कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ करोडको तरकारी जिल्लाबाहिर 

विप्लव महर्जन

सल्यान — कपुरकोट हाट बजारबाट दुई महिनाको अबधिमा करिव १२ करोड रुपैयाँको तरकारी जिल्ला बाहिर गएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार हाट बजारबाट ११ करोड ९२ लाख रुपैयाँको तरकारी बाहिर गएको हो । 

केन्द्रका अनुसार सबैभन्दा बढी टमाटर बाहिरिएको छ । जेठ तेस्रो सातादेखि साउन मसान्तसम्म ७ करोड ४० लाख रुपैयाँको ५ हजार ८ सय ४० क्विन्टल टमाटर बाहिर पठाइएको हो ।


त्यस्तै ३ करोड ४३ लाख रुपैयाँको ३ हजार ५ सय २२ क्विन्टल बन्दा, ३ करोड ८ लाखको २ हजार ९ सय क्विन्टल काउली र १८ लाखको २ सय ७९ क्विन्टल सिमी कपुरकोटबाट बाहिर गएको छ । केन्द्रका अनुसार भेडे खुर्सानी, काक्रो, खुर्सानी, मूला, लसुन, तितेकरेलालगायत तरकारी जिल्लाबाहिर जाने क्रम बढेको छ ।


कृषि ज्ञान केन्द्रका अधिकृत रेशमकुमार बस्नेतका अनुसार किसान व्यवसायिक कृषि खेतीमा लाग्ने क्रम बढेपछि जिल्लाको तरकारी बाहिर जान थालेको हो । बाहिर पठाउँदा उत्पादित तरकारीले राम्रो भाउ पाइरहेको उनले बताए । यस वर्ष दाङ, नेपालगन्ज, बुटवललगायत सहरमा भारतीय तरकारी कम भित्रिएकाले यहाँको उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।


‘कपुरकोट र आसपासका क्षेत्रका किसानले ६ महिना बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन्,’ उनले भने, ‘यी क्षेत्रबाट मात्रै १८ करोड रुपैयाँको तरकारी बिक्री हुने गरेको छ, कपुरकोटको ८० प्रतिशत तरकारी जिल्लाबाहिर जान्छ ।’ कपुरकोट गाउँपालिकाको रिम, गर्पा, सिनबाङ, त्रिबेणीका टुनीबोट, लुहाम, फलाबाङलगायत स्थानमा व्यवसायिक तरकारी खेतीको लहर चलेको उनी बताउँछन् । कपुरकोटमा हप्तामा दुई पटक मंगलबार र शुक्रबार हाटबजार लाग्दै आएको छ ।


जिल्लामा उत्पादित तरकारी भारतको लखनउसम्म पुग्ने गरेको कृषि उपज बजार सञ्चालन समितिका सचिव तिलक शर्माले बताए । ‘भारतबाट तरकारी आयात रोकिँदा यहाँको उत्पादनले राम्रो बजार पाएको छ,’ उनले भने, ‘भाउ र बजार बढेपछि किसान आत्मनिर्भर बन्दै गएका छन् ।’ उनका अनुसार कपुरकोट र आसपासका क्षेत्रका ९० प्रतिशत घरधुरीमा व्यवसायिक तरकारी उत्पादन भइरहेको छ ।


केन्द्रका अनुसार जिल्लाभर ३ हजार ३ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको छ । तरकारी खेतीबाटै आएको रकमले किसानले सदरमुकाम र जिल्ला बाहिर घरघडेरी जोड्ने क्रम बढिरहेको छ ।

प्रकाशित : भाद्र २६, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?