१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बढ्दै डेंगुको जोखिम

सल्यान — जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । भेरी नदी किनारको सल्लीबजार सबैभन्दा बढी जोखिममा छ । स्वास्थ्य कार्यालयका अनुसार शारदा नदी किनारका बस्तीहरू श्रीनगर, कालीमाटी, लुहामलगायत डेंगु संक्रमणको जोखिममा परेका हुन् । 

बढ्दै डेंगुको जोखिम

छिमेकी जिल्लामा डेंगुका बिरामी बढ्न थालेपछि र आउजाउ बढ्दै गएपछि संक्रमणको जोखिम बढेको हो । जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन चिकित्सक र स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा अहिलेसम्म डेंगुको लक्षण नदेखिएको अस्पताल प्रमुख डा. अर्जुन बुढामगरले बताए ।


‘उपचारका लागि आउने बिरामीको रगत परीक्षण गर्दै आइरहेका छौं,’ उनले भने, ‘तर जुनसुकै बेला पनि रोगले महामारीको रुप लिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिरहेका छौं ।’ दाङ, सुर्खेतलगायत छिमेकी जिल्लामा बिरामी बढेसँगै सल्यान पनि उच्च जोखिममा परेको उनको भनाइ छ । बाहिरबाट आउने संक्रमितका कारण रोगको जोखिम बढी रहेको उनी बताउँछन् ।


घर वरपर खाल्डाखुल्डीमा पानी जम्न नदिन र घर वरपर सफा राख्न स्थानीयलाई आग्रह गरिएको जिल्ला अस्पतालले जनाएको छ । डा. बुढामगरका अनुसार ‘एडिज एजिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन्छ ।


एक्कासी ज्वरो आउने, टाउको र आँखाका गेडी दुख्ने, शरिरमा बिबिरा आउने, रक्तश्राव हुनेलगायत लक्षण देखिने गरेको उनले जानकारी दिए । ‘जिल्लामा अहिले भाइरल ज्वरोको प्रकोप बढिरहेको छ,’ उनले भने, ‘ज्वरोका बिरामीमा डेंगुको संक्रमण हुनसक्ने भएकाले सतकर्ता अपनाउन आग्रह गरिरहेका छौं, स्वास्थ्यकर्मी पनि हाइ अलर्टमा छौं ।’


जिल्ला अस्पतालमा दैनिक १ सय ५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये २० भन्दा बढी ज्वरोका बिरामी आउने गरेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?