कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधार विकासमा ६ करोड 

कान्तिपुर संवाददाता

सल्यान — जिल्ला समन्वय समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर दुई दर्जन योजनामा ६ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजन गरिएको रकमबाट सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधारका २४ योजनामा रकम बाँडफाँड गरिएको हो । 

रकम विनियोजन गरिएका योजनाको स्थानीय तहले काम गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत सडकमा ३ करोड ७० लाख, शैक्षिक विकासमा ७८ लाख, खानेपानीमा ९४ लाख, सिँचाइमा ३० लाख र तटबन्धमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले सडकका १०, शैक्षिक पूर्वाधारका ५, खानेपानीका ४, सिँचाइका ३ र तटबन्धका २ योजना छनोट गरिएको जानकारी दिए । उनले जिल्लाभरिका सडक छुने गरी निर्माण गर्न लागिएको चक्रपथमा ५० लाख रुपैयाँ विनियोजन गरिएको जनाए ।


सांसद बस्नेतले राप्ती लोकमार्गको मर्मतको काम सन्तोषजनक नभएको भन्दै खबरदारी गर्न सरोकारवालालाई आग्रह गरे । उनले गुणस्तरीय विकासका लागि सबैको खवरदारी जरुरी रहेको जनाए । ‘स्थानीय तहसँग समन्वय गरेर डुप्लिेकसन नहुनेगरी योजनामा रकम विनियोजन गरिएको छ,’ उनले भने, ‘स्थानीयकै सहभागितामा गुणस्तरीय र दिगो विकास गर्न सर्वपक्षीय बैठकबाट योजना छनोट गरिएको हो ।’ उनले विनियोजन गरिएकोमध्ये ५० लाख रुपैयाँभन्दा माथिका योजना टेन्डरमार्फत र अन्य उपभोक्ता समितिमार्फत सम्पन्न गरिने जानकारी दिए ।


निमित्त जिल्ला समन्वय अधिकारी नीमबहादुर ओलीका अनुसार यस वर्षदेखि योजना स्थानीय तहमार्फत कार्यान्वयन गर्न लागिएको हो । उनले जिससले योजना अनुगमन र समन्वयको काम मात्र गर्ने जानकारी दिए । उनका अनुसार योजनाको सार्वजनिक सुनुवाइको काम पनि जिससमार्फत हुनेछ ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?