कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगुविरुद्ध सचेतना अभियान

राजबहादुर शाही

(मुगु) — जिल्लामा डेंगुको संक्रमण न्यूनीकरणका लागि सचेतना अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत एक सातासम्म जिल्लाभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

डेंगुविरुद्ध सचेतना अभियान

जिल्लामा लामखुट्टेको संख्या बढ्न थालेपछि डेंगुको जोखिम बढ्दै गएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । तराईका जिल्लामा डेंगुका विरामी बढ्न थालेपछि र आउजाउ बढ्दै गएपछि संक्रमणको जोखिम बढेको हो । सरोकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दल लगायतसँग गरिएको अन्तरक्रियापछि अभियान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद शाहले बताए ।


अभियानअन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालयको अगुवाइमा बजार क्षेत्रमा ढलनिकास र सरसफाइ गरिएको छ । सदरमुकाम आसपासका बस्तीमा झाडी फडानी, पानी जमेका खाल्डाखुल्डी सफालगायत कामलाई तीब्र बनाइएको डिएसपी शाहले बताए । उनका अनुसार मातहतका इकाई परिचालन गरी ढुम, कार्कीबाडा, भामबाडा, श्रीनगर, ठिनीलगायत बस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । भीई, धैनकोट, तारापानी, सिप रिघा, सुकाढिक, आम, रातापानीलगायत १० बस्तीलाई स्वास्थ्य कार्यालयले औलोको उच्च जोखिममा राखेको छ ।


आव ०७५/७६ मा रिघा, सुकाढिक, आमलगायत बस्तीमा ८५ जनालाई औले रोग देखा परेको थियो । यस वर्ष औलोका विरामी नभेटिएको भए पनि डेंगुको जोखिम बढेको जिल्ला अस्पताल प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार अस्पतालमा उपचारका लागि आउने भाइरल ज्वरोका विरामीको रक्त परीक्षण गर्न थालिएको छ । ‘अहिलेसम्म जिल्लामा डेंगुको संक्रमण भेटिएको छैन,’ उनले भने, ‘तर जुनसुकै बेला पनि रोगले महामारीको रुप लिनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिरहेका छौं ।’ बाहिरबाट आउने संक्रमितका कारण रोगको जोखिम बढी रहेको उनको भनाइ छ । घर वरपर खाल्डाखुल्डीमा पानी जम्न नदिन र घर वरपर सफा राख्न स्थानीयलाई आग्रह गरिएको जिल्ला अस्पतालले जनाएको छ ।


डा. नगरकोटीका अनुसार ‘एडिज एजिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन्छ । एक्कासी ज्वरो आउने, टाउको र आँखाका गेडी दुख्ने, शरिरमा बिबिरा आउने, रक्तश्राब हुनेलगायत लक्षण देखिने गरेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?