कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडी दुरुपयोग गर्नेलाई माफी

रुकुम पश्चिम — मेलामा सरकारी गाडीको दुरुपयोग गरेका सरकारी कार्यालयले माफी पाएका छन् । माघ १६ गते मुसिकोट नगरपालिका ७ साँखमा लागेको पापिनी मेलामा सरकारी सवारीसाधनसहित गएका कर्मचारीलाई जिल्ला प्रशासनले पहिलो पटक भन्दै कारबाही नगरी माफी दिएको हो । 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गाडी दुरुपयोगको विषयमा सबै कार्यालयले गल्ती स्वीकारसहितको पत्र लेखेर आगामी दिनमा नदोहोर्‍याउने जवाफ दिएकाले एक पटकलाई माफी दिएको बताए । ‘गाडी दुरुपयोगको विषयमा एक पटकलाई माफी दिइएको छ, आगामी दिनमा यस्तो गतिविधि भएमा कारबाही हुन्छ,’ प्रजिअ रेग्मीले भने, ‘सतर्कता केन्द्रलाई पनि यही व्यहोराको जवाफ पत्र पठाएका छौं ।’


मेलामा आधा दर्जन बढी सरकारी कार्यालयले गाडी तथा मोटरसाइकल दुरुपयोग गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रशासन कार्यालयले त्यसबारे सम्बन्धित कार्यालयसँग जवाफ माग गरेको थियो । मेलामा सरकारी गाडी प्रयोग गरिएपछि जिल्ला प्रशासनले अनुसन्धानसमेत गरेको थियो ।


प्रशासनको अनुसन्धानपछि मेलामा विभिन्न कार्यालयका सात सवारीसाधन दुरुपयोग भएको पाइएको थियो । मुसिकोट नगरपालिकाको एक गाडी र दुई मोटरसाइकल तथा सरकारी वकिल कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईका एक/एक गाडी मेलामा गएको पाइएको थियो ।


त्यस्तै, हुलाक कार्यालय र घरेलु कार्यालयका एक/एक मोटरसाइकल प्रयोग भएको थियो । प्रशासनको लिखित स्पष्टीकरणपछि सबै कार्यालयले उक्त विषयमा जवाफ पठाएका थिए । मेलामा सरकारी कार्यालयको सवारीसाधन दुरुपयोग भएको खबर बाहिरिएपछि राष्ट्रिय सतर्कता केन्द्रले समेत यस विषयमा जानकारी दिन जिल्ला प्रशासनलाई पत्र काटेको थियो ।

प्रकाशित : चैत्र १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?