कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक शिक्षकको भरमा विद्यालय

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिकास्थित कालिका प्रावि मुलाबारीमा पाँच कक्षाको पढाइ दुई कोठामा सञ्चालन हुने गरेको छ । विद्यालयमा शिक्षक शोभाजंग केसीमात्र कार्यरत छन् । उनले कक्षा १ देखि ३ सम्मलाई एउटा कोठा तथा कक्षा ४ र ५ का विद्यार्थीलाई अर्को कोठामा राखेर चार वर्षदेखि सामूहिक रूपमा पढाउँदै आएक छन् । 

एक शिक्षकको भरमा विद्यालय

शिक्षक अभावले लामो समयदेखि विद्यालयले पठनपाठनको समस्या भोग्दै आइरहेको छ । शिक्षक केसी प्रशासनिक कामकाजले बाहिर जाँदा पठनपाठन बन्द हुने गरेको छ । विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन भइरहेको छ । निजी तथा राहत दरबन्दीका कुनै पनि शिक्षक नभएपछि पठनपाठनमा समस्या भएको हो ।


विद्यालयमा ८३ विद्यार्थी भर्ना भए पनि पठनपाठन प्रभावकारी नहुँदा ४२ मात्र नियमित उपस्थित हुने गरेका छन् । एकमात्र दरबन्दी भएकाले उनले प्रधानाध्यापकको कामसमेत गर्दै आइरहेको बताए । केसी गाउँबाहिर गएको बेला बालबालिका दिनभरि विद्यालयको चौरमा खेलेर घर फर्कने गरेका छन् ।


विद्यालयमा कम्तीमा तीन जना शिक्षक आवश्यक भएको भन्दै पटकपटक विभिन्न निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता हुँदै आइरहेको प्रधानाध्यापक केसीको गुनासो छ । ‘कहिले एउटा कक्षा र कहिले अर्को कक्षा गर्दा एकछिन पनि फुर्सद पाइँदैन,’ उनले भने, ‘एउटा कक्षाका विद्यार्थीलाई लेख्न लगाएर अर्को कक्षामा पढाउन जाने गरेकी छु ।’ विद्यालयमा एक्लै कार्यरत भएकाले पठनपाठन प्रभावकारी नभएको उनले गुनासो गरे । स्थानीय तह गठनपछि पनि पटकपटक शिक्षकको माग गरे पनि बेवास्ता भएको उनी बताउँछन् ।


सामूहिक रूपमा पठनपाठन गराउँदा शिक्षण प्रभावकारी नभएको उनको दुःखेसो छ । साबिक जिल्ला शिक्षा कार्यालयले विद्यालयमा २०७० सालमा एक शिक्षिकालाई काजमा पठाएको थियो । एक वर्ष नबित्दै उनको काज फिर्ता भएपछि फेरि समस्या भएको विद्यालयले जनाएको छ । २०६१ सालमा स्थापना भएको विद्यालयमा २०७३ सम्म एक सय १८ जना विद्यार्थी अध्ययनरत थिए । शिक्षककै अभावका कारण अहिले ३० विद्यार्थी नजिकैको निजी विद्यालयमा गएका छन् ।


विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दुर्गीकुमारी रोकाले दरबन्दीका लागि विभिन्न निकायमा दर्जनौंपटक पुगे पनि बेवास्ता भएपछि पठनपाठनमा समस्या भएको बताइन् । विद्यालयको भरपर्दो आर्थिक स्रोत नहुँदा निजी स्रोतमा शिक्षक राख्न नसकिएको उनले गुनासो गरिन् । ‘अहिले गाउँपालिकामा शिक्षकको व्यवस्था गर्न माग गरिएको छ,’ उनले भनिन्, ‘आश्वासन त पाइएको छ,

तर शिक्षकको व्यवस्था कहिले हुने हो भन्नेबारे जनप्रतिनिधिले समेत स्पष्ट जवाफ दिंदैनन् ।’

प्रकाशित : चैत्र १६, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?