कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाडा घटाएर क्षमता बढी यात्रु

विष्णुलाल बुढा

डोल्पा — जिल्लाका विभिन्न सडकमा सञ्चालन हुँदै आएका जिपमा क्षमताभन्दा बढी यात्रु राख्न थालेपछि स्थानीयले सास्ती भोग्दै आइरहेका छन् । व्यवसायीले ५ जनाको सिटमा ९ जनासम्म यात्रु राख्न थालेपछि दुर्घटनाको जोखिमसमेत बढेको छ ।

दुनै–जुफाल, दुनै–सुपानी, छलगाड–खदाङलगायत सडकमा सञ्चालन हुने जिपमा क्षमताभन्दा बढी यात्रु राख्न थालिएको हो । गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा यातायात व्यवसायी भाडा घटाउन सहमत भएका थिए । तर घाटा हुने भन्दै व्यवसायीले जिपमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेका हुन् । यसअघि यी रुटमा ५ सय रुपैयाँ भाडा लिने गरिएको थियो । सर्बपक्षीय बैठकले भाडादर ३ सय रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो ।


स्थानीय प्रशासनका अनुसार थप ४ यात्रुको बिमास्वरुप यातायात व्यवसायीले ५० हजार रुपैयाँ यातायात व्यवस्थापन समितिमा जम्मा गर्ने सहमति गरेपछि क्षमताभन्दा बढी यात्रु बोक्न दिने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले यातायात व्यवसायी भाडा घटाउन सहमत भएको बताए ।


उनका अनुसार दुनैदेखि रुपगाडसम्म १ सय, रुपगाडदेखि जुफालसम्म र रुपगाडदेखि सुपानिसम्म २ सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ । उनले छलगाडदेखि खदाङसम्म ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको जानकारी दिए । ‘थप यात्रुको बिमा व्यवस्थापन गर्ने सहमतिपछि क्षमताभन्दा बढी यात्रु राख्नदिने निर्णय गरिएको छ,’ उनले भने, ‘भाडा कम गरिएपछि व्यवसायीको व्यवहारिकता हेरेका हौ ।’


ढुवानी समस्याले मूल्यवृद्धि

वर्षा सुरु भएसँगै जाजरकोट–डोल्पा खण्डमा यातायातका साधन सञ्चालन हुन समस्या भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरिएको छ । ढुवानी समस्याका कारण उपभोग्य सामग्रीको मूल्य बढेको व्यवसायीले जनाएका छन् ।

नेपालगन्जदेखि डोल्पासम्म सामान ढुवानी गर्दा विभिन्न खोलामा पल्टी गर्नुपर्ने भएपछि ढुवानीमा समस्या भएको हो । सडकमा पर्ने विभिन्न खोलामा पुल नहुँदा व्यवसायीले मजदुरमार्फत पल्टी गर्दै सामान ढुवानी गर्दै आइरहेका छन् । वर्षा सुरु भएपछि ढुवानीमा थप समस्या भएको उनीहरूको गुनासो छ ।


सडकमा पहिरो खसेका कारण सामान ढुवानी गर्न थप समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले बताए । ‘वर्षा सुरु नहुँदै पनि खोलामा पुल नहुँदा मजदुर लगाएर सामान वारपार गराउने गरिएको थियो,’ उनले भने, ‘वर्षाका कारण ठाउँठाउँमा बाटो बिग्रदा र पहिरो जाँदा थप स्थानमा पल्टी गरी सामान ढुवानी गर्नुपर्ने समस्या छ ।’ उनले वर्षा सकिएसँगै ढुवानी केही सहज भएपछि बजारभाउ घट्ने जानकारी दिए ।


यसअघि तल्लुबगर, खदाङ, छलगाड र त्रिपुराकोटमा पल्टी गरी सामान ढुवानी गर्ने गरिएको थियो । अहिले राडि, चौका, दामाचौर, करपगाड, तल्लु, खदाङ, छलगाड, त्रिपुराकोट, रुपगाडलगायत ९ स्थानमा पल्टी गर्ने गरिएको अध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार उपभोग्य सामग्रीको मूल्य २५ प्रतिशतसम्मले वृद्धि भएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?