कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित

 कोरोना संक्रमित स्वास्थ्यकर्मी बढ्दै गए अस्पताललाई ‘गाह्रो’

लुम्बिनी/पाल्पा — रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मंगलबार बिहान कोरोनाविरुद्ध बुस्टर डोज लगाइने जानकारी गराइएको थियो । सार्वजनिक सूचनाअनुसार पहिलो पंक्तिमा कार्यरत व्यक्ति खोप लगाउन पुगेका थिए । बिहान १० बजेसम्म खोप केन्द्र सुनसान थियो । स्वास्थ्य कार्यालयबाट खोप आएपछि सर्वसाधारणले कति बेला खोप लगाउने हो भनेर सोधखोज गर्न थाले ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित

अस्पतालको आपत्कालीन कक्षमा कार्यरत एक स्वास्थ्यकर्मी आइन् । ‘अस्पतालका धेरै कर्मचारी संक्रमित भइसके, जँचाए हामीलाई पनि कोभिड देखिन सक्छ,’ त्यहाँ उपस्थित सञ्चारकर्मीसमक्ष उनले भनिन्, ‘काम गर्ने कोही हुन्न कि भनेर जँचाएकी छैन ।’ स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि जनशक्ति अभाव भएको उनले बताइन् । उनका अनुसार तीन दिनअघि सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप खुला गरिएको थियो । त्यसबेला तीन दिन अचाक्ली भीड भयो । उक्त भीडमा काम गरेका स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको हो । एक सातायता जिल्लामा चिसो अत्यधिक बढेको छ । अर्कोतर्फ कोरोना संक्रमण तीव्र छ । जसले गर्दा अस्पतालमा जँचाउन आउनेको घुइँचो हुने गरेको छ । यस्तो बेला स्वास्थ्यकर्मी अभाव भएपछि समस्या भएको छ ।

रूपन्देहीलगायत जिल्लाका अस्पताल र सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि जनशक्ति अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि स्वास्थ्य सेवा प्रदान गर्न केही दिन अप्ठ्यारो पर्ने अस्पताल प्रशासनले जनाएका छन् । लुम्बिनी प्रदेशमा कोरोनाकै लागि छुट्याइएका लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्यमा जटिलता नरहेको ती अस्पतालले जनाएका छन् । भीम अस्पतालमा मंगलबारसम्म ५ जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । उनीहरू आइसोलेसनमा बसेका छन् । अस्पतालको सेवा हालसम्म चलिरहे पनि बिरामीको संख्या वृद्धिसँगै जनशक्ति पुर्‍याउन हम्मे पर्ने कोरोना फोकल पर्सन डा. सिद्धार्थ पाण्डेले बताए । कोरोना संक्रमित स्वास्थ्यकर्मी बढ्दै गए अस्पताललाई गाह्रो हुने उनले बताए ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका कर्मचारी पनि संक्रमणको चपेटामा परेको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । उनका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामा अप्ठ्यारो नभएको र सरकारले आइसोलेटेड हुने गाइडलाइन पनि घटाएकाले पहिलाजस्तो जोखिम नहुने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको वार्ड, कोरोना क्याबिन गरी ११ जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

संक्रमित घरमा आराम गर्ने भएकाले अस्पतालका काममा व्यवस्थापन गरी मिलाउनुपर्ने स्थिति रहेको उनले बताए । संघीय सरकारले हालै जारी गरेको परिपत्रअनुसार बजेट विनियोजन गरी स्थानीय पालिका र सम्बन्धित निकायमा प्रदान गरिने गरी बजेट कुरिरहेको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत उक्त व्यवस्था प्रदान गरी कोभिड न्यूनीकरणमा स्थानीय पालिकालाई जागरुक बनाउने जनाए । ‘आइसोलेसन संस्था, सामग्री र अन्य स्रोत साधनका निम्ति केन्द्रदेखि नै रकम शोधभर्ना हुने भएपछि सजिलो होला,’ उनले भने, ‘त्यसबाहेक विपद्का लागि पालिकाले छुट्याएको बजेटलाई समेत यतिबेला प्रयोग गर्न सकिन्छ ।’ जनशक्ति, स्वास्थ्य सामग्रीको हकमा मन्त्रालयमा माग भएअनुसार सहयोग गरिने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ९५ रहेको छ । जसमध्ये ६८ जना उपचाररत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत २४ घण्टामा प्रदेशमा गरिएको पीसीआर जाँचमा २ सय ७७ जना र एन्टिजेन परीक्षणबाट ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

