मतदाता प्रभावित पार्न शिलान्यास र उद्घाटन- लुम्बिनी - कान्तिपुर समाचार

मतदाता प्रभावित पार्न शिलान्यास र उद्घाटन

बजेट र निर्माणको छैन टुंगो
स्थानीय सरकारद्वारा केन्द्रीय नेताको चुनावकेन्द्रित गतिविधिको विरोध
जे पाण्डे, वीरेन्द्र केसी

नेपालगन्ज, अर्घाखाँची — चुनाव नजिकिँदै गर्दा संघीय र प्रदेश सरकारका मन्त्रीहरू मतदाता प्रभावित गर्ने गरी विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने होडबाजीमा लागेका छन् । मन्त्रीहरूले पुल र सरकारी कार्यालयको शिलान्यास र उद्घाटनमा लागेका हुन् ।

हालै संघीय सहरी विकासमन्त्री मेटमणी चौधरी बाँकेको जानकी गाउँपालिका पुगेर सिकलसेल रोगको अनुसन्धान तथा उपचार केन्द्रको शिलान्यास गरे । गत भदौ २३ मा उनी ठूलै दलबलका साथ आएका थिए । शिलान्यास गरिए पनि केन्द्र निर्माणका लागि बजेट सुनिश्चित छैन । मन्त्री भने हतारमा शिलान्यास गरेर फर्किए । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद इस्तियाक राईले पनि भदौ २० मा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेपरी–चौफेरी, नौरीगौडी–कैरातीपुर्वा, राजारामपुर्वा–हल्कारापुर्वाका साथै अमराहवादेखि लडिहाघाट जोड्ने चारवटा पक्की पुलको एकै दिन शिलान्यास गरे । ती पुल कहिलेबाट निर्माण सुरु हुने हुन्, अझै टुंगो छैन ।

स्थानीय सरकारले टेपरीमा १ सय २० मिटर लामो पुल निर्माणको डीपीआरसमेत तयार पारेको थियो । ठेक्काका लागि टेन्डर गर्न बाँकी छ । प्रदेश र संघीय सरकारसँग बजेटका लागि पत्राचार गर्दै गरेका बेला स्थानीय तहसँग समन्वय नै नगरी मन्त्री राईले आफ्नो नामको शिलालेख राखेका छन् । उनले सबैतिर एउटै आकार र प्रकारका शिलालेख राख्ने क्रम तीव्र पारेका छन् । मन्त्रीहरूको गतिविधिको स्थानीय तहका जनप्रतिनिधिले भने विरोध गरेका छन् । ‘चुनावका बेला जनतालाई झुक्याउने र स्थानीय सरकारलाई असफल देखाउने उद्देश्यले शिलालेख राख्दै हिंडेका हुन्,’ डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले भने, ‘मन्त्रीको कार्यशैलीले अझै पनि सिंहदरबारले शासन चलाउन खोजेको प्रस्ट हुन्छ ।’

बाँकेको राप्ती नदी तटीय ग्रामीण क्षेत्रका मतदातालाई प्रभावित तुल्याउन धमाधम पुलको शिलान्यास गर्दै हिँडेको भन्दै स्थानीय सरकारले विरोध त गरेका छन् नै स्थानीयले समेत विकासका नाममा मतदाता झुक्याउने उद्देश्य देखिएको आरोप लगाएका छन् । ‘यो क्षेत्रबाट दुईपटक जितेर सांसद भए । १० वर्षसम्म एउटा पुल निर्माण गर्न आएनन्,’ स्थानीय मोहम्मद रफीले भने, ‘यो त सोझै जनता झुक्याउने काममात्र हो ।’

बाँकेको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीमा रहेका मन्त्री राईले भदौ ४ मा सानातिना नालासँगै राप्ती नदीमा समेत ७ सय मिटर लामो नयाँ पुलको शिलान्यास गर्न बाँकी छाडेनन् । हुलाकी राजमार्गमा पर्ने राप्ती नदीमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको पुल सञ्चालनमा छ । त्यसैको समानान्तर हुने गरी ७ सय मिटर लामो र साढे सात मिटर चौडा अर्को पुल शिलान्यास गरेका हुन् । पुलको ठेक्का आह्वान गरिएको छ । ‘असोज २ मा टेन्डर खोलिने भएको छ । ४ महिना मूल्यांकन तथा सम्झौता समय लाग्छ,’ हुलाकी राजमार्ग नेपालगन्जका सूचना अधिकृत रामसागर हरिजनले भने, ‘पुलसम्मको पहुँच सडक पनि निर्माण गरिने भनिएको छ ।’

