कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकपक्षीय समाचार प्रशारण भएको भन्दै गाउँपालिकाको रेडियोमा तोडफोड

कान्तिपुर संवाददाता

कालीकोट — पलाता गाउँपालिकाले सञ्चालन गरेको सामुदायिक रेडियो पलाता एफएममा शनिबार राति तोडफोड भएको छ । एकपक्षीय समाचार र अन्तर्वार्ता प्रशारण गरेको भन्दै स्थानीय जगदीश पूर्वेले मदिरा सेवन गरी रेडियो तोडफोड गरेका हुन् ।

मदिरा सेवन गरी रेडियोका कर्मचारीलाई गाली गर्दै स्टुडियोमा पसेका पूर्वेले मिक्चर, माइक, सीपीयूलगायत समाग्री तोडफोड गरेको गाउँपालिकाले जनाएको छ । तोडफोडपछि विभिन्न सामग्रीमा क्षति पुगेको निमित्त प्रशासकीय अधिकृत राजबहादुर बमले बताए ।

शिक्षा, चेतना र सूचना पहुँचको अभाव रहेको पलातामा सञ्चालन गरिएको रेडियोमा आक्रमण गर्नु निन्दनीय रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले घटनामा संलग्नमाथि कारबाहीको माग गरेका छन् । उनका अनुसार रेडियोको कार्यालयमा समेत तोडफोडबाट क्षति पुगेको छ ।

गाउँपालिकाले गत वैशाखदेखि रेडियो सञ्चालनमा ल्याएको हो । तोडफोडमा संलग्न पूर्वेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तोडफोड गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बिगोसहित मुद्दा दायर गरेको रेडियो सञ्चालक समिति अध्यक्ष भरतराज विष्टले जानकारी दिए ।

यसैबीच, नेपाल पत्रकार महासंघ कालीकोट शाखाले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । त्यस्तै, कालीकोटका सामुदायिक रेडियोले पनि विज्ञप्तिमार्फत तोडफोडमा संलग्नलाई कारबाही गर्दै सञ्चार माध्यम र सञ्चारकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित : श्रावण १९, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?