कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३४ हजार घरधुरी अँध्यारोमा

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १०, जलुकेमा मधनाबाट विद्युत्लाइन तान्न पोल गाडेको ७ वर्ष पुग्यो । त्यसका लागि नगरपालिकाले ३ वर्षअघि २० पोल सहयोग गरेको थियो । काम अघि नबढेपछि ती पोल जंगलमै अलपत्र छन् । कालीमाटी गाउँपालिकाको पुतलीबजारमा पनि विद्युत् विस्तारको काम ४ वर्षदेखि अलपत्र छ । 

३४ हजार घरधुरी अँध्यारोमा

जिल्लाका ३४ हजार ७ सय २७ घरधुरी विद्युत् सुविधाबाट वञ्चित छन् । ४६ हजार ९ सय ३ घरधुरी रहेको सल्यानमा अहिलेसम्म १२ हजार १ सय ७४ घरमा मात्र बिजुली बलेको जिससले जनाएको छ । सदरमुकाम खलंगामा बिजुली पुगेको ३२ वर्ष पुग्यो । तर १० स्थानीय तहका अधिकांश गाउँमा अझै बत्ती बल्न सकेको छैन ।


योजना अलपत्र परेपछि जलुकेका ८० घरधुरी टुकीकै भरमा वर्षौंदेखि रात बिताउन बाध्य छन् । एक घण्टा माथिको मधनामा भने वर्षौदेखि बिजुली बलिरहेको छ । पुललीबजारमा विद्युत् प्राधिकरणले २०७३ देखि पोल गाड्न सुरु गरेको हो । ठेकेदार कम्पनीले सडकको काम सम्पन्न नहुँदासम्म पोल गाड्न नसक्ने अडान लिएपछि स्थानीय अँध्यारोमा रात बिताउन बाध्य छन् ।


‘वरिपरिका गाउँ झिलिमिली छन्, बिजुली नहुँदा हाम्रो गाउँ सम्साँझै सुनसान हुन्छ,’ जलुकेका भीमबहादुर विकले भने, ‘विद्युत बाल्ने वर्षौंको धोको अझै पुरा भएको छैन, यो जमानामा पनि टुकीको भरमा रात कटाउन बाध्य छौं ।’


कालीमाटी, कुमाख र दार्मा गाउँपालिकाका धेरै घरधुरी विद्युत सेवाबाट वञ्चित छन् । जिससका अनुसार सबैभन्दा धेरै शारदा नगरपालिकाका ४ हजार ८ सय घरमा बिजुली बलेको छ । कालीमाटीमा ८१, दार्मामा ७० र कुमाख गाउँपालिकाका ३० परिवारमा मात्र विद्युत् सुविधा छ । तीनवटै गाउँपालिकाका एक/एक गाउँमा मात्र बिजुली बलेका छन् ।


शारदा नगरपालिकाका ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्‍याइएको नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्र प्रमुख अर्जुन पोखरेलले बताए । उनका अनुसार शारदाको जलुके, पेदीखोला, माल्नेटा, बन्गाडकुपिण्डे नगरपालिकाको मुलखोला, बामे, निगालचुला, माझकाडा, ढोरपिपल, घाँजरीपिपललगायत गाउँमा अझै बिजुली पुग्न सकेको छैन ।


विद्युत् प्राधिकरणले यस वर्ष १४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शारदा नगरपालिका ४, ६, १४ र १५, बन्गाडकुपिण्डेको १,२ र ३ तथा दार्माको १,२ र ३ वडामा विद्युतीकरणको काम भइरहेको वितरण केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार कुमाखको १,३ र ४ तथा कपुरकोटको १,२,३,४ र ५ नम्वर वडामा विद्युत योजना निर्माण भइरहेको हो । त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले विद्युत्को विकल्पमा स्थानीयले सौर्यऊर्जा प्रयोग गर्दै आइरहेको बताए ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?