कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी नहुँदा गाउँ सुनसान

स्थानीय बासिन्दा भन्छन्, ‘कहिलेकाहीा पुरानो बस्तीतिर पशु चौपाया चराउन जान्छौं, सबैका जमिन बाँझिए, पुरानो घर हेर्दा मनै भक्कानिन्छ’
विप्लव महर्जन

(सल्यान) — कालीमाटी गाउँपालिकाको टोटकेका वेदबहादुर डाँगी ६ वर्षअघि विभिन्न सुविधा खोज्दै सडक सुविधा पुगेको सेतीखोला झरे । उनकै छिमेकी नन्दलाल डाँगीले पनि त्यही वर्ष पुतलीबजारमा बसाइ सारे । दुई वर्षअघि जहरसिंह 
ओली, जयलाल ओलीलगायतको परिवारले पनि गाउँ छाड्यो ।

पानी नहुँदा गाउँ सुनसान

उनीहरू मात्र होइन, टोटकेका अधिकांश परिवार सडक, सिँचाइ, विद्युत्, खानेपानीलगायत सुविधा खोज्दै अन्यत्र बसाइ सरेपछि गाउँ जंगलमा परिणत भएको छ । गाउँका अधिकांशले कालीमाटी गाउँपालिकाको केन्द्र पुतलीबजार र वडा ३ को सेतीखोलालाई नयाँ बासस्थान बनाएका छन् । केही परिवार सदरमुकाम खलंगा र दाङको तुलसीपुरमा बसाइ सरी गएका छन् । गाउँका अधिकांश घर जीर्ण बन्दै भत्कने क्रम बढेको छ भने जग्गामा विभिन्न रुख–बिरुवा उम्रिएका छन् ।


गाउँका सबै घरधुरी अन्यत्र गएपछि लालीगुराँस आधारभूत विद्यालय २ वर्षअघि बन्द भयो । खानेपानी, सिँचाइ, सडकलगायत असुविधा भएपछि सर्वसाधारण धमाधम बसाइ सरेका हुन् । सबै घरधुरी विस्थापित हुँदा खेतीयोग्य जग्गा प्रयोगविहीन बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गाउँपालिकाको केन्द्र पुतलीबजार बसाइ सरेकाहरू कहिलेकाँही मात्र तीन घन्टाको उकालो चढेर टोटके पुग्छन् ।


स्थानीय झुपसिंह डाँगीले विभिन्न असुविधा भएपछि आफूहरू बेंसी झरेको बताए । ‘डाँडाको बस्ती भएकाले सबैभन्दा बढी खानेपानीको असुविधा थियो,’ उनले भने, ‘अधिकांशले माथिको घरजग्गा नबेचेरै यहाँ बसाइ सरेका हौं, सबैजना झरेपछि गाउँ क्रमश: जंगलमा परिणत भइरहेको छ ।’ उनले अहिले टोटके मानवविहीन बनेको बताए । बर्सेनि दुई/चार परिवार झर्दाझर्दै गाउँ खाली भएको उनको भनाइ छ । दुई वर्षयता गाउँ जंगली जनावरको बासस्थानको रुपमा परिणत बनेको स्थानीय लालबहादुर ओलीले बताए । ‘विभिन्न सरकारी निकायमा बारम्बार खानेपानी योजना सञ्चालन गर्न माग गरियो, बढी खर्च लाग्ने भन्दै सबैले बेवास्ता गरे,’ उनले भने, ‘खानेपानीको चरम अभाव भएपछि यहाँ झर्नुको विकल्पै भएन ।’ उनका अनुसार ६ वर्षअघिसम्म टोटकेका बासिन्दालाई खानेपानीका लागि डेढ घण्टा हिड्नुपर्ने बाध्यता थियो ।


करिब दुई दर्जन घर भएको टोटके गाउँमा सिँचाइ सुविधा नहुँदा आकासे पानीको भर पर्नुपर्ने बाध्यता थियो । दु:ख गरी लगाएको बाली जंगली जनावरले नष्ट गरिदिने समस्याबाट समेत सर्वसाधारण आजित थिए । विद्युत् सुविधा नहुँदा दियालो बालेर रात बिताउनुपर्ने बाध्यतामा टोटकेबासी थिए । स्थानीय चन्द्रबहादुर डाँगीका अनुसार गाउँ अहिले आसपासका बस्तीका पशुचौपायाको चरनस्थलमा परिणत भएको छ । ‘हामी पनि कहिलेकाँही पुरानो बस्तीतिर पशु चौपाया चराउन जान्छौं,’ उनले भने, ‘अहिले सबैका जग्गाजमिन बाँझिए, पुरानो घर हेर्दा मनै भक्कानिन्छ, आफू जन्मे हुर्केको गाउँ असुविधाकै कारण छाड्नुपर्ने बाध्यता भयो ।’ उच्च पहाडी भेगबाट सुबिधा खोज्दै बेंसीतिर झर्दा कालीमाटी गाउँपालिकाको सिद्धकुमाख गाउँपालिकाको ओखरबोट, उचाल्ने, कुमाख गाउँपालिकाको जोगिनीगारे , लक्ष्मीपुरको चोत्रेलगायत बस्ती सुनसान भएका छन् ।


अधिकांश गाउँ जंगलमा परिणत भएका छन् भने घर भग्नाबशेषमा परिणत भएको स्थानीयको भनाइ छ । बसाइसराइका कारण बेंसीका गाउँ भने क्रमश: भरिभराउ हुन थालेका छन् । बसाइ सर्ने क्रम बढेसँगै शारदा खोला आसपासका बस्तीहरू व्यापारिक केन्द्रको रुपमा परिणत हुन थालेका हुन् । सदरमुकाम खलंगा र राप्ती राजमार्गले छुने स्थानमा माथिल्ला क्षेत्रबाट बसाइ सर्ने क्रम बढिरहेको खलंगाका व्यवसायी राजेश शर्माले बताए । उनले शारदा खोला आसपासका क्षेत्रका फाँटमा धमाधम पक्की घर बन्ने क्रम बढिरहेको जानकारी दिए । बेसींका खेतीयोग्य जग्गामा घर बनाउन थालेपछि जिल्लाको १ हजार हेक्टर बढी खेतीयोग्य जग्गा मासिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


प्रकाशित : आश्विन २, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?