कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलामा भोस्सो र देउडा

मोहन शाही

(डोटी) — परापूर्वकालमा ग्रासन राक्षसलाई देवताहरूले परजित गरेको बिश्वासमा डोटीका जोरायलबासी हरेक वर्ष भाईटिकाको दोस्रो दिनबाट भव्य मेला आयोजना गर्छन् । तिहार मेला व्यवस्थापन समितिका संयोजक नरबहादुर कपड्यालका अनुसार यो वर्षपनि दुई दिनसम्म पञ्चेबाजा सहित हरेक गाउँबाट स्थानियबासी हर्षोल्लासका साथ मेलामा सहभागि भए । 

मेलामा भोस्सो र देउडा

मेलामा एक अर्को गाउँलेबिच आफ्ना सांस्कृतिक झाँकीहरू प्रर्दशन गर्ने प्रतिस्पर्धा हुँदा स्थानीय दर्शनार्थीहरूको घुँइचो लाग्ने गरेको स्थानीय हेमा कपड्याल बताउछिन् । जोरायालमा ३० वटा समुहले लोपोन्मुख रहेको भोस्सो खेल मेलामा प्रदर्शन गरेका थिए । स्थानिय भाषामा यस्तो मेलालाई दुत्य भन्ने गरिन्छ ।


बिभिन्न ऐतिहासिक गाथा, पौराणिक ग्रन्थ तथा धार्मिक बिश्वासका आधारमा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जाँत मेलाहरूको रौनकता बढ्न थालेको छ । कात्तिक प्रतिपदादेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बर्सेनि देवी देउताहरूको पुजाको अवसर पारेर भव्य जाँत मेला लाग्ने गर्छन् । पूर्णिमाका दिनसम्म गाउँ गाउँमा हुने यस्ता मेलाले सुदूरपश्चिमका कुना कन्दरा तथा पहाडका उकाली ओरालीमा भिन्नै रौनक छाएको छ । मौलिक भेषभुषा तथा वाजागाजामा हुने यो परम्पराले यहाँको संस्कृती जोगाउनुका साथै मौलिकतालाइ झल्काएको छ ।


आ–आफ्ना देवी देउता पुज्न सुदूरपश्चिमका विभिन्न जात जाती तथा क्षेत्रका वासिन्दा विभिन्न सांस्कृतिक परम्परा सहित यतिवेला मेलाको आयोजना गरिरहेका छन् । गौरापछिको ठुलो पर्वका रुपमा आफ्नो स्थानिय जाँतलाई यहाका वासिन्दाले मान्दै आएका छन् । देउडा खेललगायत यस्ता मेलामा अस्थायी वजारको स्थापना गरेर व्यापारिक कारोवार पनि हुने गरेको छ ।


डोटीमा मात्रै ३ सय भन्दा वढी ठाउँमा जाँत हुने गरेको स्थानीय केशवराज ओझा बताउँछन् । बुढापाकाहरू यतिबेला आ–आफ्ना कुले देवी देवताको महिमा बारे चर्चा गर्ने, प्रशंसा गर्ने, खुसी पार्न अनेक पुजा आराधना गर्ने गर्छन् । डोटीमा बिशेषगरी, बेताल, मोहन्याल, सुकाटी, बडीकेदार, तेडी लगायतका देवता शक्तिशाली मानिन्छन् । यी देवताहरू पुजेपछि मात्रै अन्य देवीदेवताहरूको पुजा गर्ने चलन रहेको शिक्षक गौरी बमले बताए । सबै जाती तथा गाउँलेहरूका आ–आफ्नै देवता मानेका हुन्छन् । तीनका छुट्टै धामीझाँक्री, भराण र पुजारीसमेत तोकिएका हुन्छन् । मेलाका दिन नाच्दै काम्दै आफ्नो देउताको गाँजलाई स्थानियहरूले निश्चित ठाउँमा प्रतिस्थापन गर्ने गर्दछन् । ‘देउता पुज्ने अघिल्लो रात नाचगान गरेर रातभर जाग्राम गरिन्छ’ शिक्षक गौरी बमले भने, ‘दोस्रो दिन गाँज नचाएर देउता पुज्ने गरिन्छ ।’ विशेष गरी शिवका अवतार मानिने दुत्यधारी देउता तथा भगवतीको अवतार मानिने रक्तभोगी देवीको यतिवेला पुजा गर्ने परम्परा रहेको वुढापाकाहरू वताउँछन् ।


दुत्यधारी देउतालाई दुध चढाएर पुजा गर्ने चलन छ भने रक्तभोगी देवीको पुजा गर्नेहरूले वली दिएर पुजा गर्ने गर्छन । यतिवेला अधिकांस ठाउँमा दुत्यधारी देउताको पुजा हुने गर्दछन् । ‘यो परापूर्व काल देखिकै परम्परा हो’, मुडभरा डोटीका साहित्यकार पदमराज जोशीले भने ‘कुल देउता एउटै भएपनि फरक समुदाय तथा जातीका आफ्नै स्थानिय देउता हुने भएकाले यहाँ फरक फरक मेला लाग्ने गर्दछन् ।’ उनका अनुसार वैशाख शुक्ल, भाद्र शुक्ल र कार्तिक शुक्लमा देउता पुजिने भए पनि कार्तिक शुक्लमा हुने पुजालाई वढी महत्व दिइन्छ ।


डोटीको वड्डीकेदार तथा रानागाउँको व्वार, दिपायल, शिलगढी, डडेल्धुराको उग्रतारा, वैतडीको त्रिपुरासुन्दरी, अछामको वैद्यनाथमा भव्य जाँत लाग्ने गर्दछन् । यी जाँतहरूमा भारतीय श्रद्धालुहरू समेत पुजा गर्नका लागि आउने गरेका भेटिन्छन् । यहाँका देउतालाई साक्षी राखेर वर माग्नेहरूले भाकल पुरा गर्न जातका वेला आउने गरेको स्थानिय वासिन्दाहरू वताउछन् । जाँतका वेला अन्यत्र गएकाहरू पनि घर आउने चलन छ ।


‘हरेक गाउँमा वर्षेनी हुने यस्ता साना ठुला मेलाको आयोजनाले सुदूरपश्चिम मेलामय भएको छ’, डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले भने ‘यसलाई अझ व्यवस्थित गर्न सके व्यापार राम्रो हुन्छ ।’ कुल देउता पुज्न टाढा टाढावाट आउनेहरू भाकल गरे अनुसार दान दक्षिणा गर्ने होडमा यतिवेला धार्मिक आस्थाका साथ लाग्ने गरेका भेटिन्छन् ।


मेलामा सहभागि हुन तराइका जिल्लाहरूवाट ओइरो लागेकाले यहाँका सवारी साधनहरूलाई भ्याइ नभ्याइ छ । मेलामा स्थानीय विदा दिइने भएकाले कर्मचारी, विद्यार्थी लगाएत जागिरेहरूपनि जाँतमा खुलेर आनन्द लिइरहेका हुन्छन् । यस्ता जाँतमा भेटिएका छोरीवेटीलाई मेला खर्च भनेर पैसा दिने चलन पनि छ । यस्ता जाँतको आयोजनाले आफ्नो पुख्यौली घर छोडी अन्यत्र बसाइ सरेकाहरूलाई पहाड आउन वाध्य वनाउछ भने एकअर्का प्रति विश्वास र साम्प्रदायिक भावना समेत जागृत गराउँछ ।


प्रकाशित : कार्तिक १६, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?