अपांगता भएकाको ‘अन्नदाता’ कुलबहादुर

ज्योति कटुवाल

(सुर्खेत) — १७ वर्षअघि नेपाली सेनाद्वारा मारिएका बलबहादुर बुढाका छोरा हुन्– कुलबहादुर बुढा । बुबाको मृत्युपछि आमाले अन्तै बिहे गरिन् । वीरेन्द्रनगर नगरपालिका–१४ का २२ वर्षीय कुलबहादुरले पोलियोका कारण एक खुट्टा गुमाए । अहिले उनले रिक्सा चलाएरै आफूजस्तै १४ जना व्यक्तिको गाँसबासको व्यवस्था गरेका छन् नै उनीहरूलाई पनि आत्मनिर्भर बनाउँदै छन् । 


लामो समय उनले मागेरै गुजारा चलाए । अहिले आफू आत्मनिर्भर बनेका छन् भने अन्य अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाइरहेका छन् । कुनै समय उनी काठमाडौंमा राम्रै खेलाडीका रूपमा गनिन्थे । पाँच महिनायता उनको दैनिकी फेरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका १४ अपांगता भएकाहरू सहारामा छन् । सबैको गाँसबासको व्यवस्था उनको थाप्लोमा छ । बिहान ५ बजेदेखि रातिको १० बजेसम्म अटो चलाएर कमाएको रकम उनले आफूजस्तै अपांगता भएकाकै हितमा खर्चिने गरेका छन् ।

‘आफूले दु:ख पाएकाले अरूको दु:ख पनि देख्न सकिनँ,’ उनी भन्छन्, ‘उनीहरूलाई आत्मनिर्भर बनाउन सीप पनि सिकाइरहेको छु ।’ उनलाई अरू अपांगता भएका व्यक्तिले ‘अन्नदाता’ भनेरै सम्बोधन गर्छन् । एसएलसी अनुत्तीर्ण हुँदा पहिलोपल्ट विरक्तिएका उनले अपांग व्यक्तिकै अन्नदाता हुन पाउँदा सन्तुष्टि मिलेको जनाए ।

अहिले उनको आम्दानी दैनिक तीनदेखि चार हजार रुपैयाँ छ । उनले कर्णाली डिजेवल भोकेसनल ट्रेनिङ एन्ड प्रोडक्सन प्रालिमार्फत १४ जना अपांगता भएका व्यक्तिलाई दक्ष बनाउन लागेका हुन् । प्रालि उनकै सल्लाहमा स्थापना भएको हो । २०७४ सालदेखि प्रालिमा जोडिँदा आफ्नो जीवन मोडिएको बताउँछन् महावै गाउँपालिका–५, गेलाका मनराज कठायत । कुलराजकै प्रेरणाले केही गर्ने साहस पलाएको बुढाको भनाइ छ । पोलियोका कारण बैसाखीको सहारामा हिँड्डुल गर्दै आएका उनले अन्य अपांगलाई विभिन्न सीप सिकाउँदै आएको जनाए । उनका अनुसार अपांगता भएका व्यक्तिले प्रालिमा टिसर्ट, जुत्ता, ट्र्याकसुट, ज्याकेटलगायत सामग्री बनाउने तालिम लिइरहेका छन् । स्नातक तह उत्तीर्ण उनले शरीरको तल्लो भाग नचल्दा विभिन्न अवसरबाट वञ्चित भएको गुनासो गरे ।

सीप सिकिरहेका अपांगलाई प्रशिक्षकका रूपमा विकास गर्ने उनको योजना छ । ‘यिनीहरूले समेत अरू अपांगलाई सीममूलक तालिम दिऊन् भन्ने हाम्रो योजना हो,’ उनले भने, ‘कर्णालीका सबै अपांगलाई सम्भव भएसम्म स्वरोजगार बनाउने मेरो सपना छ ।’

