कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा छैन पूर्वाधार

चाँदनी कठायत

(वीरेन्द्रनगर) — लेकबेंसी नगरपालिका १ का ५ वर्षीय सर्जक केसीलाई दुई वर्षअघि सर्पले टोकेपछि तत्काल अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भयो । लेकबेंसीबाट मेहेलकुना अस्पताल नजिक पर्ने भए पनि समयमै एम्बुलेन्स नपाउँदा उनको मृत्यु भएको हो । केही महिनाअघि भेरीगंगा ९ की चन्द्रकला सुनारलाई सुत्केरी व्यथाले च्यापेपछि शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भयो । तर घरनजिक रहेको मेहेलकुना अस्पतालमा शल्यक्रिया कक्षमा चिकित्सक थिएनन् ।

‘जहरेबाट मेहेलकुना अस्पताल पुर्‍याउने एम्बुलेन्स नै पाइएन,’ सर्जनकी आमा पवित्राले भनिन्, ‘अहिलेसम्म पनि अस्पतालको आफ्नै एम्बुलेन्स छैन ।’ सुनारलाई पनि प्रसव पीडामै उनलाई प्रदेश अस्पताल वीरेन्द्रनगर पुर्‍याइयो । ‘धेरैजसो चेकजाँच यहीँ हुन्छ, तर केही सेवा भए पनि डाक्टर छैनन्,’ स्थानीय जगदीश कार्कीले भने, ‘कर्णाली प्रदेश सरकारले आफू मातहत ल्याए पनि सेवामा परिवर्तन आएको छैन ।’ १५ शय्याबाट सेवा दिइरहेको अस्पताललाई विस्तार गरेर हाल ५० शय्यामा पुर्‍याए पनि जनशक्ति अभावका कारण बिरामीले भनेजस्तो सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।


अस्पताल प्रमुखका लागि १०औं तहको मेडिकल अधिकृत आवश्यक पर्ने भए पनि आठौं तहका डेन्टल सर्जन मनीषकुमार मिश्रले निमित्त जिम्मेवारी सम्हालिरहेका छन् । ५३ जनाको दरबन्दी रहेको अस्पतालमा झन्डै आधा जनशक्ति अभाव छ । अस्पतालले बिरामीको चाप मध्यनजर गर्दै करारमा कर्मचारी राखेर सेवा दिइरहेको डा. मिश्रले जनाए ।


‘मेरो पनि प्रदेश २ मा समायोजन भइसकेको छ,’ उनले भने, ‘तर पनि अहिलेसम्म यहाँ काम गरिरहेको छु ।’ जनशक्ति अभावसँगै अन्य पूर्वाधार अभाव छ । गत आवमा प्रदेश सरकारले एम्बुलेन्स खरिदका लागि बजेट विनियोजन भए पनि फ्रिज भएको डा. मिश्रले जनाए । उनका अनुसार अस्पतालमा विशेषज्ञ डाक्टर र जनरल फिजिसियन १/१ र मेडिकल अधिकृत ४ जनाको आवश्यक छ । २ ल्याब टेक्निसियन, २ रेडियोग्राफर, ३ अनमी, ४/४ एचए र अहेब तथा प्रशासनमा एक नासु आवश्यक छ । त्यस्तै प्यारामेडिसिन र प्रसूति कक्षमा पनि कम्तिमा ३/३ स्वास्थ्यकर्मीको अभाव छ । ‘भएका स्वास्थ्यकर्मीहरूको पनि समायोजन अन्तै भइसकेको छ,’ उनले भने, ‘समायोजनपछि पदस्थापनमा ढिलाइ हुँदा हस्पिटलमा समायोजन भएका पनि आएका छैनन् ।’ उनले अभावबीच पनि अस्पतालबाट उत्कृष्ट सेवा दिने प्रयास भइरहेको उनको भनाइ छ । अस्पताल विकास समितिबाट केही समयका लागि करारमा कर्मचारी थप गरिए पनि बिरामी अनुकूल सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।


सामाजिक विकास मन्त्रालयले भने कर्मचारी पठाइरहेको जनाएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले स्थानीय तहलाई कर्मचारी व्यवस्थापनको जिम्मा दिइएको बताए । तर मेहेलकुना अस्पताल भने आफूहरूको अधिकार क्षेत्रभित्र नपर्ने गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुन बताउँछन् ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?