार्यालय सञ्चालन गरेको छ भने विषयगत शाखाले भाडाकै घरबाट सेवाप्रवाह गरिरहेका छन् । कृषि, शिक्षा र स्वास्थ्य शाखा भाडाको घरमा सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश वडाको काम गाउँपालिका कार्यालयबाटै भइरहेको छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?