कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमुना बन्दै नरहरिनाथ

गाउँपालिकाद्वारा सबै बालबालिकालाई विद्यालय ल्याएर सिकाउने, टिकाउने र बिकाउने बनाउन शैक्षिक अभियान आरम्भ
तुलाराम पाण्डे

(कालीकोट) — शिक्षा क्षेत्र सुधारमा नरहरिनाथ गाउँपालिका नमुना स्थानीय तह बन्न थालेको छ । अनिवार्य, आधारभूत तथा नि:शुल्क शिक्षा लागू सुनिश्चित भएको गाउँपालिका घोषणा गर्न सफल नरहरिनाथले बहुअपांगता भएका बालबालिकालाई घरमै शिक्षक राखेर पढाउने ब्यवस्था गरेको छ ।

नमुना बन्दै नरहरिनाथ

शिक्षा विभागले देशभरिका स्थानीय तहमध्येबाट नरहरिनाथलाई उत्कृष्ट छैटौं स्थानीय तहको रुपमा नरहरिनाथलाई पुरस्कृत गरेको छ । उपाध्यक्ष मनशोभा बुढाले सबै बालबालिकालाई विद्यालय भर्ना गर्न कर्णालीको पहिलो स्थानीय तह बनेकोमा खुसी व्यक्त गरिन् । उनका अनुसार गाउँपालिकामा शिक्षाविद् विद्यानाथ कोइरालाको सहजीकरणमा एक वर्षअघि शिक्षा नीति र योजना बनाइएको थियो । बनाइएका योजना कार्यान्वयनमा जोड दिइएको उनको भनाइ छ ।


बालबालिकालाई जीवनसँग जोड्ने ब्यवहारिक शिक्षा दिन बनाइएको योजनालाई गाउँपालिकाले कार्यान्वयन सुरु गरेको शिक्षा विभाग प्रमुख एवं गाउँपालिका प्रवक्ता गगनबहादुर फडेराले बताए । गाउँपालिकाले बनाएको शिक्षा नीतिमा सबै वडामा शिक्षा समिति गठन, विद्यालयबाहिरको समस्या पहिचान, वडास्तरीय शिक्षा योजना निर्माणलगायत विषय समेटिएको छ । सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने, नियमित गर्न अभिभावक शिक्षा सञ्चालन गर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तर्क्रिया कार्यक्रम गर्नेलगायत विषय पनि रणनीतिमा समाबेश गरिएको थियो । गाउँपालिकाले आधारभूत तहसम्म अनिवार्य र नि:शुल्क बनाउने वाचा गर्दै दलित, अपांगता भएका र विपन्न बालबालिकालाई विशेष प्याकेजसहित शिक्षा दिने नीति बनाएको छ । जस अनुसार चालु आर्थिक वर्षको वार्षिक बजेटको ३० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । गाउँपालिकाको शिक्षा नीतिमा शिक्षाको बजेट ३५ प्रतिशत पुर्‍याइने प्रतिबद्धता अनुसार गत वर्ष ५ करोड रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।


गाउँपालिकाले ९० प्रतिशत विद्यालयका कनिष्ठ प्रधानाध्यापक परिवर्तन गरेर स्थायी र माथिल्लो तहकालाई प्रअको जिम्मेवारी दिएको छ । ६ विद्यालय मर्ज गरिएको छ । गाउँपालिकाअर्न्तगत साबिकका पाँचवटै गाविसका ५२ विद्यालयको अनुगमन गरी योजना बनाइएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘विद्यार्थी संख्या न्यून भएका भौतिक पूर्वाधार नभएका र १५ मिनेटको दूरीभित्रका विद्यालय मर्ज गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाले पहिलो सुधार शिक्षा क्षेत्रबाटै सुरु गर्‍यो ।’


नरहरिनाथले शैक्षिक सुधारका लागि कार्ययोजना निर्माण गर्दै विद्यार्थी र शिक्षक नियमितता, शिक्षक–विद्यार्थी अनुपातमा दरबन्दी मिलानजस्ता नमुना काम गरिएको उनको भनाइ छ । शैक्षिक सुधारबिना समग्र विकास सम्भव नभएकाले गाउँपालिकाले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय ल्याएर सिकाउने, टिकाउने र बिकाउने बनाउन शैक्षिक अभियान सुरु गरेको छ । ‘एक वर्षको अवधिमा नरहरिनाथका विद्यालयले काँचुली फेरेका छन्,’ विष्टले भने, ‘एक वर्षमा जनअपेक्षाअनुसार धेरै काम नगरे पनि शिक्षा क्षेत्रमा देखिने गरी परिवर्तर्न गरेका छौ ।’ उनले १२ विद्यालयको तह घटाएको, विद्यालय अनियमित हुने शिक्षकको तलब कट्टी गरेको र लापरबाही गर्ने केही शिक्षकको सरुवा गरिएको जनाए ।


नरहरिनाथले शिक्षक–विद्यार्थी नियमितताका लागि हाजिरी लेखाजोखा, कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा, घरमा पठनपाठनको वातावरण बनाउन घरमै पढार्ई कुना सञ्चालन गरिरहेको छ । विद्यार्थीको नियमितता बढाउन दैनिक हाजिरीको लेखाजोखा गर्न थालेपछि विद्यार्थीको नियमितता बढेको रमा मावि कुमालगाउँका प्रधानाध्यापक हरिषचन्द्र बटालाले बताए । साविकका लालु, माल्कोट, रुप्सा, कुमालगाउ र कोटवाडा गाविस मिलेर बनेको नरहरिनाथ जिल्लामा सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह हो ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?