कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरोना संक्रमणविरुद्ध छैन सतर्कता

दाङ/अर्घाखाँची — दिनदिनै कोरोना संक्रमितको संख्या थपिँदै गए पनि यसविरुद्धको सतर्कता भने बढ्न सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समिति दाङको बैठकले माघीका अवसरमा मेला–महोत्सव लगाउन रोक लगाए पनि बाह्रकुने र रिहारमा मेला लागेरै छोड्यो । बजारमा भीडभाड भइरहेको छ । स्कुल र कलेजबाहेक अरू सबै क्षेत्र खुलेका छन् ।

कोरोना संक्रमणविरुद्ध छैन सतर्कता

नेपाल–भारत नाकाबाट खुलेआम आवतजावत चलिरहेको छ । हालसम्म ३१ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । जिल्लामा हालसम्म ६२ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप र ८८ प्रतिशतले पहिलो डोज लगाएको उनले बताए । जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित तुलसीपुर उपमहानगरपालिकामा देखिएका छन् । अन्य पालिकामा परीक्षण नै कम भएका कारण संक्रमितहरू पनि कमै देखिएका हुन् ।

तुलसीपुरले दैनिक आफ्नै सक्रियतामा कोरोना परीक्षण गरिरहेको छ । यसले आफ्नै पहलमा मेट्रो अस्पताल स्थापना गरी कोरोना संक्रमितको उपचार गरिरहेको छ । तुलसीपुरमा हाल २ सय २९ जना सक्रिय संक्रमित रहेको कोरोना फोकल पर्सन विमल केसीले बताए । दैनिक परीक्षण भएकामध्ये ५० प्रतिशत बढीमा संक्रमण देखिइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले पुस २९ मा सार्वजनिक सूचना जारी गरी २५ जनाभन्दा बढी सहभागी हुने कुनै पनि मेला, महोत्सव, भेला नगर्न अनुरोध गरेको छ । यसैगरी होटल तथा रेस्टुराँहरू बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने सूचना जारी भएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । ‘सार्वजनिक यातायात, सार्वजनिक सेवा प्रवाहजस्ता ठाउँमा स्वास्थ्य मापदण्ड अपनाएर मात्र काम गर्न आदेश गरेका छौं,’ उनले भने, ‘यसको अनुगमन पनि गरिरहेका छौं । कसैले उल्लंघन गरेको पाइएमा कारबाही हुन्छ ।’

नेपाल–भारत आवतजावतमा कुनै कडाइ गरिएको छैन । सहज रूपमा मानिसहरू भारतबाट नेपाल प्रवेश गरिरहेका छन् । पालिका तहमा पनि कुनै सावधानी अपनाइएको छैन । कसैले पनि बाहिरबाट आएकालाई आइसोलेसनमा बस्ने र कोरोना परीक्षण गर्ने कुरामा ध्यान दिन सकेका छैनन् । संक्रमणको दर धेरै नबढेकाले नाकामा कडाइ नभएको नाका क्षेत्रको स्थानीय तह गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । ‘भारतबाट मानिसहरू आइरहे पनि स्वास्थ्यमा खासै समस्या देखिएको छैन,’ उनले भने, ‘समस्या बढ्न थालेपछि नाकामा कडाइ गर्छौं ।’

रुघाखोकी र घाँटी दुख्ने धेरै
अर्घाखाँचीमा यतिबेला खोकी, घाँटी दुख्ने र नाकबाट सिँगान बग्ने बिरामी बढ्दै छन् । परीक्षण गर्दा कोरोना संक्रमण देखिन्छ भनेर अधिकांशले गराउन नै मान्दैनन् । स्वास्थ्य चौकी र निजी क्लिनिकबाट औषधि खाएर निको हुन्छन् । नगर प्रमुख कमलप्रसाद भुसालसहित १५ जना कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि सन्धिखर्क नगरपालिकाको अत्यावश्यकबाहेक अरू सेवा एक साताका लागि बन्द गरिएको छ । एक्कासि रुघाखोकी लाग्ने, घाँटी दुख्ने गरेपछि नगरपालिकाले सबैको एकैपटक परीक्षण गराएको थियो । तर, सर्वसाधारण भने यसरी परीक्षण गर्दैनन् ।

सन्धिखर्ककी विष्णु विकलाई चार दिनदेखि घाँटी खसखस हुने, सुक्खा खोकी लाग्ने र नाकबाट सिँगान बग्ने गरेको छ । ‘कोरोना संक्रमण फैलियो भनेपछि अस्पताल जान डर लाग्छ,’ उनले भनिन्, ‘सिकिस्तै बिरामी परेर बेडमा ढलेकी छैन, क्लिनिकबाट औषधि खाइरहेकी छु । बिस्तारै समस्या कम हुँदैछ ।’ पाणिनि गाउँपालिका मैदानका टोपलाल गैरे एक साताको आराम गरेर निको भए । सामान्य ज्वरो, रुघाखोकीको समस्या देखा परेको थियो । औषधि र घरमा जडीबुटी, सुप खाएर निको भएको उनले सुनाए । ‘शरीर त निकै कमजोर बनायो,’ उनले भने, ‘बिस्तरामै त ढलाएन । कोभिडका सबै लक्षण देखा परे, अहिले पूरा ठीक भयो ।’

प्रकाशित : माघ ५, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?