गर्भवतीको ज्यान जोखिममा

कान्तिपुर संवाददाता

कालीकोट — रास्कोट १, लहरेलाकी २० वर्षीया सुनकेशा शाही गत भदौ २६ गते अनमी संगिता शाहीको सल्लाहमा सुत्केरी हुन सिप्खाना स्वास्थ्यचौकी पुगिन् । स्वास्थ्यकर्मीले दिएको मिति पछ्याउन गएकी उनी व्यथा नलागेपछि घर फर्किइन् ।

२९ गते उनलाई सुत्केरी ब्यथाले च्याप्यो । ४ दिनसम्म स्वास्थ्यचौकीमै बस्दा पनि बच्चा नजन्मिएर साल पहिले निस्किएपछि उनलाई जिल्ला अस्पताल रिफर गरियो । जिल्ला अस्पताल, मान्ममा उनीसहित त्यही राति ओदानकुबाट ल्याइएकी बसना शाही सिंहको पनि शल्यक्रियाबाट गरियो ।

यी दुई पछिल्ला उदाहरण मात्र हन् । गाउँका प्रसूति गृहमा उपकरण र दक्ष स्वास्थ्यकर्मी नहुँदा उनीहरू जस्तै गर्भवती महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । सिप्खाना चौकीले रिफर गरेकी सुनकेशालाई राति ११ बजे जिल्ला अस्पताल पुर्‍याइदा अवस्था जटिल भइसकेको थियो ।

मान्ममा भिडियो एक्सरे गर्दा बच्चा उल्टो भएको र साल पनि पहिले निस्किएको पहिचान भयो । ‘गाउँमा भिडियो एक्सरे भएको भए त्यही समस्या पहिचान गरेर छिटो समाधान खोजिन्थ्यो,’ जिल्ला अस्पताल प्रमुख डा. भिष्मप्रसाद पोखरेलले भने, ‘समस्या पहिचान गर्नै कठिन हुन्छ, भए पनि समयमा अस्पताल रिफर गरिँदैन ।’

कतिपय आमाले बाटौमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जिल्लामा ३१ स्थानमा प्रसूति गृह छन् । तर प्रसूति गृहले आवश्यक उपकरणको अभावमा प्रभावकारी सेवा दिन सकेका छैनन् । जसका कारण गर्भवती र सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ । साविक ३० गाविसमा १/१ र ओदानकुमा ओदा फाउडेसनले सञ्चालन गरेका प्रसूति गृह सञ्चालनमा छन् । मान्मबाहेक कुनै पनि स्वास्थ्य संस्थामा भिडियो एक्सरे छैन ।

गर्भ ८ महिनाको पुगेपछि बच्चाको अवस्थाबारे जानकारी लिन भिडियो एक्सरे गर्नुपर्ने भए पनि एक्सरे नहुँदा आवश्यक जानकारी दिन कठिनाइ भएको निमित्त स्वास्थ्य प्रमुख कटकवहादुर महतले बताए । उनका अनुसार ग्रामीण स्वास्थ्य संस्थामा अन्य उपकरण भए पनि एक्सरे मेसिन छैनन् ।

गतवर्ष सामाजिक विकास मन्त्रालयबाट जिल्ला स्वास्थ्यमार्फत १५ स्वास्थ्य संस्थामा प्रसूति गृहका लागि डेलिभरी बेडलगायत सामान सहयोग गरिएको थियो । जिल्ला अस्पतालका लागि २ एम्बुलेन्स ल्याउने तयारी अन्तिम अवस्थामा पुगे पनि अझै कालीकोट पुगेको छैन ।

जिल्लाका ५ स्वास्थ्य संस्थामा वर्षौदेखि सुरक्षित प्रसूति गराउने अनमीसमेत छैनन् । भवन निर्माणको क्रममा रहेकाले जिल्ला अस्पतालमा उपचार गर्ने ठाउँको पनि अभाव छ । चालु आर्थिक वर्षमा मात्र ५७ वटा स्वास्थ्य इकाइको भवन बनाउन स्थानीय तहले ठेक्का आहवान गरेर निर्माणको काम सुरु गरेको जिल्ला इन्जिनियर चक्रबहादुर शाहीले बताए ।

