कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूतिगृह नहुँदा गर्भवतीलाई सास्ती

राजबहादुर शाही

(मुगु) — फोतुस्थित ताँजा गाउँकी ३५ वर्षीया चन्दरुपा शाहीलाई गत असारमा घरमै बच्चा जन्माउन नसक्दा ४ घण्टासम्म स्ट्रेचरमा बोकाएर कर्णाली करिडोर निर्माणस्थलमा पुर्‍याइयो । त्यहाँ पुग्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि सेनाको हेलिकप्टर मगाएर सुर्खेत पुर्‍याइयो । प्रदेश अस्पतालमा शल्यक्रिया गरिएपछि मात्र उनको ज्यान बच्न सफल भयो ।

जिल्लाका ग्रामीण क्षेत्रमा प्रसूतिगृह नहुँदा गर्भवती जाँच र प्रसूति सेवा लिन सास्ती भएको छ । छायानाथराराको मुर्मा, मुन्दु, सोरुस्थित फोतु लिब्रु, नेर, ताँजा र मुगमकार्मारोङको पूलु, मुगु, डोल्फू, मुर्मा र मुन्दु गाउँका महिलालाई प्रसूति सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता भएको हो ।


मुर्माका गर्भवती प्रसूतिका लागि ५ घण्टा हिँडेर जिल्ला अस्पताल ठिनी र मुन्दुका ४ घण्टा पैदल पिना स्वास्थ्यचौकी पुग्न बाध्य छन् । अधिकांश गाउँका महिलालाई जटिल प्रसूतिसेवा दिनुपरे हेलिकप्टरमार्फत जिल्लाबाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । अस्पताल टाढा भएपछि करिब ३ सय घरधुरी रहेको मुर्माका ८० प्रतिशतले घरमै बच्चा जन्माउन बाध्य छन् । प्रसूतिगृह नहुँदा गर्भवती महिलाले ठूलो जोखिम र सास्ती भोग्नुपरेको स्वास्थ्य स्वयंसेविका रमाइली रोकायाले बताइन् । ‘अप्ठ्यारो अवस्था आए सुत्केरी ब्यथा लागेपछि हतारहतार स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल कुदाउने गरिएको छ,’ उनले भने, ‘अस्पताल नपुर्‍याउँदासम्म ठूलो जोखिम मोल्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार स्ट्रेचरमा बोकेर लामो यात्रा गराउदा गर्भवतीलाई थप पीडा हुने गरेको छ भने रक्तश्रावको जोखिम उत्तिकै छ ।


गाउँमा सडक सुविधा नहुँदा अझै पनि प्रसूति र जटिल बिरामीलाई स्ट्रेचरमा अस्पताल लैजानुपर्ने बाध्यता छ । घरमा बच्चा जन्माउन नसकेकी महिलालाई आफन्त र छिमेकीले पालैपालो स्ट्रेचरमा बोकेर अस्पताल पुर्‍याउने गरेका छन् । घरमै बच्चा जन्माउदा ग्रामीण क्षेत्रका महिला सरकारी स्वुिधाबाट समेत वञ्चित हुने गरेका छन् । प्रसूतिगृहमा बच्चा जन्माउने महिलाले तीन हजार आठ सय रुपैयाँसहित न्यानो कपडा र झोला पाउने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मुर्मामा प्रसूति सेवा सहज बनाउन २०६१ सालमा हेल्प नेपाल नेटवर्क नामक संस्थाले प्रसूति भवन निर्माण गरेको थियो । तर एक दशकदेखि सञ्चालन नहुँदा भवन जीर्ण बन्दै गएको छ । सामान्य बिरामीलाई मात्र औषधि उपचार सेवा प्रवाह गरिरहेको मुर्मा स्वास्थ्यचौकी इन्चार्ज कृष्ण रावलले बताए । उनका अनुसार अनमीको व्यवस्था नहुँदा प्रसूतिसेवा सञ्चालन हुन नसकेको हो । ‘प्रसूतिगृह सञ्चालनका लागि ल्याएका उपकरण लामो समयदेखि कोठामै थन्किएका छन्,’ उनले भने, ‘दरबन्दी पूर्ति भए प्रसूतिसेवा प्रवाह गर्नसकिने अवस्था छ ।’ स्वास्थ्यचौकीमा अक्सिजन मेसिन, माईक्रोसप्ट ल्याब मेसिन, रगत चेक गर्ने उपकरण र तीन किलोवाटको शौर्यऊर्जाको व्यवस्था भए पनि जनशक्ति अभावले समस्या भएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर रोकायाले बताए ।


सोरु गाउँपालिकाको फोतु, लिब्रु, रावलबाडा, भादगाउँ र नेरका गर्भवतीलाई पनि पाँच घण्टा पैदल हिडेर नार्थपु स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता छ । हिडेर नार्थपु जान झन्झट मान्ने महिला घरमै सुत्केरी हुने गरेका छन् । केही समस्या देखिए मात्र स्वास्थ्यचौकी लैजाने गरिएको वडा नं. ४ का अध्यक्ष डबल शाहीले बताए । ‘लिब्रु र नेरमा स्वास्थ्यचौकी भए पनि प्रसूतिसेवा छैन,’ उनले भने, ‘जसका कारण पाँच सय बढी घरधुरीका करिव ७५ प्रतिशत महिला घरमै सुत्केरी हुन बाध्य छन् ।’ मुगमकार्मारोङ गाउँपालिकाको मुगु गाउँमा पनि प्रसूतिगृहका लागि भवन निर्माण गरिएको छ । तर सेवा सञ्चालनमा नआउँदा आसपासका क्षेत्रका गर्भवती महिलालाई एक दिन पैदल हिडाएर माग्री स्वास्थ्यचौकी पुर्‍याउनुपर्ने बाध्यता छ । जटिल अवस्थाका महिलालाई स्ट्रेचरमा बोकाएर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?