कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तल खोला, माथि पहिरो

तुलाराम पाण्डे

(भर्ताघाट, कालीकोट) — निरन्तरको झरीपछि भर्तागाड उर्लिदा र जथाभाबी पहिरो खस्दा सुभकालिका गाउँपालिकाका बिभिन्न बस्तीमा पुग्न कठिनाइ भएको छ । गाउँपालिकाको केन्द्रमा सडक पुर्‍याउन जथाभाबी डोजर प्रयोग गरिएपछि गाउँ पुग्न सास्ती भएको हो ।

तल खोला, माथि पहिरो

खोलामाथिको पहिरो र भर्तागाड खोलाले आउजाउ गर्न कठिन भएको स्थानीयको गुनासो छ । ‘यतै मरिन्छ कि जस्तो लागेको थियो,’ स्थानीय विष्णा सुनारले भनिन्, ‘गाड (खोला) र पहिरो दुवैबाट बाँचेर आइयो ।’ गाउँपालिकाले डोजरमार्फत निर्माण गरिरहेको सडकबाट भर्तागाड खोलामा ढुंगा खस्ने जोखिम रहेको उनले जानकारी दिइन् । उनका अनुसार स्थानीयले काठ हालेर बनाइएको अस्थायी साँघु पनि डुबाएकाले ठाडो खोला तर्न जोखिम छ ।


कर्णाली राजमार्गको सेरिघाट ओर्लिएर सुभकालिका जाने भर्तागाड पार गर्न स्थानीयलाई सास्ती भएको हो । खोलामाथि झोलुंगे पुल छ । तर त्यहाँ पुग्न बाटो नै छैन । सुभकालिका गाउँपालिका पुग्न सुर्खेत र मान्मबाट सेरिघाट हुँदै जाने मुख्य नाकामै पहिरो र खोलाको जोखिम भएकाले आउजाउ गर्नर् कठिन भएको स्थानीय गोविन्द चौलागाईले बताए । शुभकालिका गाउँपालिकामा बालबालिकासम्बन्धी नीतिबारे छलफल चलाएर ज्यान जोखिममा राखेर फर्किएको हेल्भेटासका इन्जिनियर नरजंग शाहीले बताए । ‘बाटो त लास्टै अप्ठ्यारो रै’छ,’ उनले भने, ‘माथि पहिरो तल खोला, ज्यान नै हत्केलामा राखेर हिड्नुपर्छ ।’ उनले गाउँपालिकाले राति डोजर लगाए दिउँसो स्थानीयलाई हिड्न सहज हुने सुनाए ।


भर्तागाडमा डोजरमार्फत जथाभाबी सडक खनिँदा सुभकालिका–४, का रामप्रसाद चौलागाईको उठिबास भएको छ । भर्तागाड खोलामा माछा मार्ने, पुल नजिकै पसल चलाएर व्यापार पनि गर्ने उनले दुई पानीघट्टसमेत सञ्चालन गरेका थिए । दुई घर पहिरोले क्षतिग्रस्त बनाएको उनको गुनासो छ । पहिरोले घट्टको बाँध भत्किएको र ६ जनाको परिवार नै विस्थापित हुनुपरेको उनले दुःखेसो पोखे । उनको परिवार पुल पारि छाप्रो हालेर बसिरहेको छ । ‘अरु ठाउँमा स्थानीय सरकार आएपछि सेवा सुविधा पायौं भन्ने सुनिन्छ,’ उनले भने, ‘मेरो त उठीबास लाग्यो ।’ उनले करिव पाँच लाख रुपैयाँ बढीको क्षति भएको जानकारी दिए ।


सुभकालिका जोड्ने सेरि–पान्तडी सडक ओझेलमा छ । सेरिघाटबाट तिला नदी पारि मान्म हुँदै दाहा पाखाको पान्तडीबाट जुम्लासम्म सडक बनाएपछि सेरि–पान्तडी खण्ड ओझेलमा परेको हो । स्थानीयको प्रयासपछि सरकारले सेरिपान्तडी सडकमा बजेट विनियोजन गर्दै आए पनि कामले गति लिन सकेको छैन । सेरि–पान्तडी सडक बने कर्णाली राजमार्गअन्तर्गत सुर्खेतबाट जुम्ला जाने यात्रुलाई १२ किमि सडक छोटो पर्छ । स्थानीय सरकार बनेपछि गाउँपालिकाको बजेट खर्च गरेर डोजरमार्फत खनिएका अधिकांश सडकले पहिरो मात्र निम्त्याएको काग्रेस नेता नन्दवहादुर शाहीले बताए । उनले गाडी चल्नेभन्दा पनि पैसा खर्च गर्ने उद्देश्यले सडक खनिएको आरोप लगाए ।


गाउँपालिका पुग्ने भूगोल अप्ठेरो भएकाले साविकका ३ वटै गाविस जोड्नेगरी सडक निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए । उनले एक वर्षमै भर्ता गाउँमा गाडी पुगेको जानकारी दिए । डिल्प परियोजनाले १२ करोड रुपैयाँ खर्च गर्दा पनि साकाको भीर छिचौल्न नसकेको अवस्थामा सडक भर्तागाड खोलासम्म पुर्‍याउन गाउँपालिका सफल भएको उनको दाबी छ । उनले स्थानीयको यात्रा सहज बनाउन पहल गरिएको जानकारी दिए । गाउँपालिकाले सडक निर्माणमा अहिलेसम्म ६ करोड रुपैयाँ खर्च गरिसकेको छ ।


प्रकाशित : आश्विन १३, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?