मुगुकी कमला खनालले प्रालिमै प्रशिक्षण लिइरहेकी छन् । अपांगता भएकै कारण धेरै अवसरबाट वञ्चित भए पनि सीममूलक तालिम लिन पाउँदा आत्मविश्वास जागेको उनको भनाइ छ । उनले अहिले सिलाइकटाइ सिकिराखेकी छन् । ‘तालिम पूरा गरेर आफूजस्तै अपांगता व्यक्तिलाई आत्मनिर्भर बनाउने योजना छ,’ उनले भनिन्, ‘उहाँ (कुलबहादुर) कै कारण केही गर्नसक्ने भएकी छु, उहाँ हाम्रा लागि भगवानै हुनुहुन्छ ।’ बाल्यावस्थामा पोलियो लागेर उनका हातख्ट्टुा लुला भएका हुन् । विश्व खाद्य संगठनका अनुसार कर्णालीमा १० प्रतिशत अपांगता भएका व्यक्ति छन् । बुढाले ह्विलचियर बास्केटबल, ह्विलचियर क्रिकेटलगायत खेल अपांगता भएका व्यक्तिलाई सिकाइरहेका छन् । उनले १४ वर्ष काठमाडौंमा ह्विलचियरमै बसेर खेलकुद सिके । आफैंले सिकाएका अधिकांश अपांगता भएका खेलाडीले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाराओलम्पिक, पारा एसियनलगायत प्रतियोगिता धान्दै आएको उनले सुनाए ।

'अझै बल्झन्छ द्वन्द्वका घाउ’
कालीकोटको खाडाचक्र नगरपालिका–६ का किशोरबहादुर शाहीको शरीरमा अझै गोलीका छर्रा छन् । उनैले आफूजस्तै अपांगता भएका व्यक्तिलाई सीप सिकाउन कर्णाली भोकेसनल टेनिङ एन्ड प्रोडक्सन प्रालि सञ्चालनमा ल्याएका हुन् । प्रालिमा उनले व्यवस्थापन हेर्छन्। कुलबहादुरले तालिम लिने व्यक्तिको गाँसबासको प्रबन्ध गर्छन् भने कठायत प्रशिक्षक हुन् ।

२०५८ सालमा नेपाल प्रहरीमा जागिर खाएका उनी ६१ सालमा कैलालीको मसुरियामा तत्कालीन माओवादी आक्रमणमा परे । दुईवटा गोलीका छर्रा पेटमै बाँकी रहेपछि उनको तल्लो भागले काम गर्न छाडेको हो । उनको शरीरको ८५ प्रतिशत भागले अहिले काम गर्दैन । आफूसँगै सशस्त्र द्वन्द्वमा लडेका पूर्वमाओवादी कमान्डर महेन्द्रबहादुर शाही कर्णालीका मुख्यमन्त्री बन्दा आफूहरूलाई सरकारले बेवास्ता गरेको उनको गुनासो छ । उनी प्रहरी नायब निरीक्षक (सई) हुन् । ‘द्वन्द्वको घाउ अहिले पनि बल्झिरहन्छ तर आफ्नो पीडा बिर्सेर अरूको हितमा काम गरिरहेको छु,’ उनले भने, ‘प्रालिमा प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले २० लाख रुपैयाँ सहयोग गरेको छ । त्यही रकमले आवश्यक मेसिन किनेर अपांगता भएका व्यक्तिलाई सीप सिकाइरहेको उनको भनाइ छ । पाँच लाख रुपैयाँमा अटो रिक्सा किनेर कुलबहादुरलाई चलाउने जिम्मा दिएपछि आफूहरूको गाँसबासको जोहो हुन थालेको उनले जनाए ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुल निर्माणमा ढिलासुस्ती : ४ वर्षमा ४ पिलर मात्रै

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली र जाँइ जोड्ने दोदा नदीमा पुल निर्माण हुन लागेको ४ वर्ष भयो । तोकिएकै समयमा काम सम्पन्न हुने हो भने गत वर्ष नै पुल बनिसक्नुपर्ने हो । तर, अहिलेसम्म ४ वटा पिलर मात्रै बनेका छन् ।

