कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काज सरुवाले शिक्षकविहीन विद्यालय

सल्यान — एकमात्र स्थायी शिक्षकलाई नगरपालिकाले काजसरुवा गरेपछि बागचौर–२ चिल्ढालेस्थित भानुभक्त आधारभूत विद्यालय शिक्षकविहीन भएको छ ।

३ कक्षासम्म पढाइने उक्त विद्यालयका अमरबहादुर केसीलाई नगरपालिकाले शिवरथको निराजन माविमा सरुवा गरेको छ । कार्यरत एकमात्र शिक्षकको सरुवाले भानुभक्तको पठनपाठन प्रभावित भएको छ ।


शिशु विकास कार्यकर्ता भए पनि उनी नियमित उपस्थित नहुँदा विद्यार्थीहरू दैनिकजसो विद्यालय गएर फर्कने गरेका छन् । नगरपालिकाले गैरजिम्मेवारपूर्ण निर्णय गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर डाँगीले बताए । ‘पठनपाठनै ठप्प हुने गरी शिक्षकलाई काज सरुवा गर्नु गैरजिम्मेवारपन हो,’ उनले भने, ‘विद्यालयमा यो राजनीतिक हस्तक्षेप हो ।’ नगरपालिकाले शिक्षक काजसरुवा गरिदिँदा भएको दरबन्दीसमेत कटौती भएको उनले बताए ।


स्थानीय अभिभावकलाई विद्यालय नै बन्द हुने हो कि भन्ने चिन्ता छ । बालबालिकाको पढ्न पाउने अधिकार संरक्षण गर्न तुरुन्त अर्को शिक्षकको व्यवस्था गर्न उनीहरूले माग गरेका छन् । विद्यालयमा १८ जना बालबालिका पढ्नछन् । नगरपालिकाले निर्णय गरेपनि अभिभावकको दबाबकै कारण विद्यालय व्यवस्थापन समितिले काजसरुवाको रमाना दिएको छैन ।


शिक्षक केसीले रमाना नपठाउँदा नगरपालिकाले काजमा पठाएको विद्यालयमा गएर काम गर्न नसकेको बताए । ‘म त दोहोरो मारमा परेको छु, एकातिर आफूले जा भनेका ठाउँमा गएर काम गर्न पाइएन, अर्कोतिर बालबालिकाको भविष्य पनि अन्योलमा परेको छ,’ उनले भने, ‘नगरपालिकाले विद्यालयमा शिक्षक दरबन्दी हेरेर काज सरुवा गरेको भए ठीक हुने थियो ।’ पढ्नका लागि विद्यालय गएका बालबालिका खेलेर फर्केको थाहा पाउँदा दुःख लाग्ने गरेको उनले बताए ।


नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसीले नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका ३३ जना शिक्षकको काजसरुवा गरिएको बताए । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न कम विद्यार्थी भएका विद्यालयबाट शिक्षकको काज सरुवा गरेर बढी विद्यार्थी भएको विद्यालयमा पठाएको उनको भनाइ छ । भानुभक्त आधारभूत विद्यालयलाई ३ कक्षाबाट झारेर १ मा ल्याउने तयारी भएको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?