कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष बन्न हानथाप, विद्यालयमा झडप

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको बुम्चगाउँस्थित महादेव निम्न माविको व्यवस्थापन समिति गठनको क्रममा भदौ १८ गते झडप हुँदा अभिभावक सान्त्वना विष्ट घाइते भइन् । गत साता जगतमाला माध्यमिक विद्यालय धैनकोटमा व्यवस्थापनि समिति गठनको क्रममा ४ दिन तालाबन्दी भयो । 

अध्यक्ष बन्न हानथाप, विद्यालयमा झडप

यी दुई पछिल्ला उदाहरण हुन् । जिल्लाका सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप चलेको छ । अधिकांश विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएर नयाँ गठन हुन थालेपछि अध्यक्ष बन्ने प्रतिस्पर्धा चल्न थालेको हो ।

व्यवस्थापन समितिमा विष्टका पति चित्र विष्ट र दलबहादुर बुढा अध्यक्षका प्रत्यासी थिए । दुवैले अध्यक्षका लागि एक अर्कालाई स्वीकार नगर्दा झडपको स्थिति आएको हो । चार दिनको उपचारपछि मात्र घर फर्किएको विष्टले बताइन् । अभिभावकसँगको लामो छलफलपछि बुढालाई अध्यक्ष चयन गरिएको प्रधानाध्यापक बालेश्वर शाहले जनाए ।

धैनकोटमा नेकपा समर्थित अभिभावकले एकलौटी समिति गठन गरेको आरोप लगाउँदै कांग्रेस समर्थक अभिभावकले तालाबन्दी गरेका थिए । विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा पठनपाठन नै प्रभावित हुने गरेको धैनकोटका शैलेन्द्र मल्लले बताए । ‘अधिकांश विद्यालयमा सहमतिमा समिति गठन हुँदैन,’ उनले भने, ‘आस्थाका आधारमा चुनावमार्फत समिति गठन भएपछि कसरी हुन्छ शैक्षिक विकास ? ’

रारा माध्यमिक विद्यालयमा पनि समिति गठनको क्रममा चार दिनसम्म विवाद जारी रह्यो । ८ जनाले अध्यक्षमा दाबी गरेपछि विवाद सुरु भएको थियो । निरन्तरको छलफलपछि भीमबहादुर बुढा समितिको अध्यक्ष बनेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक सिताराम थारुले समिति गठनका बेला सधैं तनाव हुने गरेको सुनाए । उनका अनुसार शिक्षा नियमावली अनुसार समिति गठनको जिम्मा सम्बन्धित विद्यालयलाई दिइएको छ । उनले समितिका पदाधिकारीको अवधि तीन वर्ष रहने जानकारी दिए । ‘राजनीतिक हस्तक्षेपले समस्या हुने गरेको हो,’ उनले भने, ‘अधिकांश विद्यालयमा शिक्षकले नै तनाव झेल्नुपरिरहेको छ ।’

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सूर्यबहादुर खत्रीले विद्यालयको समितिमार्फत स्रोत साधनको दुरुपयोग गर्ने क्रम बढेको बताए । उनका अनुसार समितिमा राजनीतिक प्रभाव कायम राख्न पनि दलीय प्रतिस्पर्धा हुने गरेको छ । व्यवस्थापन समिति मातहत दिवा खाजा, पाठयपुस्तक, विद्यालय शिक्षक सिकाई अनुदान, पूर्वाधार निर्माण खर्चलगायत रकम परिचालन हुने गरेको छ ।

सरकारी तथा दातृ निकायबाट निकासा हुने बजेटमा रजाइ गर्न पनि अध्यक्ष पदका लागि हानथाप हुने गरेको उनी बताउँछन् । विद्यालय व्यवस्थापन समितिमा एक अध्यक्षसहित ११ सदस्य चयन हुने व्यवस्था छ ।

समितिको सदस्यसचिव प्रधानाध्यापक हुने प्रावधान रहेको इकाईले जनाएको छ । पछिल्लो समय विद्यालय राजनीति गर्ने थलोका रुपमा विकासित भएको कांग्रेस उपसभापति खगेन्द्र मल्लले बताए । ‘अहिलेसम्म राजनीति गर्ने थलो बनाइयो,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?