कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

पालिका प्रमुखमा महिला नेतृको दाबेदारी

‘सबै पार्टीमा महिलाले मुख्य पदमा काम गर्न सक्छन् भन्ने विश्वास गर्न नसक्नु नै समस्या’

बर्दिया‚ अर्घाखाँची — स्थानीय तह निर्वाचन नजिकिएसँगै गाउँ–सहरमा चहलपहल बढेको छ । दलले चुनाव केन्द्रित कार्यक्रम अघि सारेका छन् । चिया पसलदेखि सामान्य भेटघाटमा नयाँ नेतृत्वमा को पुग्ला भनेर अड्कलबाजी सुरु भएका छन् । अहिले पालिका, संघ र प्रदेशको नेतृत्व तहमा पुरुष दबदबा छ । पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा संविधानले महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । बर्दियाका आठै पालिका प्रमुखमा पुरुष छन् । 

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतमले उपप्रमुख पद महिलाका लागि सिर्जना गरिएको गुनासो पोखिन् । उपाध्यक्ष भए पनि पाँचवर्षे कार्यकालको अनुभव बटुलेका कारण नेतृत्व गर्न सक्ने आत्मविश्वास रहेको उनको भनाइ छ । गत स्थानीय तह निर्वाचनबाट गुलरिया नगरपालिका उपप्रमुखमा कांग्रेसकी सुशीला गिरी निर्वाचित भएकी थिइन् । आगामी निर्वाचनमा प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा लागेको उनले बताइन् । नेतृत्व लिन सक्षम भएकाले सधैं एउटै पदमा नबस्ने उनले बताइन् । पार्टीले टिकट दिए प्रमुख पदमा उम्मेदवारी दिने उनले बताइन् । ‘उपप्रमुख भएर काम गर्दा जनताले मूल्यांकन गरेका छन्,’ उनले भनिन्, ‘प्रमुखमा टिकट पाइनँ भने अब उपप्रमुखमा चुनाव लड्दिनँ ।’

बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले गत स्थानीय निर्वाचनमा माओवादी पार्टीबाट प्रमुखमा दाबेदारी गरे पनि टिकट पुरुषले पाएको बताइन् । यसपालि प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा जुटिसकेको उनले बताइन् । चुनावी कार्यक्रममा सक्रिय बन्दै आएकी दहित प्रमुख पदको टिकट पाउनेमा विश्वस्त पनि छन् । ‘अहिले पनि पार्टीले नेतृत्व नदिए कहिले पाउने ?,’ उनले भनिन्, ‘पार्टीसँग लडेर पनि नेतृत्व लिन पछि पर्दिनँ ।’ ठाकुरबाबा नगरपालिका उपप्रमुखमा माओवादीकी कृष्णीकुश्मा थारु चुनिएकी थिइन् । महिला भएका कारण पुरुष नेतृत्वको स्थानीय सरकारले सधैं दबाएर राख्ने गर्दा काम गर्न सहज नभएको उनले बताइन् । उनले यसपालिको निर्वाचनमा प्रमुख पदमा उठ्ने दाबी गरेकी छन् । काम गर्ने क्षमता भएको र जनताको मन जितेकाले निर्वाचनमा विजयी हुने उनको दाबी छ । ‘पार्टीले जनयुद्धका समय बलिदान दिएका परिवारको उच्च मूल्यांकन गरेको छ । त्यसैले पनि मैले टिकट पाउनु पर्छ,’ उनले भनिन् ।

अर्घाखाँचीको सन्धिखर्ककी शान्ता भण्डारी कांग्रेस भ्रातृ संस्था महिला संघ अध्यक्ष, जिल्ला उपसभापति हुँदै अहिले लुम्बिनी प्रदेश सदस्य छन् । स्थानीय चुनाव नजिएपछि उनलाई धेरैले उपप्रमुख बन्ने होइन भनेर सोध्न थालेका छन् । ‘म प्रमुख चलाउन सक्छु,’ उनले भनिन्, ‘उपप्रमुख महिलाको जिम्मा त होइन नि’ अहिले वर्तमान जनप्रतिनिधि र दलका नेता टिकटका लागि लबिइङमा छन् ।

जिल्लाका तीन नगरमा प्रमुख/उपप्रमुख पुरुष छन् । ‘मेरो उम्मेदवारी सन्धिखर्क नगर प्रमुखमा हुन्छ, पार्टीसँग उपप्रमुखमा होइन, प्रमुखमै अवसर दिन माग गरेकी छु,’ भण्डारीले भनिन्, ‘पार्टीले यसपालि अवश्य पनि महिलालाई मौका दिनेछ ।’ पुरुषले मात्रै होइन, महिलाले पनि प्रमुख पद राम्रोसँग चलाउन सक्ने उनले बताइन् । पार्टी काम र सामाजिक काममा पुरुषभन्दा बढी खटेर काम गरेको भण्डारीको भनाइ छ । पार्टीभित्र भण्डारीलाई बलियो उम्मेदवारका रूपमा लिइएको छ । एमाले जिल्ला उपाध्यक्ष ईश्वरा पोखरेल गत निर्वाचनमा सन्धिखर्क नगरपालिका उपप्रमुखमा पराजित भइन् । ‘पार्टीमा परामर्श र अवस्था हेरेर उम्मेदवार बन्ने हो,’ उनले भनिन्, ‘पार्टीले जिम्मा दिए भिड्न तयार छु ।’

अर्घाखाँचीका तीन गाउँपालिकामा महिला उपाध्यक्ष छन् । छत्रदेवकी उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले पार्टीले अघि सारेमा अध्यक्ष भएर काम गर्न सक्षम भएको बताइन् । ‘उपाध्यक्ष भएर ५ वर्ष काम गरें । अनुभव पनि भयो । अब अध्यक्ष हाँक्न सक्छु,’ उनले भनिन्, ‘कांग्रेस, एमालेसहित सबै पार्टीमा महिलाले मुख्य पदमा काम गर्न सक्छन् भन्ने विश्वास गर्न नसक्नु नै समस्या भएको छ ।’ सबै पार्टीमा महिलालाई हेर्ने नजर सही नभएको उनको तर्क छ । ‘पहिलो पदमा महिलालाई जिम्मेवारी दिएर हेर्नूस्,’ उनले भनिन्, ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउनेछन् । इमानदारीपूर्वक परिणाम निस्कने गरी काम गर्न सक्ने आँट, हिम्मत र साहस छ हामीमा ।’

पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले पाँचवर्षे अनुभवपछि अब अध्यक्ष हाँक्न केही गाह्रो नहुने बताइन् । ‘मुख्य पदमा महिला आए काम गर्न सक्दैनन् भन्ने मानसिकता पुरुषमा छ,’ उनले भनिन्, ‘महिला नेतृत्व स्वीकार्न पुरुषलाई बढो कठिन छ । अध्यक्ष हुने इच्छा भए पनि विश्वास गर्न र स्वीकार्न नसक्ने समस्याले मुख्य पद पाइँदैन ।’ अध्यक्ष पदमा स्वीकार्न नसक्ने समस्याका कारण पुनः उपाध्यक्षमा दोहोरिएर काम गर्ने इच्छा छ । ०७४ मा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । केही महिनाअघि कांग्रेसमा प्रवेश गरिन् । उपाध्यक्षको उम्मेदवार बन्ने पक्का गरेरै उनी कांग्रेस प्रवेश गरेको चर्चा छ ।

प्रकाशित : चैत्र ९, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?