कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट तारजाली बुन्न सल्यान

दिनभर दुःख गरी काम गरे पनि बिचौलियाकै कारण मजदुरहरू ठगिएको गुनासो
विप्लव महर्जन

सल्यान — नेपालको सीमा क्षेत्रनजिकै कोसी ब्यारेजबाट आएका ४० वर्षीय एकरम मलाखले शारदा नगरपालिका १, शान्तिनगर नजिकै तारजाली बुन्न थालेको वर्षौं बित्यो । उनी सडक र खोलामा बाँध निर्माणका लागि तारजाली बुन्ने गर्छन् ।

भारतबाट तारजाली बुन्न सल्यान

२२ वर्षदेखि तार जाली बुन्ने काममा लागेका उनी ३ महिनाका लागि सल्यान आउँछन् । उनीसँगै तारजाली बुन्ने काममा आजमान हुसेन पनि दैनिक व्यस्त रहन्छन् ।


उनीहरू मात्र होइन्, भारतका विभिन्न ठाउँबाट दुई दर्जन बढी व्यक्ति बर्सेनि तारजाली बुन्न जिल्लाका विभिन्न ठाउँमा आउने गरेका छन् । ३ जनाको समूह बनाई उनीहरूले दैनिक २ जाली बुन्ने गरेका छन् । आफूहरूको पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिँदै आएको उनीहरूले जनाए ।


तारजाली बुन्दा धेरै दुःख हुने गरेको उनीहरूकै समूहका अमरन अबदुलले बताए । उनका अनुसार विभिन्न पहाडी जिल्लामा गई तारजाली बुनेको रकमले उनीहरूको परिवारको खर्च चलिरहेको छ । उनले सिजनमा ३५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको जानकारी दिए ।


मलाखले एकै ठाउँमा बसेर वर्षभरि काम गर्न पाए घरपरिवारको खर्च कटाएर वर्षमा १ लाखजति बचत गर्न सकिने जनाए । उनका अनुसार तारजाली बुन्ने काम पहिलेभन्दा धेरै कम भएको छ । ठेकेदारले तारजाली बुन्न विभिन्न जिल्लामा लैजाने गरेको उनी बताउँछन् ।


‘धेरै रकम कमाउन नसके पनि परिवार खर्च धान्न सकेका छौं,’ उनले भने, ‘अन्य काम गर्न नजान्ने भएकाले यसैमा सन्तुष्ट छौं ।’ ठेकेदारले सम्पर्क गरी भारतबाट काम गर्न सल्यान ल्याएको उनले जानकारी दिए । उनले पनि तारजाली बुन्न थालेको २० वर्ष बढी भएको छ ।


अभिभावकले राम्रो शिक्षा दिन नसके पनि सीप सिकाएकाले बेरोजगार बस्नु नपरेको अमरन अबदुलको भनाइ छ । उनका अनुसार तारजाली बुन्ने कामबाट खासै फाइदा नभए पनि पुख्यौली पेसा जोगाउन सजिलो भइरहेको छ । उनले वर्षभरि विभिन्न जिल्ला र ठाउँमा जानुपर्ने भएकाले धेरै रकम बचत गर्न समस्या भएको जानकारी दिए । दिनभर धेरै दुःख गरी काम गरे पनि बिचौलियाकै कारण आफूहरू ठगिएको उनको गुनासो छ ।


आलम तारजाली उद्योगका प्रोपराइटर तारिक अनवरले पहिलाजस्तो काम आउन छाडेकाले उद्योग र मजदुर संकटमा परेको बताए । ठेकेदारले माग गरेपछि मात्रै तारजाली बुन्न विभिन्न ठाउँमा मजदुरलाई पठाउने गरेको उनले जानकारी दिए । उनका अनुसार अहिले अधिकांश विकासे कार्यालयले काम नदिँदा र बाहिरको तारजाली प्रयोग गर्दा समस्या भएको हो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?