लक्षण देखिए पनि काम
ठूला खुला नाका रहेको लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमण तीव्र छ । प्रदेशका मुख्य तीन नाकामा हेल्थ डेस्क स्थापना भएका छन् । तिनमा एन्टिजेन परीक्षण चुस्त छैन । डेस्कमा खटिएका ल्याबका कर्मचारी संक्रमित भएकाले धेरै जनशक्ति चाहिने अवस्थामा नथप्दा परीक्षण फितलो बनेको हो । ल्याबमा खटिने कर्मचारीमा लक्षण भए पनि आफूहरूको अनुपस्थितिमा नाका रित्तो हुने भएपछि उनीहरूले जाँच नगरेर काम गरिरहेका छन् । कोभिड–१९ को नयाँ भेरिएन्टका कारण संक्रमित संख्या बढ्ने थाहा हुँदाहुँदै र घरघरमा लक्षण भएका बिरामी भेटिँदासमेत स्थानीय तह र स्वास्थ्यसँग सम्बन्धित निकायले चेकजाँचको दायरा बढाउन सकेका छैनन् । सरकारले विगत दुई वर्षसम्म कोरोनाकै संक्रमण न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीका कहमा प्रोत्साहनका कुनै कार्यक्रम नगरिदिँदासमेत आफूहरूको मनोबल घटेको स्वास्थ्यकर्मीको गुनासो छ ।

रूपन्देहीको कञ्चन गाउँपालिकामा हाल देखिएका संक्रमित चार जना छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्यांकका आधारमा पालिकाले यति संक्रमित संख्या रहेको जानकारी पाएको बताएको छ । ती संक्रमित होम आइसोलेसनमै बसेको भए पनि उनीहरूको खोजी गरी सम्पर्कमा आएकाको ट्रेसिङ गर्ने काम भने सुरु भइनसकेको स्वास्थ्य संयोजक रामप्रसाद गौतमले बताए । उनका अनुसार चार जना न्यून संख्या हो, त्यसैले १/२ दिनमै पालिकाले ट्रेसिङ गरी परीक्षण गर्ने काम गर्दै छ । ‘स्वास्थ्य कार्यालयबाट आएका मेल प्रिन्ट गर्दै पोजिटिभसम्म पुग्दै छौं,’ उनले भने, ‘संक्रमितको सम्पर्कमा रहेकाको एन्टिजेन परीक्षण गर्नेछौं ।’

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना संक्रमितको ताजा संख्या २३ रहेको छ । तर, ती २३ का परिवारलाई कोरोना परीक्षणका लागि बोलाउनेबाहेक अन्यको ट्रेसिङ र जाँच नगरिएको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए । ‘अहिले पोजिटिभ देखिएकाको परिवारलाई परीक्षणका लागि बोलाइने गरिएको छ,’ उनले भने, ‘पालिकामा परीक्षण र अन्यलाई ट्रेसिङ भएको छैन ।’ उनले स्वास्थ्यकर्मीले विगत दुई वर्षमा कोरोना न्यूनीकरणमा खेलेको भूमिकाको बेवास्ता गरिएपछि मनोबल घटेकाले पनि गाउँगाउँमा खोज्दै हिँडेर गरिने ट्रेस र जाँच गर्न नसकेको बताए । राज्यले प्रोत्साहन शून्य गर्ने र काम गर भनी निर्देशन दिनुले मात्र पालिकाको आर्थिक स्थितिले सबै काम गर्न नभ्याउने उनको तर्क छ । बिहानैदेखि खटिएर कोरोनाको जोखिम मोल्ने स्वास्थ्यकर्मी चपेटामा परेकाले आवश्यकताका आधारमा पालिकाकै स्वास्थ्य चौकीमा बोलाएर जाँच्नेबाहेक अन्य दुःख बिसाउन नसकिने उनको भनाइ छ ।

