डढेलोले १२ हजार हेक्टर वन जल्यो

बिप्लब महर्जन

सल्यान — १० स्थानीयतहका बिभिन्न ठाँउका २२ सामुदायिक वनमा लागेको डढेलोका कारण १२ हजार हेक्टर सामुदायिक तथा राष्ट्रिय वन जलेर नष्ट भएको छ । डढेलोका कारण वनमा रहेका सयौं साना बोटबिरुवा समेत नष्ट भएका छन् । 

शारदा नगरपालिका ११ नजिकैको सल्लेरी वनमा लागेको डढेलो । तस्बिरः बिप्लब महर्जन/कान्तिपुर 

डढेलोका कारण सामुदायिक बनमा राखेको खोटो ,दाउरा, जडिबुटी नष्ट हुँदा लाखौको क्षति भएको छ । डढेलोका कारण २२ सामुदायिक वनमा तीन सय देखि आठ सय हेक्टरसम्म वन जलेर पूर्णरुपमा क्षति भएको डिभिजन वन कार्यालय प्रमुख थीरबहादुर कार्कीले बताए ।

डढेलोका कारण छत्रेश्वरीको रामकाँडा, कपुरकोटको मुलपानी र कालीमाटी गाउँपालिकाको लक्ष्मीपुरमा दर्जन घर जलेर नष्ट भएको र डढेलो निभाउने क्रममा तीनजनाले ज्यान गुमाएको उनले जानकारी गराए ।

उनका अनुसार छत्रेश्वरी गाउँपालिका ६ तुसारे सिमपानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा जलेर स्थानीय ६५ वर्षकी पेन्टी बोहरा, ४२ का खगेन्द्र बोहरा र शानपा ९ दुबेरीचौरमा वर्ष ६३ का गोबर्धन पुनको मृत्यु भएको थियो ।

जंगलमा लागेको डढेलोका कारण दर्जनबढी घर जोखिममा परेका थिए । एक महिना अघिदेखि लागेको डढेलो अहिले पनि ठाँउठाँउका सामुदायिक वनमा लागिरहेको उनले जानकारी गराए ।

डढेलो नलगाउन स्थानीय सामुदायिक वनका उपभोक्तालाई सचेत गराउँदै आएको र डढेलो लागेमा निभाउने औजार उपलब्ध गराए पनि कसैले चासो नदिएको उनले बताए । बस्ती नजिकै भएको ठाँउबाट खवर आएमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वनका कर्मचारी गएर निभाउने गरेको उनले जानकारी गराए । शारदा नगरपालिका १५ माल्नेटामा डढेलोका कारण दुर्लभ मानिने जंगली जनावर रतुवा मरेको छ ।

डढेलोले गर्दा सल्लाको खोटो उत्पादनमा कमी आउने डिभिजन वन अधिकृत कार्कीले जानकारी गराए । भौगोलिक विकटताका कारण धेरै ठाँउमा लागेको डढेलो निभाउन कठिनाई भएको छ । वनमा डढेलो लगाए पानीले बगाई ल्याएको खरानी खेतमा परे मल हुने, बस्तुभाउँका लागि घासपात छिटो पलाउने र हिडेर आउजाउमा सजिलो हुने भन्दै स्थानीयले नै डढेलो लगाउँदै आएको उनको भनाई छ । ‘हामीले रेडियोमार्फत बारम्बार जनचेतना फैलाउन सामुदायिक वनमा गएर उपभोक्तालाई तालिम दिदै आएको छौ’ उनले भने ‘उपझोक्ताले ब्यत्तिगत स्वार्थका कारण डढेलो लगाउन छाडेका छैनन् । यसले गर्दा ठूलो असर परेको छ ।’

जिल्लाका बिभिन्न ठाँउमा गएर वनमा डढेलो लागे तथा घर आगलागी भएमा कसरी निभाउने भन्ने बारे एक महिनायता बिभिन्न ठाँउमा गएर नमुना प्रदर्शन गरी स्थानीयलाई जानकारी गराउँदै आए पनि चासो नदेखाएको सशस्त्र प्रहरी कार्यालय सल्यानका प्रनाउ विमल डाँगीले बताए । जंगलमा डढेलो लगाउँदै आएको क्रममा दुई जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएको उनले जानकारी गराए । ‘एक ठाँउमा गएर निभायो अर्को ठाँउमा लगाउने गरेकाले हिजोआज बस्ती बाहेक टाढा भए र बस्तीलाई असर नपर्ने देखिएमा जान छाडेका छौ’ उनले भने ।

एक महिना अघि देखि बिभिन्न ठाँउमा लागेको डढेलो निभाउँदै आए पनि अझै केही ठाँउमा लागिरहेको उनले जानकारी गराए । सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोले वातावरण प्रदुषित बनाएको उनको भनाई छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

