कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाम नलाग्दा टेलिफोन अवरुद्ध

सल्यान — यहाँको टेलिफोन सेवा घामछायामै निर्भर छ । घाम लागेका बेला नेटवर्कले काम गर्छ भने नलाग्दा गर्दैन । बन्गाडकुपिण्डे नगरपालिका ४, तारुपहरे डाँडामा जडान गरिएको स्काई मोबाइलको टावरमा खराबी आएपछि घाम लागेका बेला मात्र नेटवर्क छाडिने गरिएको हो ।

टावर जडान गरेको ६ महिनामै सौर्यऊर्जाको ब्याट्रीमा खराबी आएपछि स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका हुन् ।


टावरमा आएको आएको खराबीले बन्गाडकुपिण्डे, कुमाख गाउँपालिका र सुर्खेतको सिम्ताका बासिन्दालाई सास्ती भएको हो । टावरबाट दैनिक १० घण्टा मात्र नेटवर्क छाड्ने गरिएको नेपाल टेलिकमले जनाएको छ । १० वर्षअघि तारुपहरेमा स्काई टावर राखिएको हो ।


गाउँमा विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र टेलिफोन नेटवर्क रहने स्थानीय धनबहादुर घर्तीले बताए । उनका अनुसार तारुपहरेमा राखिएको टावरले काम गर्न छाडेपछि फोन गर्न घरबाट आधा घण्टा टाढाको डाँडामा जानुपर्ने बाध्यता छ । ‘बिग्रिएको ब्याट्री फेर्न र टावर मर्मत गर्न बारम्बार आग्रह गरिरहेका छौं, तर बेवास्ता भइरहेको छ,’ उनले भने, ‘जरुरी काम पर्दा नेटवर्क हुँदैन, अरु बेला भएर के काम ?’


स्थानीयका अनुसार २०६६ सालमा तारुपरेमा टावर जडान गरिएको हो । टावरमा ६५ वाटका ३६ सोलार सेट राखिएको छ । स्थानीय पूर्णबहादुर खडकाले अन्य प्रविधिको मोबाइलले समेत राम्ररी काम नगर्दा सास्ती भोग्नुपरेको बताए । ‘कुरा गर्दागर्दै नेटवर्क काटिन्छ,’ उनले भने, ‘कहिलेकाहीं हप्ताैंसम्म नेटवर्क नै आउँदैन ।’ उनका अनुसार नेटवर्क बन्द भइराख्ने समस्याका कारण अधिकांशले स्काई प्रविधिको फोन प्रयोग गर्न छाडेका छन् । टावर जडानका क्रममा ठेकेदार कम्पनीले गुणस्तरहीन सोलार ब्याट्री राखेकाले ६ महिनामै बिग्रिएको उनको आरोप छ ।


देवस्थलको रातोडाँडामा नेपाल टेलिकमले जडान गर्न थालेको जिएसएम प्रविधिको टावर ठेकेदारको लापरबाहीले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका हुन् । सौर्य ब्याट्रीले बिहान ८ देखि साँझ ६ बजेसम्म मात्र काम गर्ने भएकाले रातिमा नेटवर्क नछाडिएको टावरको रेखदेख गर्दै आएका शेरबहादुर पुनले बताए ।


‘वर्षा र हिउँदको समयमा ब्याट्री चार्ज नै हुँदैन,’ उनले भने, ‘घाम लागेका बेला भएको चार्जले जति धान्छ त्यति समयसम्म नेटवर्क छाड्ने गरिएको छ ।’ बन्गाडकुपिण्डे नगरपालिका ५, लाटुगैरे, माझकाँडा र सुर्खेतको सिम्ता गाउँपालिकाको काप्रिचौरमा टावर जडान गरे पनि विद्युत नहुँदा समस्या भएको टेलिकमले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?