कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक विकृतिविरुद्ध प्रहरी अभियान

कान्तिपुर संवाददाता

(कालीकोट) — बालविवाह, बहुविवाह, जुवातास, महिला हिंसा, बालश्रम अन्त्य, लैंगिक विभेदलगायत सामाजिक विकृति रोक्न जिल्ला प्रहरी कार्यालयले अभियान थालेको छ  । प्रहरीले छाउपडी प्रथा, अवैध मदिरा, जातीय छुवाछुतलगायत सामाजिक विकृति अन्त्यका लागि जिल्लाभर अभियान सुरु गरेको हो  ।

सामाजिक विकृतिविरुद्ध प्रहरी अभियान

सदरमुकाम मान्मसहित ९ वटै स्थानीय तह र प्रहरी चौकी रहेका वडामा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी र स्थानीयको सहभागितामा अभियान सुरु गरिएको हो । समाजमा मौलाउँदै गएका विकृति रोक्न समुदाय–प्रहरी साझेदारी अभियान सफल हुने पूर्वसांसद तुलाराज विष्टले भने ।

समाजमा मदिरा पिएर झैझगडा गर्ने, महिलामाथि हिंसा गर्ने, जुवातास खेल्ने, लागूऔषध कारोबार गर्नेविरुद्ध सबै एकजुट हुन जरुरी रहेको जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीले बताए । मदिरालाई व्यवस्थित नगरेसम्म अपराधका घटनामा कमी नआउने उनको भनाइ छ । जिल्लामा मदिराकै कारण ५० प्रतिशत अपराधका घटना हुने गरेको सुनाउँदै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले अवैध मदिरा बन्द गर्न अपरिहार्य रहेको जनाए । डिएसपी श्यामबाबु ओलियाले सबै प्रहरी एकाइ परिचालन गरेर अभियान सुरु गरिएको जानकारी दिए ।

प्रहरीले पहिलो चरणमा सचेतनामूलक अभियान गर्ने र अटेर गर्नेलाई कानुनी कारवाही गर्ने उनको भनाइ छ । तिलागुफा नगरपालिकाको केन्द्र गाल्जेमा पनि खल्लागाड प्रहरी चौकीको सहजीकरणमा सामाजिक विकृतिविरुद्ध अभियानको घोषणा गरिएको नगर प्रमुख रतनवहादुर शाहीले बताए । पिली, मोल्फा, सेरावाडा, बाली, नाग्म, हुल्म, सान्नीगाड, रास्कोट आरसिपी, मुम्रा, जारकोट, थिर्पु, कुमालगाउ, हाउडी, पादुमघाटलगायत बजारमा सचेतनामूलक र्‍याली निकालिएको उनले जानकारी दिए ।

जिल्लाका सबै सरोकारवालासहित गत साता रास्कोटबाट सुरु गरिएको समुदाय–प्रहरी साझेदारी अभियान गाउँ गाउँसम्म पुर्‍याइने प्रहरीको प्रतिबद्धता छ । कालीकोट प्रहरीले बालविवाह न्यूनीकरण, महिला हिंसा अन्त्य, जातीय छुवाछुत, लागूऔषध तथा कुलत मुक्त समाज बनाउन एक वर्षे कार्ययोजना निर्माण गरी बुधवार सार्वजनिक गरेको छ ।

‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारासहित समाजिक विकृति न्यूनीकरणका लागि सरोकारवालासँग त्रैमासिक समिक्षा बैठक बस्ने, प्रत्येक महिना विद्यालय स्तरमा बालविवाह न्यूनीकरण, छाउपडी प्रथा, जातीय छुवाछुत, घरेलु हिंसा, बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार सामाजिक विकृतिले पार्ने नकारात्मक असरबारे समुदायमा पुगेर जनप्रतिनिधि, राजनैतिक दल, बालक्लब, महिला समुहलगायतसँग अन्तर्क्रिया गरिनेछ । हालै गरिएको एक सर्भेक्षण अनुसार कालीकोटमा अझै पनि ५९ प्रतिशत बालविवाह छ । ५७ प्रतिशत महिला हिंसा हुने गरेको छ । गत वर्ष १५ जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?