कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कनकासुन्दरीको नाम परिवर्तन तयारी

जुम्ला — सिंजाको पहिचान जोगाउन भन्दै कनकासुन्दरी गाउँपालिकाले नाम परिवर्तनका लागि पहल सुरु गरेको छ । कनकासुन्दरीले समग्र सिंजाको इतिहास झल्काउन नसक्ने भन्दै खस हाटसिंजा गाउँपालिका नामाकरण गर्न पहल थालिएको हो । 

कनकासुन्दरीले एक बर्ष पहिले गाउँपालिकाको नाम परिवर्तन गर्न आवश्यक प्रक्रियाको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गरेको थियो । गाउँपालिका अध्यक्ष नरवीर रावतले नाम परिवर्तनपछि बास्तविक सिंजाको पहिचान बचाउन सकिने बताए ।


‘सिंजामा सबैको ध्यान केन्द्रित गर्न पनि नाम परिवर्तन आवश्यक ठान्यौं,’ उनले भने, ‘कनकासुन्दरीको नामले सिंजालाई कुनै फाइदा गरेन, केबल धार्मिक क्षेत्रको मात्र पहिचान बोल्यो ।’ उनले नामले पहिचान जनाउने भएकाले परिवर्तनपछि सिंजाको अस्थित्व जोगाउन केही सहयोग पुग्ने जनाए ।


गाउँसभामार्फत निर्णय गरेर नाम परिवर्तनका विषयमा औपचारिक प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । नामका परिवर्तन गर्ने प्रक्रियाबारे प्रदेश सरकारले ढिलासुस्ती गरेको जनप्रतिनिधिको गुनासो छ । पहिले बास्तविक सिंजालाई कनकासुन्दरी, बीचको क्षेत्रलाई सिंजा र तल्लो क्षेत्रलाई हिमा नामाकरण गरिएको उनीहरू बताउँछन् ।


स्थानीय तह प्रस्ताव गर्ने समयमा तल्लो सिंजा, मध्य सिंजा र माथिल्लो सिंजा नामाकरण गर्न स्थानीयले माग गरेका थिए । ‘अहिले सिंजा नाम राखेकै कारण आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आयो, जसले सिंजा राज्यको अवशेष मेटिन थालेको महसुस भयो,’ अध्यक्ष रावतले भने, ‘अस्तित्व बचाउनकै लागि भए पनि खस हाटसिंजा नाम राख्नेगरी पहल थालेका हौं ।’ उनले नामकै कारण नेपाली भाषाको उद्गमस्थल, खस भाषाको क्षेत्र र सांस्कृतिक तथा ऐतिहासिक ठाउँ पछि परेको जनाए ।


कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गरी खस हांटसिजा नामाकरण गर्न नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ । खस हाटसिंजा नामाकरण हुनेबित्तिकै धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बढेर जाने स्थानीयको अपेक्षा छ ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?