कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेत विमानस्थल विस्तार गरिने

सुर्खेत — २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको पहलमा संघीय सरकारले विमानस्थल विस्तारको लागि अध्ययन टोली पठाएको छ । 

सुरुमा १ हजार ४० मिटर लम्बाइमा निर्माण गरिएको विमानस्थल करिब ५ वर्षअघि २ सय मिटर विस्तार गरिएको थियो । अहिले थप ३ सय मिटर विस्तारको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख विनोद पन्तले बताए ।


बुद्ध एयर र प्राधिकरणको टोलीले शुक्रबार विमानस्थलको प्रारम्भिक अध्ययन गर्ने उनको भनाइ छ । सुर्खेत विमानस्थल उत्तर–दक्षिण दिशामा छ । विमानस्थललाई उत्तरतिर विस्तार गर्ने सरकारको तयारी छ । यसले गर्दा स्थानीयका केही घर र अमरज्योति माविलाई अधिग्रहण गर्नुपर्नेछ ।


पन्तले शुक्रबार बुद्ध एयर र प्राधिकरणको इन्जिनियरिङ टोलीले प्रारम्भिक अध्ययन गर्ने र केही दिनपछि उच्चस्तरीय प्राविधिक टोली आएर विस्तृत अध्ययन गर्ने जानकारी दिए । मंगलबार काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच विमानस्थल विस्तारबारे छलफल भएको थियो ।


प्रदेश सरकारको आग्रहमा विमानस्थल विस्तारका लागि मन्त्रालयले अध्ययन टोली सुर्खेत पठाएको छलफलमा सहभागी कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले बताए । सरकारले यसअघि छिन्चुको मदानेचौरमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको थियो । यसको लागि सम्भाव्यता अध्ययनको प्रक्रिया पनि सुरु भइसकेको छ ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सुर्खेतका व्यवसायी नीरक केसीले नयाँ विमानस्थल निर्माणतिर लाग्नुभन्दा हालको विमानस्थललाई विस्तार गर्दा कर्णालीवासीले हवाई क्षेत्रमा भोग्दै आएको समस्या सहजै समाधान हुने बताए ।

प्रकाशित : भाद्र २८, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?