कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्य बजारमा मात्रै अनुगमन

रुकुम पश्चिम — चाडबाड नजिकिएसँगै सदरमुकाम खलंगा बजारमा अनुगमन थालिएको छ  । मुसीकोट नगरपालिका, जिल्ला प्रशासन तथा अन्य विषयगत कार्यालयहरूले आइतबारदेखि खलंगा बजारको अनुगमन थालेका हुन्  ।

करिब ४ महिनापछि बजार अनुगमन थालिएको हो । नियमित बजार अनुगमन नहुँदा कालोबजारी, म्याद गुज्रेका सामग्रीको बिक्री तथा अन्य कानुनविपरीत कार्य भएको उपभोक्ताको आरोप छ । तर अनुगमन भने खलंगा बजारमा मात्रै सीमित छ । खलंगा बजारभन्दा बाहिरका पसल, होटल तथा अन्य व्यवसायको अनुगमन भएको छैन् ।


‘हरेकपटक खलंगाको मात्रै अनुगमन हुन्छ,’ मुसीकोट नगरपालिका १३, का लालबहादुर ओलीले भने, ‘खलंगाभन्दा बाहिरको बजार अनुगमन भएको थाहै पाइँदैन ।’ यसअघि जिल्ला प्रशासनले मात्रै बजार अनुगमन गर्दा पनि खलंगा बजारको मात्रै अनुगमन गर्ने गरेको र स्थानीय सरकारले पनि त्यसैलाई निरन्तरता दिएको उनको भनाइ छ । नजिक र पायक पर्ने ठाउँ तथा सडक पुगेका बजारमा मात्रै अनुगमन गर्दा अन्य ठाउँका उपभोक्ता मारमा परिरहेको उनी बताउँछन् । ‘मुख्य ठाउँमा बढी कालोबजारी होला तर, अन्यत्र पनि कालोबजारी हुन्न सर्वसाधारण उपभोक्ता ठगिन्नन् भन्ने छैन नि,’ मुसीकोट नगरपालिका ७, का लीलबहादुर पुनले भने, ‘बजार अनुगमनलाई हरेक बजार तथा पसलमा र हरेक महिनामा गर्नेगरी व्यवस्थापन गर्नुपर्छ ।’


अनुगमनका क्रममा आइतबार थुप्रै कैफियत भेटिएको छ । पसल, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, म्याद गुज्रिएका खाद्यान्न सामग्री भेटिएको अनुगमन टोलीले जनाएको छ । यसैगरी मूल्यसूची नराखेको, एउटै पसलमा धेरै सामग्री राखेकोजस्ता कैफियत भेटिएका छन् । ४ महिनाअघि पनि टोलीले यस्तै कैफियत भेटाएको थियो । कैफियत भेटिएकालाई सचेतपत्र दिइएको छ ।
मुसीकोट नगरपालिकाकी कार्यवाहक प्रमुख प्रेमकुमारी सुनारले दसैं, तिहार र छठमा कालोबजारी नहोस् भनेर बजार अनुगमन थालिएको बताइन् ।

‘हामीले नियमितजस्तो बजार अनुगमन गरिरहेका हुन्छौं,’ उनले भनिन्, ‘यो पनि नियमित अनुगमन हो यसबाट उपभोक्ता ठगिनबाट जोगिनेछन् भन्ने अपेक्षा हाम्रो छ ।’ उनले अनुगमनको क्रममा पुरानै प्रकारका कैफियत धेरै भेटिएको जानकारी दिइन् । खलंगा बजारबाट थालिएको अनुगमन सबै बजारसम्म पुग्ने सुनारको भनाइ छ ।

यसअघि एउटा मात्रै वस्तु अनुगमन गर्ने गरिएको भए पनि यसपटक सबै क्षेत्रको अनुगमन एकैपटक गरिएको सहायक प्रजिअ शेरबहादुर पुनले बताए । ‘यो अनुगमन पनि नियमित हो,’ उनले भने, ‘बजारमा कुनै गडबड नहोस् भनेर नियमित अनुगमनमा जोड दिइएको हो ।’ अनुगमनको क्रममा भेटिएका म्याद नाघेका खाद्यवस्तु तथा पेय पदार्थ जफत गरिएको छ ।

प्रकाशित : आश्विन ६, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?