कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

संकटमा ऐतिहासिक सम्पदा

‘दरबारमा राजा बस्न छाडेसँगै ऐतिहासिक वस्तुहरू पनि हराउनुका साथै इतिहास तथा संस्कृति पनि लोप भए’
भीमबहादुर सिंह

(जाजरकोट) — जिल्लाका दर्जन धार्मिक तथा ऐतिहासिक सम्पदाको अस्तित्व संकटमा परेको छ  । तीन–चार सताब्दी पुराना मठमन्दिर, दरबारलगायत सम्पदा संरक्षण अभावमा संकटमा परेका हुन्  ।

संकटमा ऐतिहासिक सम्पदा

कुशे गाउँपालिकाको पैंक मष्टा मन्दिर, जाजरकोट दरबार, भेरी नगरपालिकाको कालेगाउँस्थित शिवालय मन्दिर र मछाइनास्थित मालिका मन्दिर, तलगाड थल्लुस्थित भगवती मन्दिर, बारेकोट नायकबाडाको राँगामाजिला र ठाकुरजी मन्दिर, पजारुको ढुंगे देवल, जगतीपुरको बायु घट्टलगायत धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणको पर्खाइमा छन् । झण्डै ३ सय बर्ष पुराना यी सम्पदाको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

कुशे गाउँपालिका–९, पैंकस्थित ऐतिहासिक शक्तिपीठको रुपमा परिचित ५ सय बर्ष पुरानो मष्टा देवता मन्दिर पनि संरक्षणकै अभावमा ओझेलमा परेको छ । शक्तिपिठको जीर्णोद्वार र पुरातात्विक सामाग्रीको संरक्षण नहुँदा स्थानीय चिन्तित बनेका छन् ।

अष्टमी र पूर्णिमा बाहेकमा भक्तजनको उपस्थिति पातलिँदै गएको छ । मंसिर र जेठ पूर्णिमा पर्वमा भने भक्तिभाव राख्न आउने पाहुनाको संख्या नघटेको धामी खड्गबहादुर रोकायाले बताए । मष्टा देवतासँग असिना तथा बाढीपहिरो रोक्ने, महामारीजन्य रोग फैलिन नदिने, निःसन्तानलाई सन्तान दिने, धन बृद्धि गर्ने लगायत शक्तिको विश्वास रहेको रोकायाको भनाइ छ । सल्यान, दाङ, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, सुर्खेत, बाँकेलगायत जिल्लाबाट पूजाआजा गर्न आउँछन् । मष्टा देवतालाई शिवजीको अर्को रुप भनेर विश्वास गरिन्छ ।

मष्टा मन्दिरमा भदौ पूर्णिमा, मंसिर पूर्णिमा र जेठ पूर्णिमामा हजारौं झक्तजनको उपस्थितमा विशेष पुजाआजा हुने गर्दछ । तर मन्दिरको जीर्णोद्धार र व्यवस्थापन सही रुपमा हुन सकेको छैन । सम्बन्धित निकायमा मन्दिरको जीर्णोद्धार तथा व्यवस्थापनका लागि पटक– पटक माग राख्दा पनि सुनुवाई नभएको धामी रोकायाले बताए । संरक्षण अभावमा परम्परागत शैलीमा निर्मित बहुमुल्य धातुको शिवमूर्ति, फटसिला, ८० किलोको घण्ट, अन्य मूर्ति तथा घण्ट, काठका मूर्तिलगायत हराएका छन् । स्थानीय भुमबहादुर रोकायाले सरोकारवालाको गैरजिम्मेवारीपूर्ण व्यवहारले ऐतिहासिक मष्टा मन्दिर र बहुमुल्य सामाग्री चोरी निकासी भइरहेको बताए ।

साढे ३ सय बर्ष पुरानो जाजरकोट दरबार पनि जीर्ण छ । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको उक्त दरबार मर्मतसंभारको अभावमा जीर्ण बनेको हो । जाजरकोट दरबारको पुनर्निर्माणमा सम्बन्धित पक्षले वेवास्ता गरेको स्थानीयको आरोप छ । बि.सं. १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको जाजरकोट राज्यमा अवस्थित उक्त दरबार तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । दरबार साततले छ ।

दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डार घर, भारदारी बैठक कक्ष, सिहंद्वार, मयुरद्वार, नारायणथानलगायत रहेको इतिहासमा उल्लेख छ । १९९० सालको महाभूकम्पका कारण दरबारको स्वरुप परिवर्तन भएको सिंहले बताए । महाभूकम्पपछि मन्दिर चारतलामा पुनर्निर्माण गरिएको थियो । अहिले त्यही दरबारको संरक्षण नहुदा पूर्वजको चिनारी र ऐतिहासिक सम्पदा ओझेलमा पर्न गएको भेरी नगरपालिका ३ का राजुराराज सिंहले बताए । त्यस्तै ऐतिहासिक जगतीपुर दरबारको भग्नावेशसमेत भेटिन छाडेको छ ।

राजाको कार्यकालमा बडादशैंमा बन्दुक पड्काउने, हर्षबडाइ गर्ने चलन रहेको छ । सिंहका अनुसार तत्कालीन राजाका १ सय थान बन्दुक र ५ दर्जन सिपाई थिए । दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ ।
जाजरकोट दरबार कला–संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । भक्तपुरबाट ल्याइएका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको जानकार केदारबहादुर शाहले बताए ।

नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शाक्तिशाली राज्यको रुपमा स्थापित राज्यको जाजरकोटे दरबार पुरातत्व विभागमा दर्ता भएको भएको छ । तर यसको रेखदेख र संरक्षणमा सम्बन्धित निकायको चासो नभएको शाहले बताए । दक्षिणतिर भेरी नदी तथा चौरजहारीको सुन्दर दृश्य, उत्तरमा कुशे पाटनको मनोरम दृश्य, पुर्वतिर सिस्ने हिमाल तथा होलु जिउला लगायतको दृश्यले भरिपूर्ण खलंगाको टाकुरोमा रहेको दरबारको सुन्दरता कुरुप बन्दै गएको छ । दसैंको पर्वमा जाजरकोट राज्यको ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्काउने राँगो बली मेलासमेत हुन छाडेको छ । जगती सिंह पछिका राजा बिजय सिंहको घोडाले मन पराएको खलंगाको पिपलडाडामा दरबारको निर्माण भएको थियो । दरबारलाई तत्कालीन राजा प्रकाशविक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

वरिपरि दरबारको भव्य महल बीचमा रानीहरूले नुहाउने तलाउको अहिले नामोनिसान छैन । दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्धार पनि छैन । सरकारले २०१७ सालमा राजा रजौटाहरू उन्मुलन गरेपछि राजाले बस्न छोडेको यो दरबारका ऐतिहासिक बस्तुहरू हराएसँगै इतिहास तथा सांस्कृतिक पनि लोप भएको शाहले बताए । दरबार पुनर्निर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले चार बर्षअघि २७ करोडको लागत डिजाइन तयार गरी मन्त्रालयमा पठाएको थियो । तर अहिलेसम्म काम अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरीे डिजाइन बनाएको थियो ।

बाइसेचौबीसे राज्य एकीकरणपूर्व अस्तित्वमा रहेको नलगाड १३, भगवतीस्थित भगवती मन्दिर पनि संकटमा परेको छ । दसैंको अष्टमी पर्वमा डोल्पा, रुकुम र जाजरकोटका भक्तजनले भब्य रुपमा पूजाआजा गर्दै आए पनि मन्दिरको भौतिक पूर्वाधार नहुँदा समस्या भएको रहेको स्थानीय बीरबहादुर मल्लले बताए । भगवती खुसी भएमा रोग, भोक हटाउने र बाली सप्रिने विश्वास गरिन्छ । मन्दिरका तीन दर्जन ऐतिहासिक मूर्तिहरू द्वन्द्वकालमा चोरी भएको उनले बताए । त्यस्तै तत्कालीन जाजरकोटी राजा दीपनारायण शाहको पालामा निर्माण भएका कालेगाउँस्थित तीनवटा शिवालय मन्दिर पनि जीर्ण अवस्थामै रहेका छन् ।

मन्दिरका गजुर तथा मूर्तिीहरू पनि चोरी भइसकेको स्थानीय रामजंग शाहले बताए । पहिलो जाजरकोटी राजा जगती सिंहका पालामा निर्मित जगतीपुरको शिबजी मन्दिरको नाम निसाना पनि नभएको शाहले बताए । यसैगरी संरक्षण अभावमा बारेकोट गाउँपालिका–४ को ठाकुरजी मन्दिर र राँगामाजिला मन्दिर, भेरी नगरपालिकाको–४ स्थित कालिका मन्दिर र वडा नं. ६ स्थित मालिका मन्दिर, जगतीपुर बायु घट्ट, ढुंगे देवल, शिवगुफा जीर्ण छन् ।

छेडागाड नगरपालिका–८, घोगीस्थित ऐतिहासिक देवल पनि ओझलमा परेका छन् । संरक्षण अभावमा ऐतिहासिक ढुंगे देवल जीर्ण बन्दै गएका छन् । ऐतिहासिक र पुरातात्विक महत्व बोकेका चार सय बर्ष पुराना यी स्तुप आकारका देवलको संरक्षणतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीय खम्बे खत्रीले बताए । बिकट गाउँमा भएकाले पनि सम्बन्धित निकायले देवलको संरक्षणमा बेवास्ता गरेको हो । १६ औं शताब्दीतिर भोटे राजाहरूले निर्माण गरेका १३ वटा कलात्मक देवल यतिबेला जीर्ण अवस्थामा रहेको स्थानीय गोविन्द गिरीले बताए ।

भोटेहरूले देवलभित्र सुन, चाँदी लगायतका मुल्यवान बस्तु लुकाएको आशंकामा २० बर्षअघि स्थानीयले उक्त बस्तु निकाल्ने निहुमा केही देवल भत्काएको उनले बताए । ढुंगैढुंगाबाट बनेका देवल मर्मतसंभार तथा प्रचारप्रसार गर्न सके पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने गिरीको भनाइ छ । पजारुको ऐतिहासिक देवललाई स्थानीय बासिन्दाले शिवको रुपमा पूजाआजा गर्दै आएका छन् ।

बिभिन्न ऐतिहासिक मन्दिर, गुफा, दरबारलगायत धार्मिक र पर्यटकीय स्थलको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी भएको स्थानीय तेजबिक्रम शाहले बताए । त्यसो गरिएमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्न सकिने उनको भनाइ छ । ‘यहाँका प्राकृतिक सौन्दर्य, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिकस्थल पर्यटकीय गन्तव्यको सूचीमा समेत परेका छैनन्,’ उनले भने, ‘तीनै तहका सरकारले यसतर्फ समयमै ध्यान दिन नसकेको भोलि पछुताउनुको बिकल्प छैन ।’

प्रकाशित : आश्विन १५, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?