कुपिन्डेमा बढे घुमन्ते

दैनिक सरदर सय पर्यटक आउन थालेपछि दुईवटाबाट डुंगा थपेर २१ पुर्‍याइएको छ
कान्तिपुर संवाददाता

(सल्यान) — मिनी राराका रुपमा परिचित सल्यानको कुपिण्डे ताल अवलोकन गर्न आउनेको संख्या बढेको छ । ताल नजिकै गाडी पुगेपछि पर्यटकको आगमन दर बढेको हो । घुम्न पुग्नेमा आन्तरिक पर्यटक नै बढि छन् । 

ताल संरक्षण समितिका अनुसार बराह मन्दिरमा पूजाआजा गर्न र ताल हेर्नका लागि पर्यटक आउने गरेका हुन् ।

वर्षदिन अघिसम्म दैनिक सरदर १०–१२ जना आउने गरेका थिए । हाल दैनिक करिब सयको संख्यामा पर्यटक आउने गरेको समितिका अध्यक्ष चेतबहादुर कुँवरले बताए । सुर्खेत, जाजरकोट, रुकुम, नेपालगन्ज, दाङ, बर्दिया, धनगढी र काठमाडौंलगायत ठाउँबाट पनि बेला बेला कुपिण्डे भ्रमण गर्न आउनेहरू भेटिन थालेका छन् । शुक्रबार र शनिबार बढी भीड हुन्छ । ‘ताल अवलोकन मात्र नभई धेरैजसो पिकनिक खाने उद्देश्यका साथ आउने गरेका छन्,’ उनले भने, ‘ताल नजिकको बराह मन्दिरमा बर मागेमा सन्तान प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वासले पनि श्रद्धालुहरू आउने गरेका छन् ।’

तालमा दुईवटा डुंगा सञ्चालन गरिएका थिए । पर्यटक बढेपछि अहिले डुंगा थपेर २१ वटा पुर्‍याएको छ । अवलोकनकर्ताको चाप बढ्दै गएपछि डुंगाचालक पनि उत्साहित छन् । डुंगा चलाएरै अहिले दैनिक एक हजार रुपैयाँ कमाइ हुने गरेको डुंगाचालक तिलक गोसाइँले बताए । तालमा डुंगा सयर गर्दा प्रतिव्यक्ति सय रुपैयाँ लिने गरिएको छ । यसबाट स्थानीयले रोजगारी पनि पाएका छन् ।

यद्यपि ताल संरक्षणका लागि आएको बजेटको समुचित उपयोग भने हुन सकेको छैन । योजनाअनुसार संरचना बन्न सकेका छैनन् । भ्युटावर, ताल चारैतिर रिङरोड र पर्यटकलाई खानबस्नको लागि गतिला होटलको व्यवस्था नहुँदा केही असहज हुने गरेको वनगाडकुपिण्डे नगरपालिका–६ का वडाध्यक्ष इन्द्रबहादुर कुमाइले बताए । ‘तालमा पूर्वाधारको विकास गर्न सक्यो भने अझ बढी पर्यटक आउने सम्भावना छ,’ उनले भने, ‘यसको लागि तीनै तहका सरकारले ध्यान दिनु आवश्यक छ ।’ गत वर्ष ताल क्षेत्रमै बैठक बसी कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालन गर्ने भने पनि निर्णय कार्यान्वयन नभएको उनले गुनासो गरे । पछिल्लो समय खोलाबाट बगेका ढुंगामाटोले ताल पुरिँदै गएको छ । ताललाई पुरानै अवस्थामा फर्काउन नगरपालिकाले पहल गरिरहेको बनगाडकुपिण्डे नगरप्रमुख गोबिन्दकुमार पुनले बताए । ‘ताल अवलोकन गर्न आएका पर्यटकलाई तालबाहेक पनि अन्य रमणीय स्थलको पनि भ्रमण गराउने योजना बनिरहेको छ,’ उनले भने ।

कुभिण्डो आकारको भएकाले यसको नाम कुपिण्डे ताल राखएको स्थानीयको भनाइ छ । ३० हेक्टर क्षेत्रफलमा रहेको तालको लम्बाइ १ हजार २ सय मिटर, चौडाइ २ सय ५० मिटर र गहिराइ ५१ मिटर छ । तालको प्रचारप्रसार र संरक्षण गर्न सकेमा रारा तालजत्तिकै पर्यटकलाई लोभ्याउन सक्ने स्थानीयको भनाइ छ ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५० वर्षदेखि हरिकीर्तन

कान्तिपुर संवाददाता

पाल्पा — जिल्लाको बगनासकाली–९, चापपानी सिखरे भगवती मन्दिरमा ५० वर्षदेखि हरिकीर्तन हुँदै आएको छ । कात्तिक महिनाको पहिलो शनिबार २४ घण्टे अखण्ड हरिकीर्तन हुने गरेको हो । यस वर्ष मन्दिर व्यवस्थापन समितिले ५० औं वर्षको अवसरमा विशेष पूजा आराधनासहित अखण्ड कीर्तन गरेको छ । 

मन्दिरका हरिकीर्तन संयोजक यमलाल तिमिल्सिनाले ५० वर्षदेखि हरेक वर्ष हरिकीर्तन गर्ने मुलुकमै सम्भवत: पहिलो मन्दिर भएको दाबी गरे । ०२७ सालमा गाउँमा मानिस तथा गाईभैंसीमा समेत महामारी देखिएको थियो । त्यसपछि धार्मिक विश्वासका आधारमा हरेक वर्ष कात्तिकको पहिलो शनिबार हरिकीर्तन सुरु हुन्छ ।

अहिले जस्तो औषधि उपचारको सहजता नभएका बेला रोगव्याधि तथा महामारीको अन्त्यको कामना गर्दै हरिकीर्तन सुरु भएको संयोजक तिमिल्सिनाले बताए । त्यसबेला गाउँलेले पीपलको रुखको फेदमा २४ घण्टे कीर्तन थालेका थिए । ‘त्यसबेलामा भगवान्को भरोसा र भजनकीर्तनमा बढी विश्वास थियो,’ उनले भने, ‘त्यसैले पनि भजनकीर्तन गरेर धार्मिक विश्वासका आधारमा गाउँका मानिस र पशुलाई रोगव्याधिले नछोओस् भन्ने कामना गरिएको थियो ।’

त्यसपछि क्रमश: उक्त परम्परालाई युवा पुस्ताले निरन्तरता दिएको छ । स्थानीय २१ घर समुदायले अहिले हरेक वर्ष हरिकीर्तन गर्छन् । त्यसका लागि आवश्यक रकम र पूजा सामग्री जुटाउने गर्छन् । कीर्तनमा आउनेले चढाउने भेटी कीर्तन सञ्चालनका लागि सहयोगी बनेको अखण्ड कीर्तन जनसम्पर्क उपसमितिका संयोजक ज्ञानराज तिमिल्सिनाले बताए । यस वर्ष कीर्तनसहित पाठपारायण, सामूहिक न्वागीलगायत कार्यक्रम गरिएको उनले बताए ।

स्थानीय युवा भोजराज तिमिल्सेना र यज्ञमूर्ति तिमिल्सेनाका अनुसार त्यतिबेलाको विश्वासका आधारमा अहिले पनि भजनकीर्तन गर्ने गरिन्छ । यस्तै कीर्तन अहिले सोही गाउँका तीन ठाउँमा हुने गर्छ । बगनासकाली गाउँपालिका–९, चापपानीका वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले मठमन्दिर पनि पर्यटकीय गन्तव्य भएकाले वडा कार्यालयले प्राथमिकता दिएको बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×