कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ सय राहत लिन ५ दिन

ज्योति कटुवाल

(दैलेख) — ठाँटिकाँध गाउँपालिकास्थित १, २ र ६ वडाका करिब १५ सय परिवारको अन्नबाली गत चैत तेस्रो साताको असिनापानीले सखाप पार्‍यो । असिनापीडित किसानले राहतका लागि विभिन्न निकाय चहारे । तर ८ महिनापछि राहत पाउँदासमेत उनीहरूको सास्ती घटेन । २ हजार ७ सय ६४ रुपैयाँका लागि असिनापीडितले ५ दिन खर्चिनुपर्‍यो ।

२७ सय राहत लिन ५ दिन

ठाँटीकाँध १, का इन्द्र विकले लगातार ३ दिन बैंकमा लाइन बसेपछि मात्र राहत रकम पाएको बताए । उनका अनुसार कतिपय किसानले ५ दिनमा मात्र राहत पाए । ‘न कुरौं त अन्नबाली असिनाले सखाप पार्‍यो,’ उनले भने, ‘छाक टार्नकै लागि भए पनि ३ दिन लाइन बसेर राहत निकाल्नुपर्ने बाध्यता भयो ।’ उनका अनुसार गाउँबाट गाउँपालिकाको केन्द्र पुग्नसमेत घण्टौं हिड्नुपर्ने बाध्यता छ । ठाँटिकाँधस्थित एनसीसी बैकमा कर्मचारीको अभाव भएपछि आफूहरूले सास्ती भोग्नुपरेको स्थानीय बालु बुढाले बताइन् । ‘२७ सय रुपैयाँका लागि दिनहुँ घरधन्दा छाडेर आउनुपर्‍यो,’ उनले भनिन्, ‘त्यो पनि एक दिनमा काम हुन सकेन, मैले पनि ३ दिनपछि मात्र राहत पाएँ ।’ बालीनाली असिनाले सखाप पारेकाले पनि राहत लिनुपर्ने बाध्यता भएको उनको गुनासो छ ।


बैंकको लापरवाहीले खाता खोल्न, चेक लिन र भुक्तानी लिन दिनभर लाइन बस्नुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ । असोज दोस्रो साताबाट राहत वितरण सुरु गरिएको हो । गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत हरि शाहीका अनुसार १४ सय ४६ किसानलाई राहत रकम वितरण भइरहेको हो । प्रदेश सरकारले दिएको ४० लाख रुपैयाँ किसानलाई राहतस्वरुप वितरण गर्न थालिएको उनले जनाए । गाउँपालिकामार्फत दोस्रो चरणमा १ करोड रुपैयाँ किसानलाई वितरण गर्न लागिएको उनी बताउँछन् ।


गाउँपालिकाका अनुसार १ वडाका ५ सय ७०, २ का ५ सय २७ र वडा ६ का ३ सय ५० परिवारलाई २७ सय ६७ रुपैयाँका दरले राहत रकम दिइएको हो ।


असिनापीडितलाई एक महिनाको पारिश्रमिक दिने भन्दै चैतमै स्थानीय तहका जनप्रतिनिधि र कर्णाली प्रदेशसभाका सदस्यले प्रतिबद्धता जनाएका थिए । तर ८ महिना बित्दासमेत उक्त प्रतिबद्धता कार्यान्वयन हुन नसकेको स्थानीय दिपक शाहीले गुनासो गरे । ‘चर्चामा आउन मात्र एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका रहेछन्,’ उनले भने, ‘नत्र यत्रो समयसम्म राहत पाइन्थ्यो होला नि ।’

प्रकाशित : कार्तिक १९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?