कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सय परिवार किवीमा

विप्लव महर्जन

सल्यान — सल्यान र रोल्पाको सिमानास्थित गंगादेवी गाउँपालिका–३, बडाढुंगाका किसान किवी खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी हुने र खेती गर्न सजिलो हुने भएपछि कृषकको किवी खेतीमा आकर्षण बढेको हो ।

सय परिवार किवीमा

गाउँका एक सय एक परिवारले व्यावसायिक किवी खेती गरेका छन् ।


गाउँमा झन्डै आठ सय रोपनी जग्गामा करिब १६ हजार किवीका बिरुवा लगाइएका छन् । स्थानीय बजारमा प्रतिकिलो तीन सय रुपैयाँमा किवी बिक्री हुँदै आएको छ । गाउँका अधिकांश किसानले खाद्यबाली लगाउन छोडरे किवी खेती गरिरहेका हुन् । सुरुमा भारतको हिमाचल प्रदेशको सोलावानमा काम गर्ने क्रममा केही स्थानीयले १२ बोट बिरुवा ल्याएका थिए । गाउँमा किवी राम्ररी फस्टाएको किसानको भनाइ छ । अहिले सबैले खेतीपाती गर्ने जग्गामा किवी लगाएको स्थानीय इन्द्रबहादुर खत्रीले बताए ।


झन्डै चार सय रोपनी जग्गामा एक हजार बिरुवा लगाएकामध्ये ४० बोटमा फल्दा ६ क्विन्टल उत्पादन भएको उनको भनाइ छ । उनका अनुसार किवीबाट उनले यस वर्ष चार लाख रुपैयाँ कमाइ गरेको बताए । उनका अनुसार किवीबाट आम्दानी भएको रकमले १० जनाको परिवार पाल्न सजिलो भएको छ । उनले घरकै दुई जनालाई किवीले राम्रो रोजगारी दिइरहेको बताए । २०५१ देखि किवी खेतीमा लागेका उनी अन्य व्यवसाय छाडेर यसमै व्यस्त छन् । उनले किवी खेतीका क्रममा आफूले मात्र २२ लाख लगानी गरिसकेको जानकारी गराए ।


व्यावसायिक कृषि पेसामा लागेपछि पोल गाड्नका लागि गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई लाख रकम अनुदान दिएको थियो । उनले बारीमा दुई सय ५० फलामका पोल गाडेका छन् । उनले गत वर्षमात्र दुई हजार बेर्ना उत्पादन गरेर बिक्री गरेका थिए । उनले उत्पादन गरेका किवीका बेर्ना दाङ, काठमाडौं र रोल्पासम्म बिक्री हुने गरेका छन् ।


स्थानीय धनबहादुर खत्रीले किवीले यस वर्षबाट उत्पादन दिन थालेको बताए । ‘व्यावसायिक खेतीतर्फ उन्मुख भएपछि प्रत्येक वर्ष बिरुवा थप गर्दै आएको छु,’ उनले भने, ‘आम्दानी सुरु भएपछि खेतीमा लाग्ने हौसला मिलेको छ ।’ स्थानीय टीकाराम खत्रीले पनि १० रोपनी जग्गामा चार सय किवीका बिरुवा लगाएको बताए ।


झन्डै सात वर्ष अघिदेखि किवी खेतीमा लागेका उनले यस वर्षदेखि उत्पादन दिन थालेको जानकारी गराए । उनका अनुसार विगतमा भारतका विभिन्न ठाउँमा रोजगारी गर्न जान बाध्य हुने आफूलाई अहिले घरमै रोजगारी मिलेको छ । समुद्र सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको गाउँ भएकाले किवीमा राम्रो फल लाग्दै आएको कृषकको भनाइ छ ।


‘सल्यानको बाग्चौर नगरपालिकाको कोटमौलाका किसान सुन्तलामा आकर्षित भएजस्तै बराढुंगाका किसान किवीमा नै लागेका छन्,’ उनले भने, ‘किवीबाट प्रत्येक घरधुरीको न्यूनतम आम्दानी ५० हजार रुपैयाँ छ ।’ उनका अनुसार अहिले पुरै गाउँ

किवीमय बन्दै गएको छ ।

प्रकाशित : माघ १७, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?