धौवादीको फलामखानी चाँडै सञ्चालनमा : मन्त्री यादव 

नारायण शर्मा

नवलपरासी — नेपालकै ठूलो धौवादी फलाम खानीकाे उद्योग मन्त्री मात्रिका यादव स्थलगत निरीक्षण गरेका छन् ।  सरकारले राष्ट्र्रपतिमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उच्च प्राथामिकतामा राखेको धौवादीको फलाम खानीमा उद्योगमन्त्रीले खानी विभागका उच्चपदस्थ कर्मचारीसहित स्थलगत निरीक्षण गरेका हुन् । 

त्यहाँको फलाम खानीबाट फलाम निकाल्ने उद्योग खोल्नकालागि सरकारले उद्योगको मोडालिटीमा काम सुरु गरेको यादवले जानकारी दिए।

खानी तथा भूगर्भ विभागका विज्ञ नारायण बास्कोटाको नेतृत्वमा ५ जना विज्ञहरुको समूह फलामखानीमा खटिएको छ।निरीक्षणपछि बोल्दै मन्त्रीले यो खानीबाट व्यवसायिक उत्पादन थाल्न सरकार प्रतिबद्ध रहेकाले चाँडै कारखाना खोल्ने लगायतका सबै उपाय अबलम्बन गरिरहेको जानकारी दिए।

उनले सरकारी र निजी क्षेत्रको सहकार्यमा फलाम निकाल्ने पछिल्लो प्रविधिको प्रयोग गरिने उनले बताए।
पूर्वी नवलपरासीको कावासोतीदेखि उत्तरतर्फको हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलामखानी (फालमको मात्रा धेरै रहेको पहाड) रहेको छ।

यहाँको फलामबाट स्पोन्स आइरन निकाल्न सकिने प्रारम्भिक अनुसन्धानले देखिएको छ। मिनरल प्रोसेसिङ गरेर फालम निकाल्न सकिने देखिएको प्राविधिकको भनाई छ। त्यहाँ खटिएका विज्ञहरुको टोलीले थप ५ हजार किलो फलामको सेम्पलिङ्ग निकालेर चिनियाँ प्रयोगशालामा पठाउने काम थालेको छ।

यहाँ निकालिने फलामबाट स्टिल बनाउन नसकिने र फलामका डण्डी बनाउन सकिने देखिएको छ। त्यस बाहेक सिमेन्ट कारखानाहरुलाई आवश्यक पर्ने फलाम यसैबाट पूर्ति हुने प्राविधिकको भनाई छ।

महेन्द्ररामार्गको कावासेतीबाट २५ किलोमिटर उत्तरमा फलामको मात्रा बढी रहेको पहाड भेटिएको छ।यसअघिका उद्योगमन्त्री नविन्द्रराज जोशीले ३ वर्ष अघि गरेको स्थलगत निरीक्षणपछि त्यहाँ पुग्ने मोटरबाटो निमार्णको काम अघि बढाएका थिए। झयालबासबाट फालमखानीसम्म पुग्ने ९ किलोमिटरको बाटो खनिसकिएको हुप्सकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन्।

खानी तथा भूगर्भ विभागका अनुसार फटाफट काम हुन सके आउँदो ४ वर्षभित्र फलाम कारखानाबाट उत्पादन लिन सकिने छ।

ढुंगाखाानी हातपार्न बिचौलियाको दौडधुप
धौवादी फलाम खानीबाट पूर्वमा रहेको ढुंगा खानी (सडकका निमार्णकालागि राम्रो मानिएको) ठेक्का लिन यहाकाँ केही बिचौलियाहरु दौडधुपमा लागेपछि स्थानीयले पाउनुपर्ने भन्दै विरोध सुरु भएको छ।

फालम खानीसँगै पूर्वतर्फ जोडिएको ढुंगाखानी भूगर्भ विभाग र वनमन्त्रालयबाट सस्तोमा भाडामा लिन परासीका केही बिचौलियाहरुले माथिल्लो तहसम्म पहुँच बढाएका छन्।

भखैरै निमार्ण सुरु भएको नारायणगढ–बुटवल सडकमा त्यहाको ढुंगाको माग रहेकोले सस्तोमा हत्याउन राजनैतिक दलका केही ब्यक्तिले दौडधुप सुरु गरेका छन्।

स्थानीयहरु भने ढुंगाखानीलाई दल्दले धौवादी–पोखरा वा कावासोती झयालबास डेडगाउँ पोखरा सडक निर्माणमा प्रयोग गर्न उपयुक्त हुने र त्यसको आम्दानी गाउँपालिकाले प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन्।

प्रकाशित : जेष्ठ १२, २०७६ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्