कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

गाउँ नै आलुखेतीमा 

बिप्लब महर्जन

सल्यान — बाग्चौर नगरपालिकास्थित बाँफूखोलाका डिल्ली ओलीले गत वर्ष आलु बिक्री गरी ४ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष ५० क्विन्टल आलु उत्पादन गरेका उनको कमाइ १० लाख रुपैयाँ पुगेको छ ।

गाउँ नै आलुखेतीमा 

गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका उनका छिमेकी वीरसिंह ओलीको आम्दानी यो वर्ष ८ लाख रुपैयाँ पुग्यो । बर्सेनि आम्दानी बढ्दै गएपछि उनीहरूले क्रमशः आलु लगाउने क्षेत्रफल पनि बढाइरहेका छन् ।


आलु खेतीबाट किसानले आम्दानी मात्र बढाएका छैनन्, अहिले पुरै गाउँ व्यावसायिक आलु खेतीमा छ । बाफूखोलाका किसानले परम्परागत अन्नबाली लगाउन छोडेको वर्षौं बितेको छ । करिब हजार घरधुरी रहेको गाउँका ८० प्रतिशत घरधुरीले आलुखेती गरिरहेका छन् । व्यापार, जागिर र रोजगारीका लागि बाहिर रहेका परिवारले मात्र आलु खेती गर्दैनन् ।


आलुखेतीबाट आएको रकमले किसानको घरखर्च मात्र चलेको छैन, स्थानीयले छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् । आलुबाट भएको कमाइले सदरमुकाम खलंगा, दाङ, नेपालगन्जलगायत स्थानमा घरघडेरी जोड्न कृषक सफल भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार बाफूखोलामा मात्रै २ हजार रोपनीमा आलु खेती भइरहेको छ । केन्द्रका अनुसार गाउँबाट यस वर्ष १५ करोड रुपैयाँको आलु बाहिर गएको छ ।


विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जाने किसान अहिले आलुखेतीमा रमाइरहेको स्थानीय कोमल ओलीले बताए । उनका आलु खेतीले किसानको जीवनस्तर उकासिएको छ । अधिकांश कृषकका छोराछोरी दाङ, नेपालगन्ज र काठमाडौंमा अध्ययन गरिरहेको उनले जानकारी दिए ।


‘२ दशकअघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जानुपर्थ्यो, अहिले आलुले नै सबथोक पुर्‍याएको छ,’ उनले भने, ‘घरपरिवारको वर्षभरिको खर्च धानिएको छ, छोराछोरीलाई सहरका राम्रा विद्यालयमा पढाएका छौं, घरजग्गा जोड्ने क्रम बढेको छ ।’ उनले यस वर्ष आलुबाट ७ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए । उनले आलु स्वादिलो भएकाले माग बढेको सुनाए ।


सडक पुगेपछि व्यापारीले गाउँमै आएर आलु खरिद गर्ने गरेको अर्का किसान दुर्गाबहादुर ओलीले बताए । उनका अनुसार यस वर्ष २५ रुपैयाँ प्रतिकिलो आलु गाउँबाटै बिक्री भइरहेको छ । अधिकांश किसानले आलु बिक्री गरिसकेको उनी बताउँछन् । ‘खासै दुःख पनि छैन, उत्पादन र भाउ पनि बर्सेनि बढिरहेको छ,’ उनले भने, ‘बारीबाटै उठाएर व्यापारीले यहाँको जिल्लाबाहिर लैजाने गरेका छन् ।’ उनले केही एक दशक अघिसम्म अन्न र आलु साटेर व्यापार गरिएको सम्झिए ।


आलु उत्पादनबाट गाउँमा बर्सेनि १० देखि १५ करोड रुपैयाँ भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको स्थानीय दीपक ओलीले बताए । ‘गाउँका सबैजसो घर आलु उत्पादनमा लागेका छौं, अर्ग्यानिक आलु भएकाले देशका ठूला सहरमा समेत यहाँको आलुको माग बढेको छ,’ उनले भने, ‘तर गाउँमा व्यवस्थित कोल्ड स्टोर नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनले घरमा भण्डारण गर्दा कुहिने समस्या भएकाले बारीबाटै आलु बिक्री गर्नुपरेको बताए ।


राजनीतिक पहुँच नहुँदा कोल्ड स्टोरका लागि सरकारले बजेटको व्यवस्था नगरेको उनको गुनासो छ । २०६८ मा नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री हुँदा व्यवस्थित कोल्ड स्टोर बनाउन रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले जनप्रतिनिधिले पनि बेवास्ता गरेको उनको आरोप छ ।


आलु उत्पादनलाई व्यवस्थित बनाउन किसानलाई अनुदानमा उपकरण र अन्य सामग्री सहयोग गर्दै आइरहेको बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले बताए । ‘बाफूखोलाको आलुको बजारीकरण र भण्डारणलाई प्रभावकारी बनाउन योजना निर्माणको काम गरिरहेका छौं,’ उनले भने, ‘प्रदेश र संघीय सरकारसँग समन्वय गरी बाफूखोला आसपासको क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्ने नगरपालिकाको योजना छ, व्यवस्थित कोल्ड स्टोरका लागि माथिल्लो तहका सरकारसँग माग गरेका छौं ।’ उनले बाफूखोला सडकमा बाह्रैमहिना सवारी साधन चलाउन यस वर्षदेखि स्तरोन्नतिको काम सुरु गरिने जानकारी दिए ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?