चेतनाको कमी, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिनु, भेटिए पनि राम्रोसँग चेकजाँच नगरेरै पठाउनु, ४ पटक गर्भ जाँच गर्न नजानुलगायत कारण गर्भवती महिलाको ज्यान जोखिममा पर्ने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी दिपवहादुर रावलले बताए ।

उनका अनुसार ढिलोगरी प्रसूति सेवा लिन स्वास्थ्य संस्था जानु, समयमै विरामी रेफर नहुनु, स्वास्थ्य संस्थामा लैजान ढिलाइ गर्नुलगायत कारण पनि ज्यान जोगाउन मुस्किल भएको हो । सुरक्षित प्रसूति सेवा नपाउँदा अन्तिम अवस्थामा अस्पताल जाने क्रममा गत वर्ष ६ र यस वर्ष २ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य संस्था जान ढिलाइ गर्दा एक साताअघि नरहरिनाथ ४, रुप्साकी ३० वर्षीया देवी सहकारी र असारमा माल्कोटकी २० वर्षीया युवती मीना शाहीको मृत्यु भएको थियो । दुबै जनाको जिल्ला अस्पताल मान्मले रिफर गरेर गाडीमा जिल्लाबाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बिकेन खाद्यको चामल

कान्तिपुर संवाददाता

जाजरकोट — नेपाल खाद्य संस्थानको डिपो (बिक्री केन्द्र) गाउँभन्दा टाढा हुँदा चामल बिक्रीमा समस्या भइरहेको छ । संस्थानको घाट, घोगी र चौखा डिपोमा चामल बिक्री हुन नसकेको हो । 

स्थानीय भने बजारबाट महंगो चामल किनेर गुजारा चलाउन वाध्य छन् । स्थानीयलाई संस्थानको डिपोमा पाइने अनुदान चामल लिन दिनभर हिड्नुपर्ने बाध्यता छ । बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दा घाट डिपो पुगेर चामल ल्याउन दिनभर हिड्नुपर्ने बाध्यता छ ।

त्यस्तै पैराम, गर्खाकोट, वुँदीडाडा, स्याङ्ग्रीलगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तिमा ७ घण्टा लाग्छ । ध्यारगाउँ, वानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन १ दिन लाग्ने गरेको स्थानीयको गुनासो छ ।

घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिड्नुपर्ने बाध्यताले बजारको महंगो चामल किनेर गुजारा चलाउन वाध्य भएको बारेकोट गाउँपालिका ४, कम्दका खड्ग रावतले बताए । उनका अनुसार स्थानीय बजारमा मोटो चामल प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको छ । खाद्य संस्थानले अरुवा मध्यम चामल प्रतिकिलो ४५ रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

स्थानीय बासिन्दा किन्न नआउँदा संस्थानका डिपोमा चामल मौजदात रहेको हो । चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा ५ सय, घाट डिपोमा ३ सय र चौखा डिपोमा १ हजार ७ सय क्विन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ ।

त्यस्तै खलंगास्थित गोदाममा १ हजार ७ सय क्विन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो ।

नायकबाडाका भक्तबहादुर बस्नेतले अनुदानको चामल र स्थानीय बजारमा पाइने विभिन्न ब्राण्डका चामलको मूल्य एउटै हुँदा पनि संस्थानको चामल नबिकेको बताए । जाजरकोटमा संस्थानका ४ डिपो छन् । संस्थानले दशेरा र घोगी डिपोका लागि नेपालगन्जबाट टेण्डर गरेर चामल ढुवानी गर्छ भने घाट र चौकाका लागि खलंगाबाट ढुवानी हुने गरेको छ ।

खलंगा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयबासी फाट्टफुट्ट आउने गरेको निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए । गत आर्थिक बर्षमा १० हजार क्विन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ । जसमध्ये करिव ५ हजार क्विन्टल बिक्री हुन बाँकी रहेको उनले उनले जानकारी दिए । ‘दशेरा डिपोमा भने चामल मौज्दात छैन्,’ उनले भने, ‘दुर्गम क्षेत्रमा वर्सेनि असार र साउन महिनामा खाद्यान्नको माग बढी हुने गरेको छ, तर असार महिनामा ढुवानी नभएका कारण बिक्री कम भएको हो ।’

प्रकाशित : भाद्र ७, २०७६ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×