कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादले खानेपानीबाट वञ्चित

सल्यान — सिद्धकुमाख गाउँपालिका १, कागखोला र वडा २ खानीगाउँका बासिन्दाबीच खानेपानी मुहानको विवाद चुलिएको छ । विवादकै कारण खानीगाउँका बासिन्दाले कागखोलामा पानी ल्याउन दिएका छैनन् ।

दुई गाउँबीच खानेपानी र वन क्षेत्रको विवाद लामो समयदेखि कायमै छ । कागखोलामा सामुदायिक वन छ । उक्त वनमा खानीगाउँका पशुचौपाया चरन गर्न पाउँदैनन् । मूल प्रयोग गर्न दिए वनक्षेत्रमा चरन गर्न पाउनुपर्ने खानीगाउँका बासिन्दाको माग छ ।


मूल र वन विवाद अहिलेसम्म समाधान हुन नसक्दा कागखोलाका ६२ परिवार खानेपानी सेवाबाट वञ्चित छन् । स्थानीयलाई एक घण्टा टाढाको अर्को मूलमा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । सहमति नहुँदा पानीका लागि सास्ती भोग्नुपरेको स्थानीय रेशमबहादुर चलाउने बताउँछन् ।


उनका अनुसार गाउँपालिकाले खानेपानी योजना सञ्चालनका लागि गत वर्ष १ लाख रुपैयाँ छुट्याएको थियो । सहमति नभएपछि बजेट फ्रिज गएको उनको भनाइ छ । ‘जनप्रतिनिधिको रोहवरमा केही समयअघि सहमति भए पनि केही व्यक्तिको स्वार्थका कारण समस्या भएको हो,’ उनले भने, ‘अब सामान्य छलफलले सहमति हुने सम्भावना छैन ।’


कागखोलाकी निर्मलाकुमारी बस्नेतले पानीको अभावमा पशुपालन र सरसफाइमा समेत समस्या भएको बताइन् । ‘१ घण्टा हिँडेर पिठ्युमा बोकी पानी ओसार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘केही व्यक्तिका कारण सहमाति हुन ढिलाइ भइरहेको छ ।’ बारम्बार खानेपानी योजना निर्माण गर्न विभिन्न सरकारी निकायमा अनुरोध गरिए पनि बेवास्ता भइरहेको उनको गुनासो छ ।


सामुदायिक वनका पूर्वअध्यक्ष टेकबहादुर बस्नेतले विवाद मिलाउन धेरै पटक छलफल भए पनि सहमतिमा पुग्न नसकिएको बताए । ‘पछिल्लो समय छलफलै हुन छाड्यो,’ उनले भने, ‘एउटा वडामा वन र अर्को वडामा खानेपानी मुहान हुँदा समस्या भएको हो ।’ विवाद नमिलेपछि गाउँपालिकामा गत वर्ष उजुरी परेको थियो ।

प्रकाशित : भाद्र २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?