कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुईपांग्रे सवारीकै भर

ठूलीभेरी नदीमा पुल नबनेपछि हिउँदमा सवारीसाधन गन्तव्यमा पुग्दैनन् भने वर्षामा बढ्ने अरु साना खोलाका कारण गाडी गुड्दैनन् 
हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ९, राडीमा रहेको नगरपालिकाको केन्द्रबाट वडा ६ को त्रिवेणीसम्मको दूरी ४२ किमि छ । डोल्पा–जाजरकोट सडकमार्फत सर्वसाधारण नगरपालिकाको केन्द्र र गाउँ आउजाउ गर्छन् ।

दुईपांग्रे सवारीकै भर

जाजरकोट–डोल्पा सडक बाह्रैमहिना चल्छ, तर अपूरो । हिउँद र वर्षा दुवै समय राडीबाट त्रिवेणी चारपांग्रे गाडी पुग्दैनन् । अहिले मोटरसाइकल हुनेहरू मात्र यात्रा गर्न पाउँछन् । नहुनेले पैदलै हिँड्नुपर्ने बाध्यता छ ।


डोल्पा–जाजरकोट खण्ड भएर नगरपालिका ३ को केही ठाउँको साथै ४, ५ र ६ वडाका सर्वसाधारण राडी आउनुपर्छ । ‘हामी हाम्रो नगरपालिका पुग्न अत्यन्त मुस्किल छ,’ वडा ६ का अध्यक्ष चन्द्रसिंह खत्रीले भने, ‘हाम्रा लागि वर्षा लाग्यो भने यो सडक हुँदैन, घोडेटो बाटोमा परिणत हुन्छ ।’


गन्तव्यमा गाडी नपुग्ने र महँगो भाडाका कारण वर्षाभरि पैदलै यात्रा गर्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ । उक्त सडकमा हिउँदमा समेत गन्तव्यसम्म गाडी पुग्दैनन् । ठूलीभेरी नदीमा पुल नबनेपछि हिउँदमा गाडी गन्तव्यमा पुग्दैनन् भने वर्षामा बढ्ने अरु साना खोलाका कारणले गाडी गुड्दैनन् । सडक बने पनि पुल नबन्दा दुःख पाउने आठबीसकोट नगरपालिकाका ४ वडाका सर्वसाधारण मात्रै भने होइनन जाजरकोटको नलगाड नगरपालिका र डोल्पा जाने आउनेले पनि ठूलो दुःख पाउँदै आएका छन् ।


राडी पुग्दा वा राडीबाट माथितिर लाग्दा नै ठूलो समस्या छ । राडीबाट जाजरकोटको बगरा पुग्न झोलुंगे पुल मात्रै छ । त्यसैले राडीबाट सीधै त्रिवेणीसम्म चारपांग्रे चल्दैनन् । चारपांग्रे चढ्न जाजरकोट नगलगाड नगरपालिकाको बगरा पुग्नुपर्छ । राडी र बगरा जोड्न ठूलीभेरी नदीमाथि पुल नबन्दा सर्वसाधारणले समस्या व्यहोरिरहेका छन् ।


वर्षामा राडी र बगराबीचको झोलुंगे पुल, जाजरकोट नलगाड नगरपालिकाको तातरीगाड र चौखेबजार नजिकको खोलाले चार पांग्रेगुड्न दिँदैनन् । त्यसपछि जाजरकोटको नलगाड नगरपालिकाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको छोटेबगर पुग्दा अर्को झोलुंगे पुल तर्नुपर्छ । त्यहाँ पनि पुल नबन्दा ठूलो समस्या छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ नम्वर वडाको रिजिगाड र दामाचौरको खोला पनि चारपांग्रेले तर्न सक्दैनन् । यसले गर्दा स्थानीयले समस्या व्यहोरिरहेका छन् । हिउँदमा जसोतसो चल्ने डोल्पा–जाजरकोट सडकमा वर्षा लागेपछि थप समस्या हुन्छ ।


‘नजिकै दूरीमा गाडी चढ्दा पनि महंगो भाडा पर्छ, दुईपांग्रे सबैले चढ्नसक्ने कुरा भएन,’ छिमी गाउँका मोती रोकायले भने, ‘त्यसैले वर्षामा सडक भए पनि नभएजस्तै हुन्छ ।’ ठाउँठाउँमा गाडी फेर्दै हिड्दा भाडा महंगो पर्न जाने उनको गुनासो छ । उनका अनुसार झण्डै १८ देखि २० किमि यात्रा गर्दा एक हजार एक सय भाडा तिर्नुपर्छ । उनले चार वटा गाडी नफेरि घर नपुगिने जनाए । दुईपांग्रे चढ्नेले धकेल्दै यात्रा गरिरहेको उनले सुनाए ।


स्थानीयका अनुसार ६ वटा झोलुंगे पुल तरेर मात्र मोटरसाइकलमा यात्रा गर्न सकिन्छ । झोलुंगे पुलमा पनि जोखिमका साथ यात्रा गर्नुपर्ने अवस्था रहेको आठबीसकोट नगरपालिका–११, का प्रेमबहादुर पुनले बताए ।


डोल्पालाई मुख्य सडकमा जोड्ने महत्वपूर्ण सडक भए पनि आवश्यक पुल नबन्दा समस्या भएको आठबीसकोट नगर प्रमुख गोर्खबहादुर केसीले बताए । पुल निर्माणका लागि सम्बन्धित सबै निकायमा आग्रह गरिए पनि त्यसको खास सुनुवाइ नभएको उनको गुनासो छ ।


‘यो सडकसँग दुर्गमका धेरै सर्वसाधारणको दैनिकी जोडिएको छ, यसलाई निरन्तरता दिन ठूलीभेरी र अन्य खोलामा पुल बन्नैपर्छ,’ नगरप्रमुख केसीले भने, ‘त्यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ ।’ आठबीसकोट नगरपालिकाको चिसापानी र नलगाड नगरपालिका जोड्ने पुल बनेपनि आठबीसकोट नगरपालिकाका सबैलाई त्यसले नसमेट्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?