कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला अस्पतालमा जटिल शल्यक्रिया

हरि गौतम

रुकुम पश्चिम — जिल्ला अस्पताल, सल्लेको शल्यक्रिया कक्ष दुई दिन एउटै महिलाको शल्यक्रियाका लागि व्यस्त बन्यो । बिरामीको अवस्था जटिल बनेपछि जिल्ला अस्पतालमा एउटै व्यक्तिको पहिलोपटक दुईपल्ट शल्यक्रिया गरिएको हो ।

जिल्ला अस्पतालमा जटिल शल्यक्रिया

रुकुम पूर्व भूमे गाउँपालिका १, लुकुमकी ४१ वर्षीया मनमाला घर्तीको दुईपटक अप्रेशनपछि ज्यान बचेको छ । सातौं गर्भ बोकेकी घर्ती दुई दिनको रक्तस्रावपछि जिल्ला अस्पताल पुगेकी थिइन् ।


‘सीमित स्रोतसाधनबीच क्रिटिकल अप्रेशन गर्न सफल भयौं,’ विशेषज्ञ डा.अनुपमंगल समालले भने, ‘ठूला अस्पतालमा पनि यस्ता केश विरलै हुन्छन् ।’ पाठेघर फुटेर बच्चा र साल बाहिर निस्किसकेको अवस्थामा उनको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरेर मृत शिशु निकालेको डेढ दिनपछि फेरी उनको अर्को अप्रेशन गरिएको डा.समालले जानकारी दिए । धेरै गर्भाधारण गरेपछि उनको पाठेघर नै च्यातिएको थियो ।


अस्पतालका चिकित्सकले आमाको ज्यान जोगाउन दुईपल्ट शल्यक्रिया गरिएको जनाएका छन् । जनरल फिजिसियन डा.समाल, डा. निरेश थापालगायतको टोलीले शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा.महेश चौलागाईले बताए । डा.समाललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पतालमा पठाएको हो भने रुकुम पूर्वको जिल्ला अस्पतालमा प्रतिष्ठानबाटै खटेर आएको डा.थापाले अप्रेशनमा मूख्य भूमिका खेलेका थिए ।


घर्तीको पेटबाट मृत बच्चा निकालिसकेपछि पातलो भइसकेको पाठेघरबाट थप रगत बग्न सक्ने र जोखिम कायमै रहने भन्दै पाठेघरसमेत निकालिएको छ । तीन पोका रगत चढाइएपछि बिरामीको अवस्था सामान्य हुँदै गएको छ । उनले पानी र चिया खान थालेकी छिन् । सामान्य हिड्डुल र उठबस गर्न थालेकी छिन् । घर्तीले बच्चा जन्माउने बेलासम्म पनि गर्भ जाँच नगरेको पाइएको डा. थापाले बताए ।


विपन्न परिवारकी उनलाई अस्पताल पुर्‍याउन २० हजार रुपैयाँ खर्च भएको छ । अरुबाट नै मागेर उक्त खर्च जुटाइएको बिरामीका पति धनसुर घर्तीले बताए । ‘यस्तो होला भन्ने लागेको थिएन,’ उनले भने, ‘दुःख पाइए पनि ज्यान बाँच्यो, ऋण त विस्तारै तिरौंला ।’

प्रकाशित : आश्विन ११, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?