हुलाकी राजमार्गले ठेकेदारले नै डिजाइन बनाएर निर्माण गर्ने राप्ती नदीको नयाँ पुलको निर्माण कार्य चुनावअघि हुन नसक्ने जनाएको छ । निर्माणसम्बन्धी सबै प्रक्रिया पूरा गर्न चार महिनाभन्दा बढी समय लाग्ने भएकाले निर्वाचनपछि मात्रै निर्माण चरण सुरु हुन सक्ने पुलको शिलान्यास अहिले हतारमा गर्नुलाई धेरैले मतदाता प्रभावित पार्ने नियत भनेका छन् । मन्त्री राईले भदौ ४ मा नै नेपालगन्जमा ५ वटा आकाशे पुलको शिलान्यास गर्न पनि चुकेनन् । आकाशे पुल कहाँ र कहिले निर्माण गरिने हो ? निश्चित छैन । तर, मन्त्री राईले भने शिलान्यास गरेका सबै भौतिक पूर्वाधार निर्माणमा शंका नगर्न आग्रह गरेका छन् ।

यसअघि भदौ १२ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा भौतिक पूर्वाधार, कर्मचारी र बजेटबिना नै उद्घाटन गरेका मालपोत र नापी कार्यालय अझै सञ्चालनमा आएका छैनन् । चुनावको संघारमा संघीय र प्रदेश सरकारका मन्त्रीमा देखिएको शिलान्यास मोहले केही जनप्रतिनिधिहरू रुष्ट देखिएका छन् । ‘अहिले चुनावको माहौल छ । निर्माण नै गर्ने मन भए पहिले नै गर्नुपर्ने हो,’ डुडुवा–१ की वडा सदस्य सुष्मा यादवले भनिन्, ‘मन्त्रीमा शिलालेख राखेकै भरमा चुनाव जित्न सकिन्छ भन्ने सोच देखिएको छ । अहिलेका जनता त्यति कुरा बुझ्न नसक्ने अवस्थामा छैनन् ।’

गाउँ घुम्दै भुसाल र रायमाझी

संघीय संसद्की उपसभामुख पुष्पा भुसाल गौतम र एमाले सचिव टोपबहादुर रायमाझी अहिले गाउँ घुम्न प्रतिस्पर्धा नै गरिरहेका छन् । रायमाझी सांसद पद गुमेपछि जिल्लामै केन्द्रित छन् । उपसभामुख भएपछि पहिलोपटक जिल्ला आएकी भुसाल सातादेखि भेटघाटमा व्यस्त छन् ।

आउँदो मंसिर ४ मा हुने चुनावका लागि रायमाझी एमालेबाट एकल सिफारिस भएका छन् । कांग्रेसबाट भुसालसहित ५ जना सिफारिस भएका छन् । २०६४ मा तत्कालीन निर्वाचन क्षेत्र २ बाट चुनाव जितेकी भुसाल यसअघि दुईपटक समानुपातिक सांसद बनेकी हुन् । रायमाझी र भुसालबीच संघसंस्था, क्लबका कार्यक्रममार्फत स्थानीयलाई आकर्षित गर्ने, आफूले गरेका र आगामी दिनका योजना सुनाउने होड चलेको छ । गाउँलेले सडक पिच, स्वरोजगार, सीपमूलक कार्यक्रम, खानेपानी, सिंचाइ, कुलो निर्माणलगायतका विकासका काम गर्न माग गरेका छन् । छत्रदेवमा स्थानीयले बाँदरले अन्नबाली सखाप पारिदिएको गुनासो पोखेका छन् । ‘यसपटक प्रत्यक्षमा चुनाव लड्ने इच्छा छ,’ भुसालले भनिन्, ‘गाउँमा पुग्दा धेरैले चुनावमा विजयको शुभकामना दिएका छन् ।’ गाउँमा सडक निर्माण, सिंचाइ कुलो, खानेपानी, पर्यटन पूर्वाधार निर्माणलगायतका योजनामा रायमाझीले भन्दा आफूले बजेट धेरै पारेको भुसालको दाबी छ ।

२०७४ को चुनावमा कांग्रेसका रामबहादुर बीसीलाई रायमाझीले १८ हजार ४ सय ४४ मतान्तरले पराजित गरेका थिए । रायमाझीले माओवादीबाट लगातार तीनपटक चुनाव जितेर उपप्रधानमन्त्रीसम्म भए । यसपालि एमालेबाट चौथोपटक प्रतिस्पर्धा गर्दै छन् ।

