जडीबुटी खेतीमा जोड

कान्तिपुर संवाददाता

डोल्पा — जिल्लामा पशुपालन, जडिबुटी र फलफूल खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्क्रालयले आयोजना गरेको कार्यत्रमका सहभागीले किसानको जीवनस्तर उकास्नेगरी बजेट विनियोजन गर्न सुझाव दिएका हुन् ।

मन्क्रालयले आगामी आर्थिक वर्षको नीति, कार्यत्रम तथा योजना तर्जुमाका लागि गोष्ठी आयोजना गरेको हो । कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर सिँचाइ र अन्य पूर्वाधार निर्माणमा केन्द्रीत हुनुपर्ने सहभागीको जोड छ ।

कार्यक्रममा अर्ग्यानिक उत्पादन बढाएर डोल्पामा पाइने चिनो, कोदो, फापर, कागुनो, आलु, सिमिलगायतबाली प्रबर्द्धन गर्न जरुरी रहेको औल्याइएको छ ।

जिल्लामा जति बजेट भित्रिए पनि सदुपयोग हुनु महत्वपूर्ण रहेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । स्थानीय तहले नीति, कार्यक्रम र बजेटलाई सही रुपमा परिचालन गर्न नसकेको उनको भनाइ छ । उनले कृषि अनुदानको सदुपयोग भए किसानको जीवनस्तरले फड्को मार्ने जनाए ।

स्थानीय तहका विकास योजनामा अनियमितता बढ्दै जानु दुर्भाग्यपूर्ण भएको जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले बताए । उनले स्थानीयका सुझाव कार्यान्वयन गरी बजेट विनियोजन गरे सही सदुपयोग हुने जनाए । ‘चीनको सीमा नाकासँग जोडिएका स्थानीय तहहरू डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डोमा जडीबुटी खेती र पशुपालनको राम्रो सम्भावना छ,’ उनले भने, ‘सन्तुलित र स्थानीयको मागका आधारमा बजेट ल्याए कृषक लाभान्वित हुने देखिन्छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जडिबुटी खेती, पशुपालन र फलफूल खेतीबाटै प्रदेश समृद्ध बनाउन खोजिएको बताइन् । ‘जनतालाई सरकार भएको अनुभूति दिलाउन किसान–सरकार हातेमालो कार्यक्रम सञ्चालन गरिनेछ,’ प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन्, ‘विशेष अनुदान प्याकेजसहित जनताको घरदैलोमा पुग्ने योजना प्रदेश सरकारको छ ।’उनले डोल्पाको पर्यटन प्रवर्द्धनका लागि समेत प्रदेश सरकार गम्भीर रहेको जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

अतिथि गृह बेवारिसे

एलपी देवकोटा

जुम्ला — सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको अतिथि गृह भवन बेवारिसे बनेको छ । जिल्लामा आउने सरकारी अतिथिका लागि निर्माण गरिएको अतिथि गृह संरक्षण अभावमा बेवारिसे बन्दै गएको हो ।

साबिक जिल्ला प्राविधिक कार्यालयले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा भवन बनेको थियो ।

टुँडिखेलनजिकै कभर्डहल बन्नुअघि निर्माण भएको वर्षौं बित्दा पनि प्रयोगमा आउन सकेको छैन । निर्माण सम्पन्न भइसकेको अतिथि गृहको स्वामित्व जिल्ला समन्वय समितिले ग्रहण नगर्दा अलपत्र परेको हो । प्रयोगविहीन भवन अहिले खुला शौचालयमा परिणत भएको छ । बाहिरबाट हेर्दा भवन आकर्षक देखिन्छ ।

तर, भित्र जाँदा दुर्गन्धले पस्नै सकिँदैन । भवनभित्रका सबै कोठामा शौच देखिने गरेको स्थानीय नन्दराम जैशी बताउँछन् । ‘भवन सबैको पहुँच र पायक पर्ने स्थानमा भएकाले अधिकांश नागरिक खुला शौच गर्न भवनभित्रै पस्ने गर्छन्,’ उनले भने, ‘संरक्षण नहुँदा सरकारी लगानी खेर गएको छ ।’

भवनभित्र र बाहिरका सबै झ्यालका सिसा फुटाइएको छ । वाइरिङ गरिएका विद्युत्का तार चोरी भइसकेका छन् । स्थानीय रमेश नेपालीका अनुसार भवन लागूऔषध सेवन गर्ने युवाको भेट्ने थलो बनेको छ ।

करोडौंमा निर्माण भएको सरकारी अतिथि गृह दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार सरकारी अधिकारीको लापरबाहीले भवन सदुपयोग हुन सकेको छैन । यसलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएरसमेत सरकारी आम्दानी बढाउन सकिने स्थानीय बरमबहादुर महतले बताए । उनका अनुसार भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।

साबिक जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेको भवनको जमिन भने समन्वय समितिकै हो । अहिले निर्माणको जिम्मा लिएको कार्यालय खारेज भइसकेकाले स्वामित्व हस्तान्तरणमा अन्योल भएको जिससका जनप्रतिनिधिको भनाइ छ ।

भवन निर्माण गरेको ठेकेदार कम्पनीले पटकपटक भवन बुझिदिन अनुरोध गरे पनि जिससका अधिकारीले मानेका छैनन् । जिसस उपप्रमुख कार्मा बुढाले समितिलाई भवन हस्तान्तरण नभएको बताए । ‘भवन लथालिंग भएकाले प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने, ‘यस विषयमा सरोकारवालासँग आवश्यक छलफल गरी निर्णय गरिनेछ ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्