कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप आएपछि अभियान सुरु

परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि

कपिलवस्तु/रुकुम पूर्व — कपिलवस्तुका सात पालिकामा पाँच दिनदेखि रोकिएको कोरोना संक्रमणविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि पुनः सुरु गरिएको छ । सिरिन्ज र खोप अभाव हुँदा अभियान रोकिएको थियो । 

खोप आएपछि अभियान सुरु

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट ७० हजार शून्य दशमलव ५ एमएमको सिरिन्ज र त्यति नै मात्रामा कोभिसिल्ड खोप आएपछि सर्वसाधारणलाई दोस्रो डोज खोप लगाउन सुरु गरिएको कोभिड फोकल पर्सन उमेश घिमिरेले बताए ।

कृष्णनगर, शिवराज र महाराजगन्ज नगरपालिका तथा विजयनगर गाउँपालिकामा खोप अभाव हुँदा एक दिनमै अभियान रोक्नुपरेको थियो । त्यहाँ माघ ६ गतेबाट कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको थियो । ३८ हजार ४ सयलाई खोप लगाउने लक्ष्य रहेकामा पहिलो दिन ८ हजारलाई खोप लगाउन नपाउँदै अभाव भएको हो ।

माघ ३ गतेबाट बुद्धभूमि र कपिलवस्तु नगरपालिका तथा यशोधरा गाउँपालिकामा सञ्चालित भेरोसेलको दोस्रो मात्रा लगाउने खोप कार्यक्रम पनि रोकिएको थियो । त्यहाँ सिरिन्ज अभाव हुँदा खोप लगाउन रोक्नुपरेको हो । पाँच दिनमा ४३ हजारलाई लगाइएकामा त्यहाँ ५७ हजारलाई खोप लगाउन बाँकी रहेकामा बुधबारबाट खोप लगाउन सुरु गरिएको छ ।

यहाँ ४८ प्रतिशतले मात्र दोस्रो मात्रा लगाएका छन् भने ७८ प्रतिशतले पहिलो डोज लगाएका छन् । यहाँ कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । यसै गरी १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि माघ १६ गतेबाट मोडर्ना खोपको दोस्रो मात्रा लगाइने भएको छ । यहाँका ७३ हजार ६ सय विद्यार्थीलाई पहिलो डोज खोप लगाइएको थियो । त्यति नै मात्रामा दोस्रो डोप जिल्ला आएको छ ।

परीक्षण नहुँदा जोखिम

मिल्दाजुल्दा लक्षण भएका बिरामी सबैतिर छन् तर परीक्षण छैन । परीक्षण नै नभएपछि संक्रमितको संख्या खास बढिरहेको छैन । रुकुम पूर्वमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको तेस्रो भेरिएन्ट अर्थात् ओमिक्रोन सबैतिर फैलिरहेका बेला जिल्लामा खास तयारी र व्यवस्थापन देखिएको छैन ।

स्थानीय सरकारले पनि परीक्षणलाई प्राथमिकतामा राखेका छैनन् । बिरामी स्वयंको इच्छाबाहेक संक्रमण भए/नभएको बारेमा परीक्षण हुँदैन । बिरामी व्यक्ति आफूलाई धेरै गाह्रो मानेपछि मात्रै जिल्ला अस्पताल आउने र संक्रमण भए/नभएको बारे परीक्षण गर्ने गरेका छन् ।

जिल्ला अस्पतालबाहेक जिल्लामा परीक्षण छैन । तीन पालिका कसैले पनि परीक्षण गरिरहेका छैनन् । सबै जिल्ला अस्पतालकै भर परेका छन् । परीक्षण नहुँदा सबैतिर यसको जोखिम बढिरहेको छ ।

सिस्ने गाउँपालिका–४ का दलबहादुर बुढाले सबै घरमा एउटै लक्षणका बिरामी भए पनि परीक्षण नभइरहेको बताए । ‘परीक्षण नगर्दासम्म रुघाखोकी नै होला भन्ने हुन्छ र वास्ता हुँदैन,’ उनले भने, ‘परीक्षण भएपछि आफैं र अरू सतर्क हुने अवस्था बन्छ ।’

पुथाउत्तरगंगा गाउँपालिका–११ का अविनाश बुढा मगरले गत वर्षजस्तो यस वर्ष स्थानीय सरकारले कोरोना परीक्षणमा चासो नदिएको बताए । सबैतिर उस्तै उस्तै अवस्थाका बिरामी बढेका बेला पनि परीक्षण नहुनु यसप्रतिको लापरबाही भएको उनको भनाइ छ ।

सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बुढाले जिल्ला अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको बताए । यहाँ परीक्षण गरेकामध्ये ४० प्रतिशत धेरैमा संक्रमण पुष्टि हुने गरेको उनको भनाइ छ । धेरै बिरामी भएको अवस्थामा गाउँपालिकाले परीक्षणको व्यवस्था गर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले परीक्षणको दायरा बढाएको बताए । परीक्षणसँगै खोपलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए । जिल्लामा २९ जना सक्रिय संक्रमित छन् ।

मतदाता नामावली संकलन स्थगित

पाल्पामा कोरोना संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले फोटोसहितको मतदाता नामावली संकलन कार्य तत्कालका लागि रोकेको छ । तानसेनस्थित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय रामपुर र जिल्ला निर्वाचन कार्यालय तानसेनबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य हुँदै आएको थियो ।

नामावली संकलन गर्दा सेवाग्राहीले मास्क खोली फोटो खिच्नुपर्ने, औंठा छाप लगाउनुपर्ने जस्ता कार्यमा एउटै किड्स प्रयोग हुने भएकाले कोरोना संक्रमण बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि मतदाता नामावली संकलन कार्य स्थगन गरिएको हो ।

कर्मचारीहरूमा समेत कोरोना संक्रमण त्रास र एउटै किड्सबाट धेरैमा संक्रमण सर्ने सम्भावना देखिएपछि स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

पाल्पामा सक्रिय संक्रमितको संख्या बढ्ने क्रममा रहेको हुँदा शान्ति, सुरक्षा, मुद्दा, विपद् तथा संकट व्यवस्थापनसम्बन्धी सेवा तथा नागरिकता वितरणको कार्यबाहेकका सबै सेवासमेत स्थगन गरिएको उनले बताए । पाल्पामा कोरोनाका सक्रिय संक्रमित ५ सय ४४ जना पुगेका छन् ।

प्रकाशित : माघ १३, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?