संक्रमित सोझै घरमा
तीन दिनयता परीक्षण गर्दा भारतलगायत तेस्रो मुलुक र मुलुककै विभिन्न स्थानबाट पाल्पा भित्रिनेमा कोरोना संक्रमण देखिएको छ । तर, यसमा स्थानीय तह, स्वास्थ्य कार्यालय कसैबाट पनि निगरानी गरेको पाइएको छैन । कोरोना गाउँमा फैलिए पनि परीक्षणमा बेवास्ता छ । नाकाबाट भित्रिएका र मुलुककै विभिन्न स्थानबाट जिल्ला भित्रिनेहरू पनि सोझै गाउँमा पुगेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय भने बालबालिकालगायत अन्य उमेर समूहको दोस्रो मात्राको खोप व्यवस्थापनमा अलमलिएको छ । यही समयमा बुस्टर डोज पनि आएकाले थप भार परेको जनाएको छ ।

स्वास्थ्य कार्यालयले कोरोना निगरानीभन्दा पनि अन्य कार्यक्रम सक्नका लागि दैनिकजसो होटलमा गोष्ठी, सेमिनार र भेलामा व्यस्त बनेको छ । ‘हामी तानसेनकै एक होटलमा कोरोना तयारीको छलफलमा छौं,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले भने, ‘एक–दुई दिनमा जिल्लाको तयारीको अवस्थाबारे जानकारी दिन सक्छौं ।’ पोखरेलले भनेको भन्दा कार्यक्रम फरक थियो । त्यहाँ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँग क्षयरोगसम्बन्धी छलफल थियो । स्थानीय तहले पहिलो लहरमा राम्रो काम गरेका हुन् । दोस्रो लहरमा काम गर्न नसक्दा धेरैले ज्यान गुमाउनुपरेको थियो । तेस्रो लहर फैलिँदा पनि उनीहरूको तयारी फितलो छ । स्थानीय तहका जनप्रतिनिधि अन्तिम वर्ष भएकाले काम गर्न नपाएको गुनासो गर्दै हिँडेका छन् । ‘विकास निर्माणको काम गर्ने समयमा कोरोना फैलिएर हैरान भयो,’ तानसेनमा भेटिएका स्थानीय तहका एक जनप्रतिनिधिले भने, ‘कोरोनाका लागि तयारी गर्ने कामबाहेक अरू केही नहुने भयो ।’

जिल्लामा राम्दी, रिडी, दोभान, केलादीलगायत स्थानबाट बाहिर जिल्लाबाट मानिस भित्रिन्छन् । तर, सम्बन्धित स्थानीय तहले हेल्थ डेस्क राख्ने कुनै तयारी गरेका छैनन् । कतिपय स्थानीय तहमा भारतबाट फर्केकाहरूको परीक्षण गर्दा शतप्रतिशतमै कोरोना पोजिटिभ देखिएको छ । काठमाडौंलगायत मुलुकका विभिन्न स्थानबाट फर्केकाहरूको पनि परीक्षणमा पोजिटिभ देखिने क्रम बढेको स्वास्थ्य कार्यालयकै तथ्यांकमा छ । तर, हेलचेक्र्याइँ भने बढेको छ । प्रहरीले मास्क वितरण गरेको छ । कतिपय स्थानीय तहले कार्यक्रम गर्न छाडेका छैनन् । धेरै मानिस भेला हुने र कार्यक्रम गर्ने गरेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी पोखरेलका अनुसार नाका विदेशसँग नजोडिएकाले पनि जिल्लाभित्रका नाकामा भने हेल्थ डेस्क नराखिएको हो । ‘हामीले अब के गर्ने भन्ने स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरिरहेका छौं ।’

प्रकाशित : माघ ५, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?