नयाँ विषयमा विद्यार्थी चाप

वीरेन्द्रनगर — कर्णालीका शैक्षिक संस्थामा पछिल्लो समय नयाँ विषयले प्रवेश पाएका छन्  । विभिन्न संकायअन्तर्गत नयाँ विषय थपिएपछि विद्यार्थीको आकर्षण बढिरहेको छ  ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले प्रत्येक वर्ष नयाँ विषयको प्रवेश गराउँदै आएको छ । प्रदेशको आवश्यकता र स्रोत साधनलाई उपयोग गर्ने जनशक्ति उत्पादनमा जोड दिँदै आएको विश्वविद्यालयले जनाएको छ । पछिल्लो ५ वर्षमा एमयूले स्नातक तथा स्नातकोत्तरमा ६ नयाँ विषयको अध्यापन सुरु गरेको छ । स्नातक तहमा मानविकी संकायतर्फ लोकवार्ता विज्ञान, कानुन संकायतर्फ बीएएलएलबी, इन्जिनियरिङ संकायतर्फ नेपालमै नयाँ हाइड्रोपावर इन्जिनियरिङ विषयको पढाइ भइरहेको शिक्षाशास्त्र संकायका डिन विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार एमयूले स्नातकोत्तरतर्फ शिक्षा संकायअन्तर्गत गणित, इन्जिनियरिङतर्फ भौतिक विज्ञान र स्ट्रक्चर एन्ड कन्स्ट्रक्सन विषयको अध्यापन भइरहेको हो । यस्तै, व्यवस्थापन संकायअन्तर्गत गत वर्षदेखि एमफिल र पीएचडीको कार्यक्रम पनि सुरु गरेको गरेको डिन खड्काको भनाइ छ ।


विश्वविद्यालयले केही नयाँ विषय अध्यापन गराउने तयारीका साथ पाठ्यक्रम तयार पारेको छ । शिक्षाशास्त्र संकायका डिन खड्काका अनुसार स्नातकतर्फ बीएससी नर्सिङ, बीएन, पब्लिक हेल्थ र कृषि विज्ञानको पाठ्यक्रम तयार भइसकेको छ । ‘यी विषय पनि यहाँको आवश्यकता भएकाले हामीले सुरु गर्दै छौं,’ उनले भने, ‘प्राविधिक विषयतर्फ बढी जोड दिन लागेका हौं ।’ यस्तै, स्नातकोत्तरमा मानविकी संकायअन्तर्गत पत्रकारिताको पाठ्यक्रम पनि तयार भएको उनले जानकारी दिए । शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायतर्फको पीएचडीको पाठ्यक्रम पनि तयार गरिएको उनले सुनाए । विद्यार्थीको चाहना र प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै एमयू अहिले कृषि विज्ञानतर्फ पनि अर्ग्यानिक कृषिको पाठ्यक्रम बनाउन जुटेको छ । ‘कृषि विज्ञानको पाठ्यक्रम बनिसकेको छ,’ उनले भने, ‘यसमा पनि अर्गानिक कृषि पढाउन सोहीअनुसारको पाठ्यक्रम बनाउने तयारी तीव्र साथ चलिरहेको छ ।’ व्यवस्थापन संकायतर्फ बीबीए र एमबीए, मानविकीतर्फ पत्रकारिता, सोसियल वर्क, आईआर, सिभिल र कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ पनि एमयूले सुरु गरेको छ ।


एमयूको केन्द्रीय क्याम्पसमा व्यवस्थापन संकायमा ११ सय ९२, मानविकीमा १ हजार २, शिक्षातर्फ पाँच सय ४९, इन्जिनियरिङमा पाँच सय ६८, विज्ञानमा ३ सय ७२ र कानुनतर्फ ४४ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले कानुन र इन्जिनियरिङ संकायतर्फ कोटा निर्धारण गरी विद्यार्थी भर्ना लिइरहेको छ । ४८/४८ जनाको कोटा हुने इन्जिनियरिङमा करिब ५ सय विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । यस्तै ४५ जनाको कोटा रहेको कानुनमा गत वर्ष डेढ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।

निजी क्याम्पसमा व्यवस्थापनका नयाँ विषय
प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै हाल त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ४ निजी कलेजले स्नातकतर्फ व्यवस्थापन संकायका विभिन्न विषय अध्यापन गराइरहेका छन् । सिद्धपाइला क्याम्पस, सुर्खेत मोडल कलेज, सहारा क्याम्पस र ज्ञानसिन्धु कलेजले व्यवस्थापन संकायका विभिन्न विषय अध्यापन गराइरहेका हुन् । व्यवस्थापनतर्फ बीबीएस र बीबीए मात्रै पढाइरहेका यहाँका निजी क्याम्पसले पछिल्ला केही वर्षदेखि नयाँ विषय पनि भित्र्याएका छन् । कर्णालीमै पहिलोपटक सुर्खेत मोडल कलेजले होटल व्यवस्थापन विषय चालु शैक्षिक सत्रदेखि अध्यापन गराउँदै छ । कलेजमा व्यवस्थापन संकायअन्तर्गत बीबीएस, बीआईएम र बीएचएम अध्यापन भइरहेको क्याम्पस प्रमुख गणेश आचार्यले बताए । व्यवस्थापनतर्फ पर्यटन, होटल, सूचना प्रविधिलाई पनि सरकारले जोड दिन थालेकाले प्राथमिकतामा राखेको उनी बताउँछन् । कलेजमा व्यवस्थापनतर्फ स्नातकोत्तरको पढाइ पनि भइरहेको छ ।


सहारा क्याम्पसले पनि चारवर्षे बीबीएससँगै बीआईएम र बीसीए पनि सुरु गरेको छ । सूचना व्यवस्थापन र कम्प्युटर एप्लिकेसनतर्फ पनि विद्यार्थीको आकर्षण बढेको क्याम्पस प्रमुख छविलाल आचार्य बताउँछन् । प्रदेश सरकारको डिजिटल प्रदेश बनाउने योजनालाई सफल पार्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य साथ बीसीए पढाउन सुरु गरेको उनको भनाइ छ । उनका अनुसार प्रदेशमै पहिलोपटक यो विषय पढाउन सुरु गरिएको हो ।


सिद्धपाइलाले करिब ४ सय बढी विद्यार्थीलाई ४ वर्षे बीबीएस पढाइरहेको छ । सिद्धपाइलामा कर्णाली प्रदेश र सुदुरपश्चिमका कैलाली, अछामलगायत जिल्लाका विद्यार्थी व्यवस्थापन पढिरहेको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले जानकारी दिए । ‘पछिल्लो समय विद्यार्थी वित्तीय संस्थातर्फ काम गर्न इच्छुक देखिएका छन्,’ उनले भने, ‘व्यवस्थापन पढेका विद्यार्थीले चाँडै नै रोजगारी पाउने भएकाले आकर्षण बढेको हो ।’ ज्ञानसिन्धु कलेजले पनि चारवर्षे बीबीएस पढाइरहेको छ । कलेज व्यवस्थापन समिति अध्यक्ष छत्र बडुवालका अनुसार हाल करिब १ सय १५ विद्यार्थी अध्ययन गरिरहेका छन् । जिल्लामा सामुदायिकतर्फ शिखर बहुमुखी क्याम्पस र अमरदीप क्याम्पसले पनि व्यवस्थापन संकाय अध्यापन गराइरहेका छन् ।

प्रकाशित : आश्विन ६, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?