भाइरल ज्वरोका बिरामी बढे

ज्वरोले बारेकोटकी एक बालिकाको मृत्यु 
भीमबहादुर सिंह

जाजरकोट — दुई सातादेखि भेरी नगरपालिकालगायत गाउँ/नगरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरो फैलिएपछि गाउँका स्वास्थ्यचौकी र सदरमुकामस्थित जिल्ला अस्पतालमा बिरामीको फैलिएपछि जाजरकोट अस्पतालमा बिरामीको चाप बढेको छ ।

भाइरल ज्वरोको कारण बारेकोट गाउँपालिका ६, ताँसीधुमकी १४ वर्षीया आशा विकको आइतबार मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

बालिकाको जाजरकोट अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक बालिका एकसातासम्म भाइरल ज्वरोबाट थलिएकी थिइन् । बालिकालाई ६ दिनसम्म जाजरकोट अस्पतालमा उपचार गराइएको थियो ।

भेरी नगरपालिका, जुनीचाँदे, बारेकोट गाउँपालिका, नलगाड नगरपालिकालगायत क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढिरहेका छन् । दैनिक १ सय ५० बढी भाइरलका बिरामी जिल्ला अस्पतालमा आउने गरको डा. केशरजंग कार्कीले बताए । भाइरलबाट बालबालिका र वृद्ध बढी प्रभावित भएको डा. कार्कीले जानकारी दिए ।

‘ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेलगायत लक्षणका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘मौसम परिवर्तन, दूषित पानी, बासी खानेकुरा र सरसफाइको कमीले भाइरलको प्रकोप फैलिएको हो ।’ भाइरलले रोगविरुद्ध लड्ने शक्ति कमजोर भएका र दम तथा श्वासप्रश्वासका बिरामीलाई बढी समस्या भएको उनको भनाइ छ ।

ताजा, तातो र पोषिलो तथा झोलिलो खाना खाने, आराम गर्ने, उमालेर पानी पिउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव बिरामीलाई दिइएको डा. कार्कीले बताए ।

अस्पतालमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या आएको उनी बताउँछन् । अस्पतालमा पुरानो स्टक औषधि सकिएको छ भने नयाँ खरिद गर्न बजेट छैन ।

दुर्गम गाउँका स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले उपचारपाउन नसकेको बारेकोट ८, का रामचन्द्र उपाध्यायले बताए । ‘भाइरल प्रभावित बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजादा न औषधि पाइन्छ, नत स्वास्थ्यकर्मी फेला पर्छन्,’ उनले भने, ‘गाउँ/नगरपालिकाले चालु आवका लागि औषधि खरिद प्रक्रिया अघि नबढाउँदा समस्या भएको हो ।’ उनका अनुसार बिरामी निजी मेडिकलको महँगो औषधि किन्न बाध्य छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

महाकाली तटबन्ध निर्माण ठप्प

गुरुयोजनाले पक्की तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कार्य गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो, अहिलेसम्म २ अर्ब बढी खर्च भइसक्यो
मनोज बडू

दार्चुला — महाकाली तटीय क्षेत्रमा निर्माणाधिन पक्की तटबन्धको काम वर्षातका कारण साउनयता ठप्प छ । महाकाली नदी नियन्त्रण आयोजनाले नदीको तटीय क्षेत्रमा पक्की र अस्थायी तटबन्ध निर्माण गर्दै आएको छ । 

हालसम्म आयोजनाले ८० प्रतिशतको हाराहारीमा तटबन्धको निर्माण कार्य सकिएको जनाएको छ । बाँकी क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको आयोजनाका निमित्त प्रमुख कमलसिंह महतले बताए । हालसम्म पक्की र अस्थायी गरी १५ प्याकेजमा काम सकिएको छ । गत आवबाट १६ र १७ प्याकेजमा निर्माण भइरहेको छ ।

