कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकको रोजाइमा डुडुल चैत्य

‘गुम्बाको बनावटै नमुना छ, आसपासको प्राकृतिक वातावरण पनि मनमोहक भएकाले रारा घुम्न आउने पर्यटक नाग्मा हुँदै यता पनि आउँछन्’
एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिकास्थित सिंगापुर गाउँ माथिको डुडुल चैत्यमा पर्यटकको भीड बढ्दै गएको छ । रारा घुम्न आएका अधिकांश आन्तरिक पर्यटक गुम्बा पुग्न थालेपछि चैत्य पर्यटकीय गन्तव्य बन्न थालेको हो । 

पर्यटकको रोजाइमा डुडुल चैत्य

जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले चैत्यको निर्माण गरेका हो । गुम्बामा रहेको शान्ति स्तूप पर्यटकको आकर्षणको केन्द्र बनेको छ । स्तूप सदरमुकाम खलंगाका लागि भ्यू टावरजस्तै भएको स्थानीय दीर्घ उपाध्यायले बताए । ‘कर्णाली भित्रिने हरेक पर्यटकका लागि यो नयाँ गन्तव्य बनेको छ,’ उनले भने, ‘गुम्बा हेर्न म आफैं साथीहरूसहित चारपटक पुगिसकें ।’ काठमाडौंको बौद्ध स्तूपको झल्को दिनेगरी निर्माण गरिएकाले पर्यटकको आकर्षणको केन्द्र बनेको उनको भनाइ छ ।


आसपासको क्षेत्रको रमणीय वातावरणले समेत गुम्बा घुम्न आउने पर्यटक बढाएको स्थानीय ईश्वरी देवकोटा बताउँछन् । ‘गुम्बाको बनावटै नमुना छ, आसपासको प्राकृतिक वातावरण पनि मनमोहक बनाएकाले रारा घुम्न आउने पर्यटक नाग्मा हुँदै जुम्ला आएर गुम्बा हेरी फर्कन्छन्,’ उनले भने, ‘पर्यटकको संख्या बर्सेनि बढिपछि यो जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य बनेको छ ।’


स्तूपले कर्णालीको पर्यटन विकासमा टेवा पुर्‍याएको उनी बताउँछन् । सदरमुकाम खलंगानजिकै भएकाले जुम्ला पुग्ने जोकोही पनि गुम्बा घुम्न आउने गरेको जनजाति अगुवा फुर्वाछिरिङ लामाले बताए । उनका अनुसार गुम्बामा दैनिक १ सय ५० बढी पर्यटक आउने गरेका छन् ।


‘पर्यटकको चाप बढ्दै गएपछि थप व्यवस्थित बनाइरहेका छौं,’ उनले भने, ‘तीनै तहका सरकारसँग आवश्यक सहयोगको अपेक्षा गरिएको छ ।’ उनका अनुसार गुम्बा झन्डै ७२ फिट अग्लो र ३२ फिट चौडाइमा फैलिएको छ । कर्णाली प्रदेश सरकारले डुडुलचैत्यलाई उत्कृष्ट ४० पर्यटकीय स्थलभित्र समावेश गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?