कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यातायात कार्यालय प्रमुखविहीन

कान्तिपुर संवाददाता

धनगढी — कार्यालय प्रमुखसहित ३ कर्मचारी घूस लिँदै गर्दा डेढ महिनाअघि अख्तियारद्वारा पक्राउ परेपछि अहिलेसम्म धनगढीस्थित यातायात व्यवस्था कार्यालय प्रमुखविहीन छ  । यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहत छ  ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहने उक्त कार्यालयमा उपसचिव तहको कर्मचारी कार्यालय प्रमुख रहने व्यवस्था छ । मन्त्रालयले भने प्रमुख पठाउन हालसम्म चासो दिएको पाइएको छैन । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । साबिकको सेती अञ्चलभरिका जिल्लाहरूको यातायातका साधनहरूको व्यवस्थापन गर्ने जिम्मेवारी रहेको उक्त कार्यालयमा दिनहुँ सेवाग्राहीको बाक्लो भीड लाग्ने गरेको छ । विषयगत शाखाका कर्मचारी नहुँदा यातायातका साधनहरूको दर्ता, नविकरणलगायत कामका लागि टाढाटाढाबाट आएका सेवाग्राहीलाई समस्या हुने गरेको छ ।

कार्यालयका निमित्त प्रमुख नन्दलाल पाण्डेले कार्यालयमा कर्मचारी पदपूर्ति गर्न प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरे । उनले कर्मचारी नहुँदा कार्यालयमा यातायातको रुट पर्मिट र नयाँ सवारी दर्ताको काम सञ्चालन हुन नसकेको बताए ।मन्त्रालयका यातायात व्यवस्था महाशाखाका अधिकृत केशवदत्त जोशीले यातायात कार्यालयमा मात्रै नभएर मन्त्रालय लगायत सुदुरपश्चिमका विभिन्न सरकारी कार्यालयमै कर्मचारी अभाव रहेको बताए । उनले तर पनि यातायात कार्यालयमा कर्मचारी पदपूर्तिका मुख्य मन्त्रीको कार्यालयसँग समन्वय भइरहेको बताए ।

कार्यालयमा एक द्वितीय श्रेणीको उपसचिव, २ शाखा अधिकृत, ५ नायब सुब्बा, २ कम्प्युटर अपरेटर र २ टाइपिस्ट नायब सुब्बा, ४ खरिदार, ३ मेकानिकल इन्जिनियर र सुपरभाइजर, २ लेखापाल र ४ कार्यालय सहयोगी गरी २६ कर्मचारीको माग रहे पनि अहिले करारका ७ सहित २२ कर्मचारी कार्यरत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?