चालु आवमा १८, १९ र २० प्याकेजमा निर्माण अगाडि बढाउने तयारी भइरहेको महतले जानकारी दिए । साउनयता नदीमा पानीको सतह बढेको र वर्षाले पनि काम गर्न अप्ठ्यारो हुने गर्छ । बर्खामा थोरै मात्र काम हुने र केहि ठाउँमा तटबन्धको जगसमेत खन्न बाँकी रहेकोले साउन भदौमा निर्माण प्रभावित हुने गरेको हो । भदौबाट चाडपर्व सुरु हुने र बर्खामा काम गर्न नसकिने हुनाले ठेकेदारहरूले कामदारलाई घर पठाएकाले साउनबाट काम रोकिएको आयोजनाले जनाएको छ ।

तटबन्धमा धेरैजसो जिल्लाबाहिरका कामदार छन् । काम रोकिएपछि घर गएका कामदारहरू दसैंपछि मात्र आउने हुनाले त्यसपछि मात्र काम सुरु हुने आयोजनाका कर्मचारीहरू बताउँछन् । ‘वर्षातमा काम गरे ठेकेदारले नोक्सानी व्यवहोर्नुपर्ने हुनाले अप्ठ्यारो बाहेकको समयमा खासै काम गर्न मान्दैनन्,’ उनले भने, ‘बर्खामा टाढाबाट निर्माण सामग्री ल्याउन नसकिने र अन्य जोखिम पनि हुने भएकाले कामदारहरू काममा रुचि राख्दैनन् ।’

सदरमुकाम खलंगा आसपास क्षेत्रको जोखिमयुक्त ठाउँहरूमा भने तटबन्ध निर्माण पूरा भएको छ । चालु आवको अन्तिम महिनामा ठेक्का सम्झौता भएका प्याकेजहरूमा ठेकेदारले परिचालन रकम दिएर चाँडै काम सुरु गर्ने मौखिक सहमति भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार २० नम्बर प्याकेजको ठेक्का रद्द भई नयाँ ठेक्काको प्रक्रियामा छ ।

०७० मा महाकालीमा आएको बाढीले तहसनहस बनाएको नदी तटीय क्षेत्रमा बाढी आएकै वर्षबाट गुरुयोजना बनाएर निर्माण भइरहेको छ । ५ वर्षमा तटबन्ध निर्माण सम्पन्न गर्ने जनाए पनि सुरुमा विविध कारणले प्रगति नभएपछि तटबन्ध निर्माणको काम लम्बिएको आयोजनाले जनाएको छ ।

‘सुरुका २ वर्ष लक्ष्यअनुसार काम हुन नसके पनि त्यसपछिका वर्षमा आयोजनाले राम्रै प्रगति भएको छ,’ महतले भने, ‘सुरुमा निर्माण सामग्री अभाव र बन्द हड्तालका कारण अपेक्षाअनुसार काम हुन सकेन ।’ महाकाली नगरपालिकाको सदरमुकाम खलंगा, श्रीबगड, कलोनसहित ५ किमिमा पक्की तटबन्ध र १० किमि क्षेत्रमा पर्ने व्यास गाउँपालिकादेखि लेकम गाउँपालिकाको लालीसम्मको तटीय क्षेत्रमा अस्थायी तारजालीको तटबन्ध निर्माण कार्य भइरहेको छ ।

आयोजनाले सुरुदेखि कोर र अरु क्षेत्र गरी दुई प्रकारको तटबन्ध निर्माण भइरहेको छ । साढे ४ किमि लामो पक्की तटबन्ध ०७५ भित्र सक्ने सम्झौता भए पनि अझै ८० मिटर दूरीमा तटबन्धको जगसमेत बनाउन बाँकी रहेको महाकाली नदी नियन्त्रण कार्यालयले जनाएको छ । गुरुयोजनाअनुसार ०७५ भित्र निर्माण नसकिएपछि आयोजनाको समय बढाएर ०७८ सम्म थपेको छ ।

गुरुयोजनाले महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कार्य गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो । आयोजनाले हालसम्म २ अर्ब २ करोड खर्च गरेको छ । आयोजनाले गुणस्तरीय तटबन्ध बनेकाले वर्षातको समयमा सदरमुकाम क्षेत्र सुरक्षित रहने बताएका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्