कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुमाखमा धान जोन

कान्तिपुर संवाददाता

(सल्यान) — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कुमाख गाउँपालिकालाई धान जोनका रुपमा विकास गर्न थालिएको छ  । जिल्लामा सबैभन्दा बढी धान कुमाखमा उत्पादन हुन्छ  ।

धान जोन कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६ सय हेक्टरमा धान लगाइएको छ । गाउँपालिकाको जिमाली खोलादेखि रागेचौर फाँट हुँदै भेरी नदीसम्मको क्षेत्रलाई धान जोनका रुपमा विकास गर्न लागिएको अध्यक्ष दिलमाया बुढामगरले बताइन् । उनका अनुसार दोस्रो चरणमा बस्नेतज्युलाको सय हेक्टर धान जोनमा समावेश गरिनेछ ।

गाउँपालिकाको मर्मपरिकाँडा, कालागाउँ, बडागाउँ, जिमाली र स्विकोट बेंसी धानखेतीका लागि उपयुक्त रहेको उनको भनाइ छ । किसानलाई खेतीदेखि बजारीकरणसम्म सहयोग गर्ने गरी जोनका रुपमा विकास गर्न लागिएको उनको भनाइ छ । किसानलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउन जोनको विकास गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार अर्ग्यानिक धान उत्पादन गरी बाहिर पठाउने योजना छ ।

गाउँपालिकालाई धानसँगै फलफूल र नगदेबालीमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सुरु गरिएको हो । वडा १ को स्विकोटलाई सुन्तला, वडा ६ को थापाचौरलाई आँप र भुँइकटहर, १ र ४ लाई अदुवा, बेसार र बदामको पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी योजना बनाइएको छ । त्यस्तै वडा ५ को कौछेलाई तरकारी र वडा ६ को बडागाउँलाई अलैची पकेट क्षेत्र बनाउन थालिएको हो । पकेट क्षेत्रका लागि यस वर्ष ७० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बुढामगरको भनाइ छ । उनले कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई खेतीदेखि बजारीकरणमा सहयोग गर्ने जानकारी दिइन् ।

कृषकलाई गाउँमै आत्मनिर्भर बनाउन पकेट क्षेत्रको अवधारणा अगाडि सारिएको गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले बताए । ‘पकेट क्षेत्रले बाँझो जग्गाको सदुपयोग हुने र कृषि कार्यक्रम प्रभावकारी हुने अपेक्षा छ,’ उनले भने, ‘किसानलाई गाउँमै स्वरोजगार बनाउने हाम्रो योजना हो ।’ उनले पकेट क्षेत्र कार्यक्रमले युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने आशा गरिएको जनाए ।

जिल्लाका अन्य स्थानीय तहले समेत विभिन्न वडालाई पकेट क्षेत्रका रुपमा विकास गर्न थालेका छन् । जिल्लामा ७ हजार ३ सय ३४ हेक्टर खेतीयोग्य र सिँचाइ सुविधासहितको जग्गा छ । जसमध्ये ४ हजार ७ सय ९८ हेक्टरमा वर्षभरि र २ हजार ५ सय ४५ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ । जिल्लामा प्रतिहेक्टर ४ मेट्रिक धान उत्पादन हुने कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?