‘एमालेको लोकप्रियता, संगठित संगठन, एमाले सरकार नेतृत्वले गरेका राम्रा काम र स्थानीय तहको मत परिणामका आधारमा संघ र प्रदेशमा पनि भारी मतले चुनाव जित्छौं,’ एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले भने, ‘गठबन्धन भए पनि हाम्रो तीनै जना उम्मेदवार जनतामा भिजेका लोकप्रिय छन् । जित सहजै छ ।’

प्रकाशित : भाद्र २८, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

जिल्ला नेता केन्द्र धाउनमा व्यस्त

सिफारिसमा परेका स्थानीय नेताहरु टिकट पक्कापक्की गर्न काठमाडौंमा
डम्बरसिं राई

खोटाङ — भदौ तेस्रो सातासम्म जिल्ला नेताले भरिभराउ थियो । चोक, चिया पसल, हाटबजार जताततै राजनीतिक गफ खुब चल्थ्यो । तर अहिले भने जिल्लामा राजनीतिक गतिविधि सुनसान छ । 

नेता जति टिकटको जोहो मिलाउन काठमाडौं गएपछि जिल्लामा नेता नदेखिएका हुन् । क्षेत्रबाट टिकटका लागि सिफारिस भए पनि पार्टीका शीर्षस्थ नेताकै तजबिजमा अन्तिम निर्णय गरिने हुनाले केन्द्रमा धाउनुपर्ने बाध्यता रहेको जिल्ला नेता बताउँछन् ।

टिकटकै मेसो मिलाउन कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई आइतबार काठमाडौं लागेका छन् । प्रदेशसभाका लागि खोटाङ (ख) मा अग्रपंक्तिमा नाम रहेका उनी टिकटकै लबिइङका लागि संघीय राजधानी गएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीको भनाइ छ । प्रदेशसभा खोटाङ (ख) मा कांग्रेसले प्रत्यक्षबाट जिल्ला सभापति राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम अघि सारेको छ । प्रदेशसभा खोटाङ (क) मा प्रत्यक्षबाट सिफारिस भएका कांग्रेस पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठ पनि केन्द्रमै छन् । उनीलगायत प्रत्यक्षबाट दाबेदारहरू जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, धर्मराज पोखरेल, मनोज तिमिल्सेना, इवन राई र गोपाल सैंजूसमेत टिकटका लागि नेतालाई भेट्न गएको जोशीले बताए ।

प्रतिनिधिसभा उम्मेदवारका लागि सूचीकृत पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राई, सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, रामप्रसाद आचार्य, विष्णुराज राई, योगेन्द्र राई, शरणकुमार राई र डा. राजकुमार राईसमेत संघीय राजधानीमा छन् । समानुपातिकबाट दाबेदार सरस्वती बजिमय, शान्तिदेवी राई, दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीसमेत टिकटको चाँजोपाँजो मिलाउन संघीय राजधानीमा दौडधुप गरिरहेको जोशीले सुनाए । भदौ १६ देखि १८ सम्म भएको बैठकले टिकटका लागि नाम सिफारिस गर्नासाथ उनीहरू काठमाडौं गएका हुन् ।

नेकपा एमालेका नेताहरू पनि उतै छन् । प्रतिनिधिसभाका लागि सिफारिस भएका खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, देवान राईलगायत निर्णयकर्ता नेताहरूकामा धाइरहेको एमाले जिल्ला सचिव कुमार आचार्यको भनाइ छ । प्रतिनिधिसभाका आकांक्षी एमाले प्रमुख सचेतक तथा पोलिटब्युरो सदस्य विशाल भट्टराई र पाँचकर्ण राई भने जिल्लामै छन् । प्रदेश (क) को प्रत्यक्षमा नाम अघि बढाइएका एमाले जिल्ला उपाध्यक्ष देवविक्रम राई, प्रदेश (ख) मा सिफारिस भएका एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल केन्द्रमै टिकटका लागि अन्तिम कसरत गर्दै छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभाको उम्मेदवारका रूपमा अघि बढाइएका माओवादी अनुशासन आयोगका अध्यक्ष टंक राई, प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई, समिता कार्की पनि केन्द्र धाइरहेका छन् । मन्त्री राई विराटनगर फर्किसकेका छन् । नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभाका लागि एकल सिफारिस भएका प्रदेश १ सामाजिक विकासमन्त्री राजन राई पनि शनिबारदेखि काठमाडौंमा छन् । उनी पनि टिकट सुनिश्चित गर्न केन्द्रमा छन् । उनले भने, ‘यो बेला त नेतालाई भेट्नै पर्‍यो नि, होइन र ?’

प्रकाशित : भाद्र २८, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×