निर्माण कम्पनीले पुलको डिजाइनै गलत भएको भन्दै डेढ वर्षदेखि काम रोकेको छ । पछिल्लोपटक सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुरानै डिजाइनका आधारमा काम गर्न पत्राचार गरे पनि निर्माण कम्पनीले अझै काम सुरु गरेको छैन । ‘पुल निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि हामीले नै काम रोक्न भनेका हौं,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर लक्ष्मणदत्त जोशीले भने, ‘विभागमा पनि यस विषयमा छलफल गर्दा फरक प्रविधि अपनानाएर निर्माण कार्य सुरु गर्नुपर्ने देखियो ।’ उनका अनुसार पुलको बायाँतिर केही समस्या छैन । उक्त क्षेत्रमा ४ पिलर बनिसकेका छन् । तर दायाँतिर जमिनमुनी गरिएको पाइलिंग बग्ने समस्या आएको छ । बर्खायाममा जमिनको भित्रि भूभागबाट पनि पानी बग्ने समस्याका कारण यस्तो भएको हुन सक्ने जोशीले बताए । ‘अब पाइलिंग गर्ने प्रविधि फेरेर काम सुचारु गर्न पत्राचार गरिएको छ,’ उनले भने ।

लालझाडी गाउँपालिकालाई सडक सञ्चालसँग जोडन २०७२ पुसमा देखतभुली क्षेत्रको दोदा नदीमा २ लेनको पक्की पुल ३ वर्षभित्र सक्ने गरि लुम्बिनी/राजेन्द्र कुमार श्रेष्ठ जेभी नामक निर्माण कम्पनीसँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको हो । २ सय मिटर लामो पुलका दायाँतर्फका २ पिलर निर्माणका क्रममा प्राविधिक समस्या देखिएको हो । सडक विभागमा डिजाइनै परिवर्तन गर्ने विषयमा छलफल भए पनि अन्तिममा पाइलिंग प्रविधि परिवर्तन गरेर निर्माण गर्नुपर्ने निस्कर्ष आएको इन्जिनियर जोशीले बताए । दोदामै निर्माणाधीन बेलौरी नरगपालिका ५, भकुन्डा र लालझाडी गाउँपालिका ४ कञ्ज जोडने पुल पनि अलपत्र छ । यसको पनि डिजाइनमै समस्या हुँदा काम रोकिएको हो । २०७२ पुसमा सम्झौता भई ३ वर्षभित्र सक्ने लक्ष्य भए पनि प्राविधिक समस्याले निर्माणमा ढिलाइ भएको छ । २ सय ४० मिटर लम्बाइको पुलका ७ मध्ये दुवै किनारका २ पिलर मात्रै निर्माण भएका छन् ।

‘किनारको भाग अग्लो र बिचको भाग होचो भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ इन्जिनियर जोशीले भने, ‘अहिलेको डिजाइनमा किनारको भन्दा बिचको भागको उचाई डेढ मिटरसम्म कम देखिन्छ ।’ बिचको भागको उचाइ बढाउदा पहिलेकै डिजाइनअनुसार काम गर्ने वा परिवर्तन गर्नुपर्ने हो भन्ने विषयमा कन्सल्टेन्सीसँग आवश्यक सहयोग माग गरिएको जोशीले बताए ।

२ लेनको उक्त पुल निर्माणका लागि २६ करोड ७१ लाखमा शर्मा थेगिन नागार्जुन जेभी निर्माण कम्पनीसँंग ठेक्का सम्झौता भएको हो । तर उक्त पुलको पनि प्राविधिक समस्याकै कारण निर्माण कार्य ठप्प हुन पुगेको छ । लालझाडी गाउँपालिका अहिले पनि सडक सञ्जालको पहुँचमा छैन । खोलानालाकै कारण यहाँ बाह्रै महिना सवारी साधन चलाउन सकिने अवस्था छैन । निर्माणाधीन पुलहरू पनि गलत डिजाइन र स्टिमेटका कारण अलपत्र छन् । बर्खामा स्थानीयले नदी तर्नसमेत डुंगाको भर पर्नुपर्ने अवस्था छ ।

‘पक्की पुलका पिलर हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ,’ लालझाडी ३ नन्द गाउँका अमर रानाले भने, ‘पुल निर्माण नहुँंदा बर्खायाममा धेरै सास्ती खेप्नुपर्छ ।’ उनका अनुसार गाउँमा कोही बिरामी हुँदा यातायातको असुविधाले स्वास्थ्य संस्था लैजानसमेत समस्या हुने गरेको छ । लालझाडी गाउँपालिकासम्म कालोपत्रे सडक निर्माणको काम पनि अघि बढेको छ । पुर्व पश्चिम राजमार्गको बाणीदेखि दोदा नदीसम्मै सडक कालोपत्रे बनेको छ । तर नदीमा पुल नहुँदा सडक निर्माणको काम पनि स्थगित छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT