कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीसँगै सटेको जग्गामा गाँजाखेती

कान्तिपुर संवाददाता

जाजरकोट — कानुनले गाँजा, चरेस, अफिमलगायत लागूऔषधको उत्पादन, बिक्री र ओसारपसारमा बन्देज लगाएको छ  । तर आफ्नै ढोकाअघि गाँजा खेती हुँदासमेत कुशे गाउँपालिका ५, पाँचकटियामा रहेको प्रहरी चौकी भने रमिते बनेको छ  ।

प्रहरीसँगै सटेको जग्गामा गाँजाखेती

प्रहरी चौकीसँगै जोडिएको ३ रोपनीमा अवैध रूपमा गाँजा खेती गरिएको छ । तर त्यसलाई देखेको नदेखेकै गरिएको छ ।

उसो त पाँचकाटीया गाँजा, चरेस, अफिमलगायत लागूऔषध उत्पादन, बिक्री र ओसारपसारका लागि मुख्य नाका मानिन्छ । गाँजा खेती नष्ट गर्नुको साटो प्रहरीले संरक्षण गरिरहेको स्थानीय देवी थापा बताउँछिन् । उनका अनुसार प्रहरी चौकी र गाँजा खेती भएको जमिनको दूरी मुस्किलले सय मिटर मात्र छ । डाँडागाउँ, कार्कीगाउँ, भेरें, तिमिले, राङ्सी, सिल्पाचौर, चाल्ना, करुवा, टट्टा, चावलेचौरलगायत ठाउँको पाखोबारीमा पनि स्थानीयले अबैध गाँजाखेती गर्ने गरेका छन् ।

गाँजाको बोटबाट चरेस बनाएर अवैध रुपमा बिक्री गरिन्छ । गाँजाखेती गर्नेले नै चरेस बनाउने र त्यो किन्न व्यापारीहरू घरै पुग्ने गरेको खुलेको छ । ग्रामीण क्षेत्रका मकै र कोदोबारीमा गाँजा खेती मौलाएको हो । अन्नभन्दा बढी आम्दानी हुने भएपछि गाँजाको खेती हुने गरेको हो । मलजल, सुरक्षा र मिहिनेत नचाहिने तथा आम्दानी पनि बढी नै हुने भएकाले पाखोबारीमा गाँजा खेती हुने गरेको स्थानीय बताउँछन् । कतिपयले गाँजाखेती अवैध हो भन्ने थाहा नपाएरै खेती गरिरहेको थापाको भनाइ छ । नलगाड नगरपालिकाका विभिन्न स्थानमा अफिम खेती पनि हुने गरेको छ ।

पाँचकाटीयामा भएको गाजाखेती तत्काल नष्ट गरिने प्रहरी निरीक्षक केशर कार्कीले वताए । ‘जुनजुन ठाउँमा गाँजा खेती छ, त्यो सबै नष्ट हुन्छ,’ उनले भने, ‘खेतीमा संलग्नलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’ उनका अनुसार प्रहरीले विगत ५ वर्ष अघिदेखि अफिमखेती नष्ट गर्दै आएको छ । प्रहरीले गत बर्ष करिव २० रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको थियो ।

प्रकाशित : आश्विन २९, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?